सुलसुलेवरिष्ठ साहित्यकार प्रा.तुलसी दिवसको सम्मानमा साहित्यिक साँझ
कार्यक्रमको दोस्रो चरणमा नर्थ क्यारोलाइना निवासी साहित्यकारहरू नीलम कार्की निहारिका, डा ऋषि बस्ताकोटी, लोककवि सुरेशकुमार भट्ट, प्रभा पोख्रेल, डा. शरद पराशर, दिजा पाण्डे, गुन्जना न्यौपाने, सुबोध पौडेल लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

नर्थ क्यारोलाइना, मे १४, २०२३ । अमेरिका भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार तथा संस्कृतिविद प्रा तुलसी दिवसको सम्मानमा नर्थ क्यरोलाइनाको केरी स्थित हिमालयन ग्रिल रेस्टुरेन्टमा एक साहित्यिक साँझको आयोजना गरियो ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यरोलाइना च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रा.अच्युत शर्माले साहित्यकार तुलसी दिवसको परिचय दिँदै उहाँ नेपाली साहित्य र संस्कृतिको उत्थानमा योगदानको आधारमा एक व्यक्ति अनेक व्यक्तित्वको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रमका मुख्य आकर्षण प्रा तुलसी दिवसले नेपाली साहित्यको वर्तमान स्थिति, नेपाली साहित्य र संस्कृतिको संरक्षण, विकास र अन्तर्राष्ट्रियकारण गर्न आफूले खेलेको भूमिका, प्रवासमा बस्ने नेपालीको यसमा हुन सक्ने योगदान आदि विषयमा विचार उत्तेजक र प्रेरक मन्तव्य राख्नुभएको थियो । उहाँले आफ्ना केही कालजयी कविताहरू पनि सुनाउनुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा नर्थ क्यारोलाइना निवासी साहित्यकारहरू नीलम कार्की निहारिका, डा ऋषि बस्ताकोटी, लोककवि सुरेशकुमार भट्ट, प्रभा पोख्रेल, डा. शरद पराशर, दिजा पाण्डे, गुन्जना न्यौपाने, सुबोध पौडेल लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
उक्त अवसरमा नव उपन्यासकार नितिन मिश्रको उपन्यास ‘म र म’ को गृह लोकार्पण पनि गरियो । डा. ऋषि बस्ताकोटीले श्रष्टाको परिचय दिनुभएको थियो भने वरिष्ट साहित्यकार प्रा. तुलसी दिवस, नीलम कार्की निहारिका र नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिशिर खनालले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
विमोचनपछि वरिष्ठ साहित्यकार प्रा.तुलसी दिवसले नवसर्जक मिश्रलाई बधाई दिँदै साहित्यिक लेखनमा निरन्तरताको शुभकामना दिनुभएको थियो ।
करिव साढे दुइ घण्टा रोचक प्रस्तुतिका साथ् चलेको कार्यक्रमको उद्घोषण साहित्यकार नम्रता गुरागाईंले गर्नुभएको थियो भने अध्यक्षता नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिशिर खनालले गर्नुभएको थियो ।
निर्मला राजभण्डारीले अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमका अतिथि नायक प्रा तुलसी दिवसलाई आयोजकका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा नर्थ क्यारोलाइनाका स्थानीय साहित्यकार, साहित्यानुरागी र संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































