साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिप्लिनेका चिप्लै कुरा

कार्यालयबाटै अनलाइन र अफलाइनमा चिप्लिएका पेशाको नकाव ख्याल नगर्नेहरू चिप्लिएका छन् । घोकन्ते भाषण बोल्नेहरू, रटन्ते साहित्य लेख्नेहरू, अलौकिक घटना सुन्नेहरू चिप्लिएका छन् । केही नगर्नेहरू उनीहरूकै कुराले चिप्लिरहेका छन् ।

Nepal Telecom ad

संप्रस पौडेल :

असार साउनको बाटो । खाल्डाखुल्डी, हिलो, चिप्लो नहुने कुरै भएन । पैदल गर्नेहरू नबिर्सनेगरी चिप्लिन्छन् । कसैका लागि यस्तो चिप्लाई कतिसम्म सुखद हुन्छ भने कोही कोही त जीवनबाटै चिप्लिन्छन् । यो कतिसम्म दुखद हुन्छ भने चिप्लेर बाँचियो भने शरीरभन्दा दिमाग बढी दुखिरहेको हुन्छ । बालबच्चा चिप्लिँदा जुरुक्क उठेर हिँड्छन् भने बुढापाका चिप्लँदा नटबोल्ट कमजोर भैसकेको जोर्नीहरू फुस्कने डर हुन्छ ।

चिप्लिनेको एउटै सिद्धान्त छ- एक पटक चिप्लिएपछि चुपचाप उठेर दायाँबायाँ नहेरी पुछपाछ गर्नुपर्छ, अरू हाँस्न थाले भनेर झगडा गरेर बस्नु हुन्न । झगडा गर्न थालेपछि झन् धेरै थुप्रिन्छन् र हिलोमा चिप्लिएर बैठक अङ्गमा हिलो लतपतिएको देख्छन् । झन् धेरै मान्छेहरू हास्न थाल्छन् । अझै झगडा गरिरहने हो भने छरछिमेकी मात्रै होइन, टोल छिमेकका मान्छे हाँस्न आइपुग्छन् । अझै गनगन गरिरहने हो भने टोल मात्रै होइन पूरै गाउँ उल्टिएर आउँछ र गलल पार्छ । पहिलेजस्तो गलल हाँसेर मात्रै पुग्दैन, मान्छेहरू हातहातमा मोबाइल बसेर चिप्ल्याइका कथाहरू छायाङ्कन गर्न थाल्छन् । चिप्लेहरूका सञ्जालमा यिनै हट इस्यू बनिदिन्छ । यसैले चिप्लिएपछि दायाँबायाँ नहेरी पुछपाछ गर्दै बाटो लाग्नुको अर्को विकल्प छैन ।

चिप्लिने मान्छे पढलेखा, बौद्धिक छ भने झनै बढी हाँसोको पात्र बनिन्छ । मान्छेहरूले भन्नेछन्-
– पढेका भन्नु मात्रै, बुद्धिजति कटहरका बियाँझैं भुटेर खाएछ ।
– कापीमा धर्का नाप्याजस्तो पाइला नाप्न पनि जान्नुपर्‍यो नि ।
– लाटो लड्छ एक बल्ढ्याङ, बाठो लड्छ तीन बल्ढ्याङ ।
– किताबका अक्षर मात्रै जानेका हुन्, बेहोरा एक ढङ्गको छैन ।
– हुलमुलमा ज्यान जोगाउनु, खाल्डाखुल्डीमा ज्यान जोगाउनु ।

हिँड्न नजानेर आफैं लडेकोमा अझै छिमेकीलाई सत्तोसराप गरिरहने हो भने उसका पक्षमा घटनाबारे जानकार नभएकाहरू पनि थपिन्छन् । भन्छन्, “यसरी बस्ने ठाउँमैं लात्तिले हान्नचाहिँ नहुने हो है । हेर हेर पाइन्ट फुट्नेगरी बजाएछ । भित्र कतिको भुइँचालो गयो होला । कठै ! अब केले बसोस् विचरा । कस्ता असत्तिहरू !” यतिखेर उसको पीडालाई मल्हम लगाउन अरू थप केही मानिसहरू उसका पक्षमा लाग्छन् । यतिखेरसम्म पल्लो गाउँका मानिस आइसकेका हुन्छन् ।

एउटा मान्छे मामुली बर्खे बाटोमा चिप्लिएपछि चिप्लिएकाहरूको अनुभव सुन्न पाइन्छ । एउटाले सुनाउँछ- उबेला पहाडमा चिप्लिएर एकैपटक तराई पुगेको कुरा । अर्को एउटा भन्छ- “यार्सागुम्बा टिप्न जाँदा चिप्लिएर सप्तरीको यादवको गोठमा पुगेछु ।” एउटी भन्छे “यस्ता छुसी चिप्लेकिरा जस्ता चिप्लिनेका के कुरा, केराको बोक्रामा चिप्लिएर मेक्सिको हुँदै अमेरिका पुग्ने मैं हुँ ।” ऊभन्दा अनुभवी अर्की भन्छे, “तिमीहरू मर्त्य लोक पुग्यौ, मेरी आमा आफ्नै आँगनको लेउमा चिप्लिएर स्वर्गेवास भइन् ।” यसरी चिप्लिनेहरूका थरिथरिका चिप्लाइशास्त्र वाचन भैरहन्छ । आखिर चिप्लेहरूले नजानेका शास्त्र नै पो कुन छ र ?

