लोभ तृष्णा कति गर्छस् मर्ने बेलासम्म !
यताउता भौतारिन्छस् पीपलपाते मन कहिले त लाग्छ मलाई दुइटा तेरो तन एउटा तनले हुन्छ भन्छ, अर्को बटारिन्छ गन्तव्यमा पुग्नै लाग्दा फेरी मडारिन्छ
विजय खनाल :
ए मन् तँ किन हावासरी घुमिरहन्छस् रनवन
अनि उडाइरन्छस् पँलासजस्तै मलाइ फनफन्
कहिले सिमलजस्तै फैलिदिन्छस् संसारभरि
कहिले गजधम्म जमेर बसिदिन्छस् हिँउसरि ॥
कहिले घोच्छस् मुटुमा बिज्नेगरी वज्रवाण,
प्रयत्न गर्छु उम्किन म तर पाउन सक्दिनँ त्राण
दिइरहन्छस् तैँले मलाइ पटक-पटक धोका
हौसिएर गुमाइदिइस् अनगिन्ति मौका ॥
सुन्दर राम्रो देखेपछि मुख रसाउने तेरो
तैँलेगर्दा दुःख पाउने पालो चाहिँ मेरो
देखेजति सुन्दरीमा आह्रिस गर्ने बानी
बुढो भइसकिस् अब कहिले हुने ज्ञानी ॥
भाग्य मेरो बर्बाद गरिस् धेरैपटक तैँले
कतिपटक सम्झाइरहूँ हारी सकेँ मैले
सुन चाँदी डलर जति तँलाइ नै चाहिने
अल्छि गर्छस् कर्म गर्न अनि कहाँ पाईने ?
यताउता भौतारिन्छस् पीपलपाते मन
कहिले त लाग्छ मलाई दुइटा तेरो तन
एउटा तनले हुन्छ भन्छ, अर्को बटारिन्छ
गन्तव्यमा पुग्नै लाग्दा फेरी मडारिन्छ ॥
संसारकै सुन्दर वस्तु नभई हुन्न तँलाई
खुस्काएर धोती टोपी कङ्गाल पारिस् मलाई
जवानीमा हेन्सम थिइस् सुन्दर गजधम्म
लोभ तृष्णा कति गर्छस् मर्ने बेलासम्म ॥
०००
हाल अमेरिका ।
Subscribe
Login
0 Comments
Oldest