
भुँडी
दुनियाँमा सबैभन्दा ठूलो पद र पैसा हो दुवै नहुनेले क्यै गर्न सक्दैन चिन्ता त हिजो पनि भुँडीकै लागेको थ्यो आज पनि भुँडीकै लागिरहेछ फरक यति हो हिजो खाली भुँडीको आज भरी भुँडीको ।

खगेन्द्र नेउपाने :
म पैले
अरुको भुँडीको आरिस गरेर राजनीतिमा लागेको
आज आफ्नै भुँडी देख्दा रिस उठ्न थाल्यो
म पैले सामन्तको भकारी फोर्न राजनीतिमा लागेको
आज आफ्नै महल देख्दा मुटु फुट्न थाल्यो ।
म पैले सामन्तका कथाहरू पढ्थें
रुस चीन कतै अन्तका कथाहरू पढ्थें
अस्ति अस्ति सामन्तीको मात्र ठूलो भुँडी देख्थें
कथाहरूमा भुँडे साहु भनेर लेख्थें
आज आफ्नै भुँडी ठूलो भएछ
भुँडी हुनु त चिन्ताको कुरा पो रहेछ
जब जब म
थैले खत्रीको रानी खेत
ख्याउटे कार्कीले हडपेको
लुखुरेको लाहुरी भैंसी
द्वारे बा ले जालसाँझमा आफ्नु पारेको
कथाहरू पढ्थें
मेरा रौं रौंहरू तातिएर धूवाँ छोड्थे
मेरा आँखा रातिएर बिद्रोह बोल्थे
तर म
आज करोडौंको मोटरमा चढ्दा
ती सामन्तहरू प्रति कुनै बैरभाव छैन
दुनियाँमा सबैभन्दा ठूलो पद र पैसा हो
दुवै नहुनेले क्यै गर्न सक्दैन
चिन्ता त हिजो पनि भुँडीकै लागेको थ्यो
आज पनि भुँडीकै लागिरहेछ
फरक यति हो
हिजो खाली भुँडीको
आज भरी भुँडीको ।
०००
गौरादह, झापा