सात गाउँ चक्कर लाउँदै आएका बुझक्कड देखिनेले साराका मुख थुन्दै सोधनी गरेपछि चिप्लिने मान्छे आफ्नै गाउँको भए यसो भन्छन् “पुलिसकोमा जानुपर्छ । ल हिँड भाइ, ती बदमासहरूलाई मुद्दा हाल्नुपर्छ । न्यायालय जानुपर्छ र तिनीहरूलाई जाक्नुपर्छ । यसरी हाम्रा छोरीचेली, हाम्रा छोराहरू दिनदहाडै हिँड्न पनि डरमर्दो भैसक्यो यो गाउँमा ।” अब उसलाई लाग्छ कसै न कसैले लात्तिले हानेकै हो । उनीहरूको चित्त बुझाउन पनि उसले उजुरी हाल्नुपर्छ । नत्र उसले भन्दा भीडले हार्ने डरले भीडले चुपचाप घर जान दिँदैन ।

उसलाई पुलिसले सोध्दो हो- “तपाईँलाई लात्तिले हान्नेलाई चिन्नु भएको छ ?”
उसको उत्तर यस्तो आउला- “चिनेको त छैन ?”
“उसो भए पहिले चिनेर आउनोस् ।” अलमल पर्छ । “अँ यता सुन्नोस् त त्यो मान्छेले नै लात्ति हानेको हो भन्ने के प्रमाण छ ?”
बैठक अङ्गमा हात लगाउँछ, यतिखेर कट्कटिसकेको छ ।
“बरू यसो गर्नोस् त यो कपडा यहीँ फूकालेर राख्नोस् । जाँच गर्नुछ । तपाईँ भोली आउनोस् ।“
ऊ कट्टु र गन्जी लाएर बाहिर निस्केला । चिप्ले गाउँका मान्छेहरू भन्लान्- “पुलिसले पनि न्याय गर्नेचाहिँ होइन रहेछ । उल्टै नाङ्गेझार बनाएर पठायो । अब अदालत जानुपर्छ ।”
अर्को जान्नेसुन्नेले भन्दो हो “अन्याय सहनु हुन्न । भाइ मुद्दा लड्नुपर्छ, खर्चबर्च बोकेका छौ ?”
अर्कोले भन्ला “जिल्लामा हार्यौन भने त उच्च हुँदै सर्वोच्चसम्म पुग्नुपर्छ नि !” ऊ उच्च र सर्वोच्च सल्लाहका अघि पिच्च गर्न नसकी ओठमुख सुकाएर ङिच्च परिरहन्छ ।

भ्युअर्स बढाउने नाममा झूठो समाचार राख्ने मिडिया, सञ्जालमा नक्कली आइडी बनाउने फुर्सतीहरू, अरूका समाचार सारेर भाइरल भएका भाइरसहरू अनी आधिकारिकतामा पत्तै नपाई हल्ला गर्ने हल्लाखोरहरू यी सबै चिप्ले हुन् । यिनका तर्कसँग कुनै तर्केश्वरदेखि हठी प्रवृत्तिको असुरले पनि बहसको ल्याकत राख्दैन ।

एउटा मामुली चिप्लाईलाई अन्तर्राष्ट्रियस्तरमा बहस गराउने चिप्लेहरू ठान्छन्- भीमसेनको गाढा र कुबेरको तोरीको चिप्लाइ उनीहरूकै देन हो । लक्ष्मण रेखाबाहिर सीता चिप्लेरै पुगेकी हुन् । महादेवले कालकूट पिएका होइनन्, मुखमा राख्दाराख्दै चिप्लिएर भुँडीभित्र प्रवेश पाएको हो । सन्टा क्लज सुनको मृगको रथमा होइन, चिप्लिएर घरघर आउँछन् र उपहार दिन्छन् । चिप्लेहरूका तर्क यिनै हुन् ।

कर्म गर फलको आश नगर भन्दै धार्मिक साहित्यका लेखकहरू चिप्लिएका छन् । उच्च शिक्षापछि जागिर खोजिरहेको युवालाई दौरासुरुवालको राष्ट्रवाद पढाउँदै राजनीति गर्नेहरू चिप्लिएका छन् । कार्यालयबाटै अनलाइन र अफलाइनमा चिप्लिएका पेशाको नकाव ख्याल नगर्नेहरू चिप्लिएका छन् । घोकन्ते भाषण बोल्नेहरू, रटन्ते साहित्य लेख्नेहरू, अलौकिक घटना सुन्नेहरू चिप्लिएका छन् । केही नगर्नेहरू उनीहरूकै कुराले चिप्लिरहेका छन् ।

कहिलेकाहिँ आफूले नखनेको खाल्डोमा पनि आफैं परिन्छ । असारमा चिप्लिएपछि लागेका हिलो पुछपाछ गरेर अघि बढ्नुको विकल्प छैन । चिप्लनुका शास्त्र खोजेर, लेखेर, सुनाएर, मुद्दा लडेर झनै चिप्लनु छैन ? चिप्लाई टुङ्ग्याउँने एउटै उपाय- यसरी चिप्लिएकोमा माफी माग्दछु । बाटो चिप्लो छ, कृपया होश गरेर हिँडौं । जदौ ।

०००
हेटौँडा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x