कलानिधि दाहालआदि हौ यस अर्थमा !!
कवि नै गाइने चम्चा चाकरीमा झरी तल पाऊँ केही गुलामीका छन् सारै तुच्छ चन्चल ! स्वाभिमान तिमीभित्र भएको यो कलाघर के बुझ्लान् लम्पटाकार भ्रष्टका बनी पुच्छर ?

कलानिधि दाहाल
भानु ! भानु !! तिमी भानु !!! व्यङ्ग्यनायकका शिर
मर्यादित पताकामा तूफानी तालुमुन्तिर !
छाड्ने संस्कारका रानी बने पत्नी गजाधर
विस्मृति पौरुषी बिम्ब उनै पति गजाधर !!
भ्रष्ट हाकिमका लाम्टा लुछ्ने जेल तिमी बसी
गायकमा यता लामखुट्टे कलमको दसी !
देख्यौ गन्धर्भका नृत्य उपियाँमा कला छरी
दियौ झापड व्यङ्ग्योक्ति शब्दभाव भरी भरी !!
कल्पनाका तिमी जादू पहिलो हौ कला घर
निर्भयी रामसंसार वक्षका हौ तिमी चर !
कुमारी चोकले तिम्रो व्यङ्ग्यतीर तिखो भयो
अग्ल्यो साहसको थुम्को कलाकार तिखारियो !!
शालीन व्यङ्ग्यमा बोक्यौ लयधार चढे धुरी
स्वादु जिब्रा भए चट्ट गर्न लागे चुरीफुरी !
तोतेमा लड्किए शब्द थोते थर्थर ओठले
तिम्रा भाषा टिपी गाए जाँता हाँता र गोठले !!
देश हारे निराशाले वीरता खुम्चियो मन
अध्यात्म रामआस्थाले अड्यायौ सब धड्कन !
कैकेयी क्रूरता बिम्ब अझ रावण दानव
विजेतामा दियौ धक्का सोझ्यायौ मनमानव !!
प्रतीकका अझै खम्बा हौ हैम हिमका चुली
रहुन्जेल धरा तिम्रो तिम्रै रहन्छ खुल्दुली !
विराट् विश्व दियौ चेत धरा नै एक हो घर
मूर्खले जित्दछन् युद्ध हार मानव सुन्दर !!
राज्य हारेर के भो खै राम अग्ले हिमालय
जित्ने कैकयका आँसु बने रौरव आलय !
हार्ने सीता बनिन् नानी ज्योति दूरदराजकी
जित्ने रावणको लङ्का भयो भस्म विनाशकी !!
उन्मादले सधैँ मान्छे मान्छे नै झर्छ यो तल
समताभित्रको झिल्को ज्योति बल्दछ उज्वल !
तिम्रा व्यङ्ग्य भरी आए सन्देश झरना झरी
तर बुझ्छन् कति मान्छे भानु यो अलकापुरी !!
कवि नै गाइने चम्चा चाकरीमा झरी तल
पाऊँ केही गुलामीका छन् सारै तुच्छ चन्चल !
स्वाभिमान तिमीभित्र भएको यो कलाघर
के बुझ्लान् लम्पटाकार भ्रष्टका बनी पुच्छर ??
०००
कलेकुटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































