सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान् झोले संस्कृति

निकट भविष्यमै यौटा नयाँ दर्शनको जन्मदाताको रूपमा नेपाल स्थापित हुनेछ । त्यो बेला म पनि आफ्ना जुँगा मुसार्दै मैदानमा ओर्लिएर नारा भट्याउने छु “महान् झोले संस्कृति अमर रहोस् । झोलातन्त्र जिन्दावाद ।”

Nepal Telecom ad

नरनाथ लुइँटेल :

झोल पदार्थ वा झोलिलो कुरा हालेर बोक्ने भाँडो विशेषलाई झोले भन्नु पर्ने हो । तर झोल थुनेर दियो बाल्ने भाँडोलाई लाल्टिन, झोला र मुख खोलेर झोल थाप्ने भाँडोलाई बाल्टिन भनेर अन्याय गरे जस्तै हाम्रो जिब्रोले झोलालाई पनि अन्याय गरेको छ । हाल्नलाई भने अत्यधिक मात्रामा ठोस वस्तु हालेर बोक्ने तर भन्दा चाहिँं झोलवाला अर्थात् झोला भन्ने ? नेपालीको नाम राख्ने चलन पनि अनौठैको छ । कुनै पनि वस्तुको रूप आकार र उसको गुण हेरेर नाम राख्नु पर्ने होइन र ? तर कालो ‘क’ भैंसी बराबर मेरी अर्धाङ्गिनीको नाम छ ‘विद्या’ । जमिन्दारीले जिल्ला खाएर बसेको मानिसको नाम ‘गुणराज’ हुन सक्छ र ढाकर बोकेर परिवार पालिरहेको व्यक्तिको नाम ‘धनप्रसाद’ हुन पनि सक्छ । गायत्री नै पनि जप्न छोडिसकेको व्यक्तिको नाम ‘धर्मभक्त’ तथा छ्याके कुरुप अनुहारको मान्छेलाई ‘रूपलाल’ भनेर चिनिन्छ । झोलाको नामकरणमा पनि यस्तै बिब्ल्याँटो काम भएको छ भन्ने मलाई लाग्छ ।

हिजोआज फरेनमेङ झोलाको चल्ती खूब बढेको छ । ठोरीबाट नून बोक्ने झोला वैङ्ककबाट सुन बोक्ने भएकोमा पनि आश्चर्य मान्नु पर्ने जरूरत छैन । तस्करहरूको हात परेपछि त्यही झोलामार्फत आधुनिक धुम्रपान ब्राउन सुगर र ह्वाइट सुगर समेत किलोको किलो भित्र वाहिर गरिरहन्छ, यसलाई पनि नौलो कुरा नमानौं । कथं- कदाचित भन्सार नामको तत्वले पक्राउ गरिहाल्यो भने पनि कमिशनले अर्को झोला भरिन्छ । अनि पक्राउ खाएको झोला स्वतन्त्र हुन्छ । एकबाट दुई र दुईवाट चार हुँदै जान्छ । गाईले राडी खाएको कुरा पनि पुरानो भैसक्यो अब त झोलाले झोला मात्रै हैन अर्थोक पनि खान थालेको छ ।

कुन्नि कुन केस (भुन्टीको कपाल चाहि हैन), ए सम्झें, विरिफ केस पो हो क्यारे, त्यस मोराले पनि झोलालाई खोलामा फ्याँक्न थालेको छ । मन्त्री र सन्त्री दुवैलाई ठीक पार्न विरिफकेस सफल भएको छ ।

डोली बोक्नेलाई डोले भनिंदा झोला बोक्नेलाई झोले भन्नु अन्यथा हुँदैन भन्ने कुरामा पनि म विस्वस्त छु । आजको दुनियामा झोले पनि किसिम किसिमका देख्न र भेट्न पाइन्छन् । हिजै मात्र एकजना राजनीतिक झोलेसँग मेरो जम्काभेट भएथ्यो । उसको झोलामा के के हुन्छ होला मलाई राम्रो थाह छ । आफ्नो स्वविवेकलाई समेत पोको पारेर झोलामै खाँदी अन्धाधुन्द स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै दुगुर्ने राजनीतिक झोलेहरूको पनि यहाँ कमी छैन । त्यो भन्दा पनि चर्को कुरो त के छ भने नेताको सवारी यताउता चलेको बेला उहाँको सम्मानित झोला समाइदिन या बोकिदिन झोलेहरू बीच हुने गरेको कम्पिटिसन पनि स्वाद मानेर मैले हेर्ने गरेको छु । निर्दलीय जमानामा त यसलाई अस्वाभाविक मानिन्नथ्यो, तर बहुदलीय जमानामा पनि यसैको बढोत्तरीले भने म जस्ता झोला विहिनहरूलाई आश्चर्य लाग्दो नै बनाइ दिएको छ ।

