कृष्ण प्रधानभानुभक्तको घुर्की : हनुमानको मुड़्की
पुछारमा. निर्क्याैलस्वरुप के भन्न सकिन्छ भने, भानुभक्त घुर्की देखाउन जति सिपालु र खुप्पीस थिए, रामदूत हनुमान कसैमाथि मुड़की बजार्नमा दोब्बर-तेब्बर पोख्त र एक नम्बरका थिए । जय भानुभक्ते घुर्की जय हनुमाने मुड़्की ॥

कृष्ण प्रधान
नेपाली वाङमयका शुक्रतारा भानुभक्त आचार्य (वि.सं. १८७१-वि.सं १९२६)। (सन् १८१४- सन् १८६९) नेपाली भाषा-साहित्यका निर्माता हुन् । जातीय जीवनमा भक्कु ख्यातिप्रापत कवि भानुभक्तको रचनात्मक योगदानले नेपाली साहित्यको भँड़ार रसिलो, स्वादिलो, टेसिलो र खँदिलो हुनु पुगेको कुरा निर्विवाद र अकाट्य सत्य छ । प्राचीन संस्कृत वाङ्मय साहित्यिमा आदिकवि वाल्मीकिको जुन उच्च स्थान, हिन्दी साहित्यमा सन्त तुसलीदासको जुन शिखर स्थान छ अनि बङ्ला साहित्यमा कविगुरु रवीन्द्रनाथ ठाकुरको जुन स्थान र गरिमा छ सोही अनुरुप नेपाली भाषा-साहित्य-संस्कृतिको विकासमा भानुभक्तको योगदानको पनि गौरवशाली स्थान रहेको छ । यसैकारण हामी भानुभक्तलाई नेपाली जातीयताका प्रतीक मान्दछौं ।
नेपाली काव्यमा सरलता, सरसता र कोमलताको त्रिवेणी प्रवाहित गर्ने कवि भानुभक्त आचार्यको काव्यमा समकालीन युग र समाजको सजीव चित्रण पाइनन्छ । भानुभक्तीय चेतनाको विकास ठिटौले उमेरदेखि धार्मिक आस्था र नैतिक मर्यादाभित्र विकसित हुँदै आएकोले भानुभक्त धार्मिक प्रवृत्तिका मानिस थिए भन्न सकिन्छ । “एक् दिन् नारद् सत्यलोक पुगि गया लोकको गरुँ हित भनि” तथा “अमरावती कान्तिपुरी नगरी” भन्ने कविताबाट कवि भानुभक्त आचार्य राष्ट्रिय भावनाले ओतप्रोत देखिन्छन् भने उनका फुटकर कवितमाथि घोत्लिँदा उनलाई सामाजिक सुधारकका आसनमा ढुक्कैले राख्न सकिन्छ । कवि भानुभक्त आचार्यका काव्यकृतिहरूको साङ्गोपाङ्गो अध्ययन-मनन गर्दा उनलाई सशक्त व्यङ्ग्यकार र अब्बल क्रान्तिकारी व्यक्तित्वका धनी कवि पनि मान्न सकिन्छ ।
विचित्र व्यक्तित्वका धनी भानुभक्त आचार्य तर झोँकी थिए, रिसाहा थिए, सन्काहा थिए भन्ने तथ्य उनकै विविध रचनाहरूबाट छ्याङ्ङै हुन्छ । नेपाली भाषाप्रति हुरुक्कै र भुतुक्कै मरिमेट्ने कवि भानुभक्तले हरेक चुनौतिको सामना गर्नुपरेको र विकट समस्यासित पौँठेजोरी खेल्नुपरेकोले उनको स्वाभाव झोँकी, रिसाहा, सन्के, क्रोधी भएको हुनसक्छ । उनको झोँकी, रिसाहा, सन्के एवम क्रोधी व्यक्तित्वको उदाहरण भानुभक्त स्वयमले उनको छोरो रमानाथलाई लेखेका निम्न चिठीबाटै छ्याङ्ङै हुन्छ-
“स्वस्तिश्री चिरंजीवि श्री नानि रमानाथ शर्मणि श्री भानुभक्त शर्मणः शुभाशीर्वादाः सन्तु उप्रान्त पढ़दैनस् भन्या सुन्दछु, मेरा कंदा परि जति उमलछस्, यहाँबाट म क्या गरु, म ताहाँ आयापछि तैले नपढ्याएको ठहरायामा भन्या, बाबै, तेरा ज्यानको आसा नराखि लात मान्र्याछु, कि तैंले मर्नु पर्ला कि मरि पाउन्याछस्, कि पह्रि सुख पाउन्याछस्, यो बुझि, कि तैले मर्नु कि पन्र्याछु तेरी आमाले पनि यो चिट्ठि हेरी साँझ बेहान तँलाई लात मारो घोकन लावोस् आज तेरि आमाको चेत आएनन् र तलाई बेलन दियो भन्या मैले लात मारी मार्नन्त पार्याको तमासा हेर्लि, हेर्बाबै पह्रिनस भन्या तेरो जिउ खंज कराई छोड़ुला रति जति तेरा मामा मान्नया छैन सो सो जानी तेरि आमाले तलाई अदमा राषि घोकाउऩु तैंले घोकनु आजसंम कति पह्रिस ञाहाँसम्म पाठ पुर्याया छु भनि लेषि पठा. अघि पह्रार्याको पनि बिर्सिस् कि आउँछ तेरा हातले लेषि पठा नहि भन्या तेरो ज्यान साबुद राखन्या छैन, धेरै क्या लेखुँ किम धिकं मिति मार्ग शुदि १ रोज ३ मुकाम महाबौद्ध टोल शुभम् ।” ‘नेपाली गद्य सङ्ग्रह, तेस्रो भाग- बालकृष्ण सम)
उपरोल्लिखित चिठीबाट कवि भानुभक्तको झोंकी व्यक्तित्व छर्लङ्ङै बुझ्न सकिन्छ । उपरोक्त चिठीले छोरो रमानाथ पढ़्नमा ध्यान नदिएको बुझिन्छ । पढ़्नमा ध्यान नदिने छोरोलाई पिता भानुभक्त घर आएपछि ज्युको ख्यालै नराखी लात हान्ने र शरीरसमेत खँजाहा पारिदिने घुर्की देखाएको पाइन्छ । त्यतिमात्र होइन, आमा चाहिँले पनि लात हानी पाठ खोक्न लाउने कुरा चिठीमाउल्लेख पाइन्छ ।
कवि-लेककको व्यक्तित्व उनको रचनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा समाविष्ट भएको पाइन््छ । भानुभक्तका उनै झोँकी, रिसाहा, क्रोधी र सन्के व्यक्तित्व वा स्वभाव विशेष रामायणका दुइ चरित्र लक्ष्मण र हुनुमान पनि प्रतिपादित भएको पाइन्छ ।
रामायणमा लक्ष्मणलाई रिसाहा तथा झोँकी स्वाभावका मात्र होइन आफ्नो हक र अधिकारको निम्ति कसैलाई पनि नटेर्ने ढीट स्वाभावका देखाइएको छ । मन्थरा कैकयीको छलले रामलाई चौध वर्ष बनवासको आदेश भएपछि आफ्ना प्राणभन्दा प्यारा पिता दसरथको वचन नकाटी रामले भरतलाई राज्य सम्हाल्ने जिम्मावारी सुम्पन्छन् । तर यस्तो पक्षपातित्व एवम् षड़यन्त्रपूणर् आदेश पितृभक्त रामले सहर्ष स्वीकार गरे पनि लक्ष्मण भने अग्नि शर्मा हुन्छन् । पितृतुल्य दाज्यू रामको अधिकार वञ्चित भएकोमा भाइ लक्ष्मण हुँकार्छन् –
“हजुर्को राज् हर्न्या जति जति त छन् मार्छु सबलाई ।
पिता बाँध्छु पैल्हे भनिकन भन्या क्या छ अरुलाई ।” (श्रीअयोध्याकाण्ड/२८)
नाकको टुप्पोमै रिस बोकेका लक्ष्मणको घुर्की लरतरो थिएऩ –
