खगेन्द्र नेउपानेयतिबेला हाम्रोतिर नआउनोस है हजुर !
निश्चिन्त भएर यता नआउनुहोस् है यता बाढी छ हिजै मात्र पुरेको कमिसनको माटो बगाएको ठूलो खाडी छ यता अचेल बाटो बिग्रिएको छ हाम्रोतिर नआउनुहोस है हजुर !

खगेन्द्र नेउपाने :
लौ हाम्रोतिर नआउँनु है हजुर !
यता खाल्डो छ, बाटो हिलो छ
असारे काम यस्तै हो
चिप्लो छ माटो गलो छ
लौ हाम्रोतिर नआउँनु है हजुर !
गोजीभरि विकाश भए
बजारतिरै छर्नु
उतैतिर रेष्टुराँ छ उतैतिर भर्नु
यतातिर पानी छ है बाढी पनि चल्छ
सय भोल्टको बत्ती पनि
धिप्री जस्तो बल्छ
साधा पानी खरा पानी
उतै पाइन्छ नि
अनुगमन गर्या रकम उतै चाहिन्छ नि
त्यसैले यहाँ अचेल गाडी चल्दैन
यहाँ खेती मारामार छ
लोकल भाले गन्धे बोको
कतै ढल्दैन
लौ हाम्रोतिर नआउँनु है हजुर !
शहरमै सडक छ
त्यहीँ सडक बत्ती बाल्नुस्
रातबिरात हजुरले त्यहीँ हिँड्नुपर्छ
त्यहीँ ईंटा हाल्नुस् त्यहिँ बालुवा चाल्नुस्
गाउँहरू मत पत्रका दाउहरू हुन्
बजारमै बस्छन् आडम्बरका भाउहरू
त्यसैले भाउ बढाउँनुहोस् ।
यता अचेल बाटो बिग्रिएको छ
लौ हाम्रोतिर नआउँनुहोस् है हजुर !
शहरकै मान्छेलाई सरकार ढाल्नु छ
त्यहीँ कतै राँको कतै टायर बाल्नु छ
देशको चिन्ता त किन हुन्थ्यो
पद नपाएको चिन्ता
अरुले गलगिच्च खाएको चिन्ता
आफू मात्र सफा अरु गनाएको चिन्ता
आफ्नू सत्ता अरुले खोसेर मोज मनाएको चिन्ता
चिन्तै चिन्ताको बीचमा
निश्चिन्त भएर यता नआउनुहोस् है
यता बाढी छ
हिजै मात्र पुरेको
कमिसनको माटो बगाएको ठूलो खाडी छ
यता अचेल बाटो बिग्रिएको छ
हाम्रोतिर नआउनुहोस है हजुर !
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest






