प्रसङ्गले अर्को अर्थ नलागेमा झोला बोक्नु भनेको ठूला बडाहरूको चाकडी गर्नु पनि हो भने ब्रिफकेस भनेको घुसको पोको नै हो । तर अहिले प्रसङ्ग झोलाको छ र मैले कसैको झोला बोकिन । कसैलाई आफ्नो झोला बोकाउने हैसियत पनि राखिन । मेरो यो यथार्थलाई बुझी बुझी हिजोको त्यो जम्काभेटमा एउटा धनुष्टङ्कारे सलाम खोज्ने झोलेले मसँग भन्यो- “मित्र । तैंले त झोला बिसाइछस् नि !” यो सुनेपछि मलाई झोलाको भन्दा बढी उसको टीठ लाग्यो । उसको दिमागमा झुण्डिएको जस्तो त्यो खलपत्रे झोला मैले न त कहिल्यै बोकेको नै थिएँ न त अहिले बिसाउनु नै परोस् । बोक्नु न बिसाउनुको त्यो झोलाप्रति मेरो गोरु बेचेको साइनो पनि छैन । अहिले आम प्रवृति बनेको झोले संस्कारवाट कसैले क्षणिक फाइदा उठाए पनि अन्ततः झोले झोले न हो र झोला झोला नै हो । आफूले गरेका दुराचार, पापाचार र भ्रष्टाचार जस्ता सयौं चारहरू छोप्न मान्छे झोले संस्कृतिलाई काखी चेपिरहेछन् । यसरी पनि यहाँ झोले प्रवृति मौलाइ रहेको छ ।

तस्करी झोलेको अलिकति चर्चा माथि पनि गरियो । तर यति चर्चाले मात्र पुग्दैन, किनकि सिङ्गै मुलुक आज एउटा झोलाभित्र घुचेटिएको छ । त्यस किसिमको झोलालाई मैले तस्करी झोला भन्ने गरेको छु । नेतादेखि अभिनेतासम्म, मास्टरदेखि एम्वेस्डरसम्म, डाक्टरदेखि कन्डक्टरसम्म, पत्रकारदेखि सूचिकारसम्म सबै एक एकओटा माखो बनेर त्यही झोलाको वरिपरि भुन्भुनाई रहेको म देख्छु । मालदार झोला एकै छिनमा हङ्गकङ्ग पुगेको छ त एकै छिनमा व्याङ्कक पुगेको छ । रेडियोले दिनहुँ जसो विमान स्थलबाट झोलाका झोला सुन गिरफ्तार गरेको समाचार प्रशारण गर्दछ तर त्यो सुन एक दुई दिन विमानस्थलको भन्सार कुरेर त्यसपछि कता लाग्छ, कसको झोलामा पस्छ भन्ने कुरा कहिल्यै बताउँदैन । या त फेरि फर्केर तस्करकै अर्को धोक्रे झोलामा पसेको होस् या पशुका पनि पति भए जस्तै’ पर्दाभित्र विराजमान तस्कर पतिका पाउमा पछारियोस् । यो कुरा रेडियोले थाहै पाउँदैन या पाएर पनि समाचार ब्ल्याक आउट गर्दछ ।

नेपालीहरू झुक्न जान्दैनन् तर भुक्न भने खुब सक्छन् । उनीहरूको भुकाइलाई डाक्टरले खोकी भन्दा रहेछन् र खोकीलाई कन्ट्रोल गर्न इन्डियाबाट खोकीको शिरप “फेन्सीडील” ठूलो मात्रामा आउने गरेको छ । अब त त्यही “फेन्सीडील”ले पनि तस्कर कै तुम्बो याने झोला भर्न थाल्यो । अर्थात आम नेपालीलाई भन्दा त्यो तस्करी झोलालाई बढी खोकी लागेको होला । होइन भने त्यो झोला आफैं पदार्थको कडा दुव्र्यसनमा नराम्रोसँग फँसेको छ भन्नुपर्छ ।

