
हैन साली पनि
फेसबुकिया खेती छोडौं, मान्दैन यो मनले बनाइदियो मान्छेभित्र, दिमाग खाली पनि ।

चिरञ्जीवी दाहाल
गोरु छैनन् कुुलो कान्ला, छैन आली पनि
खेतालाले खाजा खाने, छैन थाली पनि
सबैलाई झारपात ठान्दै, गोडमेल गर्छु भन्छ
वर्षभरि खेती गर्यो, छैन बाली पनि
फकाउँछन् थर्काउँछन्, कयौँ घुक्र्याउँछन्
एउटी प्वाक्क भेना भन्छे, हैन साली पनि
चिन्नु जान्नु छँदैछैन, के छ हजूर भन्छे
गोरो फोटो देखाउँछे, अर्की काली पनि
साना ठूला धनी गरिब, खेताला हुन् सबै
फाट्टफुट्ट बनिदिन्छन्, फटाहा र जाली पनि
फेरि अर्को जुँगामुठे, बातमारौँ कि भन्छ
हुन्न भने चित्त दुखाइ, दिन्छ गाली पनि
फेसबुकिया खेती छोडौं, मान्दैन यो मनले
बनाइदियो मान्छेभित्र, दिमाग खाली पनि ।
०००
चितवन