“चढया जावस् गादी सकल रिपुको नाश् म गरुँला ।
यसै कामले भाइका सकल मनको शोका हरूँला ।” (श्रीअयोध्याकाण्ड/२८ )
भानुभक्त काँचो काठले डढ्ने खालका व्यक्ति पटक्कै थिएनन् । आफूमाथि आइपरेको वाधालाई घुर्की देखाएर पन्छाउन भानुभक्त खप्पिस थिए । गिरिधारी भाटले भानुभक्तलाई मुद्दा हालेर तिरिखिरि मात्र होइन, हत्तु हैरानसमेत पारेको र सो मुद्दा छिनाफाना गरिदिन अदालतका डिट्ठा-विचारीहरूलाई बारम्बार अनुनय-विनय गर्दा पनि सधै ‘भालिभोलि’ मात्र भनी टारिदिएको दुःखमा उक्त अदालतमा डिट्ठा-विचारीभन्दा पनि माथिका हाकिमसमक्ष घुर्कीसाथ भानुभक्त आफ्नो झोंक देखाउँछन्-
“विन्ति डिट्ठा विचारीसित म कति गरूँ चुप रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।.
की ता सक्दिन भन्नू की सब छिनिदिनू क्यान भन्छन् यी भोली ॥
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ॥”
काव्यात्मक शैलीमा रचिएको यस मुक्तकमा व्यङ्ग्यको बर्को ओढ़ाएर भानुभक्तले ढीट स्वाभावको परिचय दिएका छन् । रामभक्त हनुमान ता झन् चिताए कि बिताए भन्ने ढीट स्वाभावका एक नम्बर सन्काहा थिए । लक्ष्ममणको घुर्की मात्रै थियो भने हनुमानमा खाँटी नेपाली झोँक । सीताजीलाई भेट्न क्षार समुद्र तरिरहेका बेला हनुमानले किसिम किसिमका बाधा-अड़चनहरूको सामना गर्नुपर्छ । समुद्रमा सिंहिका नाउँ गरेकी राक्षसीले समुद्रभित्रै पानीमा बसी-बसी छाया समाती खाने गर्दथी । हनुमानको शरीरको छाया पनि त्यसले समातेर आफूतिर खिँच्दा हनुमानको गति बन्द हुन्छ । हनुमान आत्तिएर दसै दिसा हेर्दा सिंहिकाले नै त्यस्तो उपद्रो गरेकी हो भन्ने थाहा पाएपछि दुइ लात हिर्काएर राक्षसी सिंहिकालाई हनुमानले ठहरे पार्छन्-
“देख्या तल् तिर दृष्टि दी कन तहाँ जस्सै नजरमा परी ।
एकै चोट् दुइ लातच दिया र सहजै घुसुक्क ताहीं मरी ॥” (श्रीसुन्दरकाण्ड /१५)
पढ्न पटक्कै मनै नगर्ने छोरो रमानाथलाई लातले हानी खँजाहा बनाउँछु भनी छोरोलाई तर्साउने भानुभक्तका रिसाहा पात्र हनुमानले दुइ लात हानेर सिंहिकालाई ठहरै पारेका दृश्यमा जुन ठुङमर्दो स्वाद पाइन्छ त्यो साँच्चै रमाइलो छ । हनुमान लक्ष्मणजस्ता डङ्का पिटन जान्दैनन । आफू बिनासित्थी जाइ लाग्दैनन् तर आईलाग्नेलाई छोड़्न पनि पटक्कै जान्दैनन् । शान्त स्वाभावका हनुमानलाई कसैले चलायो कि उनी पानीखेदो गर्छन् । रणभूमिमा हनुमानको एकै मुड़्कीले रावण दुइ घड़ी मूर्छा परेको घटनाले पनि भानुभक्तको झोँकी व्यक्तित्व छर्लङ्ङै हुन्छ –
“त्यो रावण रणभूमिमा जब पुग्यो सामने हनुमान गया ।