हुँदा हुँदा अब त यो झोलाले सिंगुलै मान्छे समेत दम्पच पान थालेको छ । थोरै दिनमा धेरै कमाउने सपना बोकेका मानिसहरू सजिलै यो झोला भित्र पस्छन् । अनि कोही बहराईन पुगेर ओकलिन्छन् त कोही कुवेत पुगेर । चौटा खान गएकी बुढी झोलमा डबेर मरी भने झैं आफ्नो घरको पींंडी बढार्न अपमान संझने अर्धशिक्षित ठिटाहरू बहराइन र कुवेततिर फोहर चर्पी सफा गर्न पुग्छन् । यो जादुमय झोलाको अपरम्पार लीला होइन त ? सबभन्दा बढी त यही झोलाको पो फलिफाप देखिंदैछ । सिंगुलै मान्छे बोक्ने यस प्रकारको झोलेले दोहोरो तेहोरो मुनाफा कमाइ ६ महिना वर्ष दिनमा काठमाडौंमा आधा दर्जन बिल्डिङ ठड्याउन पुग्छ । तपाईं पत्याउनुस् या नपत्याउनुस् मैले यो ढाँट कुरा गरेको हुँदै होइन ।

आम नागरिकहरूलाई सताइराखेको घुसघुसे झोला र त्यसका कुख्यात झोलेहरू बारे यहाँ विषद वणर्न गरिरहनु आवश्यक छैन । तपाईं कति चोटि स्वयं त्यसको फन्दामा परिसक्नु भएको हुन सक्छ । पर्नुभएको छैन भने सानो काम लिएर कुनै पनि सरकारी वा अर्ध-सरकारी कार्यालय जानुहोस् । त्यहाँ च्यापुसम्म नै मुख बाएर गजधुम्म बसेको हुन्छ घुसघुसे झोला । सम्झनोस् त्यसको मुखमा केही नहाली तपाईंले कुनै काम फत्ते गर्न खोज्नु भयो भने साढे सातको दशाले तपार्इंलाई छोइहाल्यो । शुरु हुन्छ अनि भोलि भोलिको रट । ३६५ वटा भोलि निख्रिसक्दा पनि तपाईंको भोलि निख्रिदैन । यस्तै परेपछि आजित भएर भानुभक्तले भन्नुपरेको थियो “भोली भोली भन्दैमा सब घर बित्यो, बक्स्योस् आज झोली ।” भानुभक्त कै पालादेखिआम नागरिकलाई सताइरहेको यो झोलीको भोलिले आजको नवीन प्रजातन्त्रमा पनि उत्तिकै सम्मान पाएको छ ।

अहिलेको नेपालमा अत्यन्त सक्रिय माथि उल्लेखित तीन किसिमका झोला र त्यसका खाँटी हकदार झोलेहरूको आपसमा नेपाल भारत बीच रहेको विशेष सम्बन्ध भन्दा बढी विशेष खालको सम्बन्ध छ । र त्यो विशेष विशेष बेलामा अभिव्यक्ति पनि हुने गर्दछ । अहिले मुलुकमा यिनीहरूकै बोलवाला र हाली मुहाली बढिरहेको छ । आउने दशकसम्ममा झोले संस्कृति तथा प्रवृत्तिले एउटा वाद वा दर्शन कै रूप लिने छ, यसमा शंकै छैन । निकट भविष्यमै यौटा नयाँ दर्शनको जन्मदाताको रूपमा नेपाल स्थापित हुनेछ । त्यो बेला म पनि आफ्ना जुँगा मुसार्दै मैदानमा ओर्लिएर नारा भट्याउने छु “महान् झोले संस्कृति अमर रहोस् । झोलातन्त्र जिन्दावाद ।” मेरो मनचिन्ते झोलाबाट यस पटक यति नै झिकेँ ।

०००
‘प्रकाश साप्ताहिक’ ०४९ चैत १६ को ‘क्षेपन’ स्तम्भबाट जस्ताको तस्तै

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे