टङ्कराज ढकाल ‘तितेपाती’अझै झिङ्गे दाऊ
कुहिएको मदिरामा खाटो बस्ने हैन पिंडालु यी चौरासीका फित्कौलीले हान खुराफाती हत्याराले पिण्ड छाड्ने छैन भष्मासुर कुम्भकर्ण निद्रा होला चैन ।

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता हाे याे । छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)
खस्रे कालो भ्यागुताको पलाएछ सिङ
सय झड्का दिँदा पनि नमच्चिने पिङ
सड्न लाग्यो हेत्तेरिका भकारीको भाङ
पत्रैपत्र कुहिएको गणतन्त्रे हिङ ।१
चिहानले सोध्दैछ रे लोकतन्त्र के हो
चिहान यो जान्दैछ रे भाँडतन्त्र यै हो
बिहानको झुल्के घाम पर्दैन कि के हो
अन्धकार फस्टाएको पाखाबारी अहो ।२
गद्दार नै धनी हुने लुटतन्त्र आयो
शैतानको गुलामीले वर्षौं चुस्दै खायो
परायाले पठाएको आततायी आयो
नेपाली हो मुहारले मुर्दातन्त्र छायो ।३
मिचाहाको गिध्देदृष्टि सधैं नाच्यौं हामी
सङ्घीयता घाँडो भिर्दै स्वाभिमानी हामी
पिलो घाँडो प्रदेशको चलायौं सुनामी
धुन्धुलीको छोरो भयौ विदेशी मलामी ।४
शहीदले भ्रष्टाचार मौलाएको हेर
अत्याचार संस्थागत रजगज ढेर
हत्याहिंसा शृङ्खलाले रगत पोखेर
हन्तकाली लुटेराको चर्तिकला धेर ।५
साँढे गोरु ब्यायो भन्छन् झोले टोले चुन्दा
बाच्छा मिच्दै साँढे हिंड्छ ठगीखाने धन्दा
दुशासन कंस लिङ्गी पिशाचको फन्दा
जुम्रो बाजा बजाउदै लुटिखाने चन्दा ।६
ठेक्कापट्टा मेरै नाम सबै नदी नाला
गुईंठे छ मन्त्री उता खुलिहाल्छ ताला
सुईखुट्टेको सल्लाहले हुतिहारा गाला
झ्वाँई खट्टे बाँडिनेछ गिध्दले झैं खाला ।७
ऐरेगैह्रे आसेपासे सरकारी धने
सालासाली ज्वाँईचेला आशीर्वाद मने
माकुराको माऊ खाने जालो कस्ले बुने
निमुखाको चिसो चुल्हो कुनापसी रुने ।८
सत्ताधारी हनुमान धमिराको गोलो
मार्सी खाने मलामी छन् भिरेकाछन् टालो
राजखानी लजाएछ दातव्यको डालो
धुन्धुकारी घुम्दै आयो तान्न सारी चोलो ।९
छिमेकीको लुतो लाग्यो खटिरो छ घाऊ
सैनी पल्टयो निको हुन्न चिर्नथालौं आऊ
ट्याङ्कीभित्र पानी हैन पैसा छ देखाऊ
आन्द्राभूँडी लुट्यौ खायौ अझै झिङ्गे दाऊ ।१०
कुहिएको मदिरामा खाटो बस्ने हैन
पिंडालु यी चौरासीका फित्कौलीले हान
खुराफाती हत्याराले पिण्ड छाड्ने छैन
भष्मासुर कुम्भकर्ण निद्रा होला चैन ।११
०००
गैंडाकोट- १
फोन- ९८६१८७१४०४
Subscribe
Login
0 Comments
Oldest







