मूर्छा पारि गिराउँ यस् कन भनी एक मुड़कि हान्दा भया ॥
छात्तीमा जब मुड्कि बज्रन गयो वज्र तुल्यै गरी ।
घूँड़ा टेकि गिर्यो पनि दुइ घडी मूर्छा तुरुन्तै परी ॥” (श्रीयुद्धकाण्ड/२४५)
हनुमान अच्चाकाली रिसाहा । रणभूमिमा हनुमानको एकै मुड़्कीले मूर्छा परेका रावण मूर्छाबाट उठी हनुमानलाई खूब सह्राउँछन् । फोस्रो प्रशंसाका कट्टर विरोधी हनुमान रावणलाई फेरि चुनौति दिँदै गर्जन्छन्-
“हे रावण ! किन गर्दछस् सह्रनि यो धिक्कार म मान्छु बरू ।
मेरो मुड़्कि पर्या पछी पनि बचिस् बोल्छस् यहाँ क्या गरुँ ॥
एक हान तँ पनी मलाई म पनी फेर हान्छु छाती महाँ ।
एक मुड़्िक अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ।” (श्रीयुद्धकाण्ड/२४७)
लाप्पा खेल्नमा सिपालु हनुमानमा नेपाली झोँक आरोपित गराउने श्रेय भानुभक्तलाई नै छ । लङ्केश्वर रावणले आफ्नो लाज बचाउन तथा लङ्केश्वरको शान देखाउन पनि हनुमानलाई फेरि प्रहार ता गर्छन् नि तर रावणको चोटले हनुमानलाई बाह्र हातको टोङोले पनि भेट्दैन । बरु हनुमान फेरि मुड़्की उज्याएर अघि सर्दा लङ्केश्वर राणव हनुमानको मुड़्कीको डरले अन्यत्र आफ्नो लाज र प्राण जोगाउँछन्-
ई बात श्रीहनुमानले जब गऱ्या बैसे भन्यो हो भनी ।
एक् चोट् श्रीहनुमानका हृदयमा ताकेर हान्यो पनी ॥
फेरी श्रीहनुमान सर्यो अघि तहाँ मुड़्िक उठाई जसै ।
रावण टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ॥ (श्रीयुद्धकाण्ड/ २४८)
ढीट स्वाभावका भानुभक्तलाई कसैको फोस्रो प्रशंसा, चाप्लुसी पटक्कै मन पर्दैन । उनको नाकको टुप्पोमै । प्याच्चै भन्नमा सिपालु । यही व्यक्तित्व हनुमानमा पनि छतछती आरोपित भएको पाइऩ्छ । गजाधर शोतीकी पत्नीले घरपिँढ़ीमा वास बस्न नदिँदा भानुभक्तलाई झोंक चल्छ र उनी झोँकिन्छन् यसरी-
“गजाधर सोतीको घरबुढ़ी अलछिनकी रहिछन्
नरक् जानलाई सबसित विदावारि भइछन् ।”
आफ्नो सिर्जनाद्वारा अमरत्व प्राप्त गर्ने नेपाली भाषा र समग्र जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्य विविध प्रतिभाका धनी सँगसँगै उनको व्यक्तित्वमा विविध वैशिष्ट्य र विशेषता रहेको पाइन्छ । यसैले उनले सिर्जना गरेका पात्रहरूमा उनैको विविध व्यक्तित्व आरोपित भएको पाइन्छ ।
पुछारमा. निर्क्याैलस्वरुप के भन्न सकिन्छ भने, भानुभक्त घुर्की देखाउन जति सिपालु र खुप्पीस थिए, रामदूत हनुमान कसैमाथि मुड़की बजार्नमा दोब्बर-तेब्बर पोख्त र एक नम्बरका थिए ।
जय भानुभक्ते घुर्की
जय हनुमाने मुड़्की ॥
०००
सिलीगुढी, भारत
Subscribe
Login
0 Comments
Oldest





































