सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चन्चली, पगरी र पेरुङ्गो

चतुरेको टिम अघि सर्दै बेहुलीका सिउँदोमा एक धर्को सिन्दुर हाल्दाहाल्दै गबुल्ले पनि आफ्ना पछुवा लिएर ठेलमठेल गर्दै फिल्मीशैलीमा अर्को धर्को सिन्दुर हाल्न सफल भयो ।

Nepal Telecom ad

भोजराज रेग्मी :

चाचारचोटी बिहे गर्दा पनि स्वास्नी सुमर्न नसकेर वैरागिएको गबुल्लेलाई छाडा गाउँकी चन्चली मैँयाले फकाइफुल्याई बेहुलो बनाएर राखेकी थिई । घरव्यवहारमा ऊ आफै भाले हुन खोज्दा गबुल्लेलाई मन परेन र उसले भाले बन्न खोज्ने पोथी चन्चलीलाई तह लाउने योजना बुन्न थाल्यो ।

चन्चलीलाई पनि गबुल्लेको नियत ठीक लागेन । जहिलै “तिमी मेरी रानी हौ” भनेर चिप्लो घस्ने र भित्रभित्रै चन्चलीलाई तह लाउने तानाबानाको सुइँको पाएपछी गबुल्लेले सुइँको नपाउने गरी ऊ एक साँझ हराई । गबुल्लेको परिवारमा खलबली मच्चियो ।

सुराकीहरूले पत्तो लाए – चन्चली त चतुरेको कौशीमा उपरखुट्टी लाएर घरी सुँक्कसुँक्क गर्दै घरी मस्किँदै बसेकी रहिछ । चन्चली गबुल्लेसँग चित्त दुखाएर हिँडेकीले उसलाई फकाएर घर फर्काउने कुनै गुन्जायस देखिएन । ददश वर्ष लालनपालन गरेर ऐलेसम्म भरथेग गरिरहनु परेकी चन्चलीले आफूलाई समेत थाहा सुद्धी नदिइकन एक्कासी पोइ छोडेर हिँडेको कुरा कान्छा मुखिया भैयालाललाई कत्ती मन परेको थिएन । गबुल्लेले पनि रुँदै फोन गरेको र चन्चलीले पनि यसपाली आफूलाई बेवास्ता गरेकी हुनाले कान्छामुखियाले चन्चलीलाई तह लाएर राख्न उता पेरुङ्गो बुन्न थाले ।

यता, चतुरेका आफन्त, इष्टमित्र र करकुटुम्बहरू चन्चलीलाई विधिपूर्वक भित्र्याउने बन्दोबस्ततिर लागे । चन्चली भागेर आएको भोलिपल्ट स्वयम्वरको चाँजोपाँजो मिलाइएको थियो । स्वयम्वरको शोभाजात्रामा परम्परानुसार गबुल्ले पनि रुन्चे अनुहार लाएर एकाछेउमा बसेको थियो । उपस्थित अरु सबैले स्वयम्बरको शोभा बढाउन ताली बजाएको हेर्न नसकेर गबुल्ले भक्कानो फुट्लाजस्तो भएर लुसुक्क हिँडेको थियो ।

केही दिनपछी वानरमिलन केन्द्रमा सिन्दुरजात्रा गरेर बेहुली भित्र्याउने  र जन्तेबाख्रो ख्वाउने सल्लाह भयो । सोही अनुसार लाउकेहरू निर्धारित कामकाजमा खटिए । उता गोफ्ले, गबुल्ले, गुइँठे र जुठेहरू मणि हराएको सर्पजस्ता विक्षिप्त भए । भोकप्यास र निन्द्रासमेत हरायो । आफ्ना पुरानिया वफादार हलीगोठालाहरूको कन्तबिजोग देखेर दीनदयालु भैयालाल पनि औधी तनावमा परे । चन्चली- गबुल्लेकी जोई मात्रै हैन, भैयालालकी भित्रिनी पनि हो भन्ने त दुनियाँलाई घामजत्तिकै छर्लङ्गै छ । आफ्नी भित्रिनीले दिएको तनावको व्यवस्थापनबारे सोच्दासोच्दै भैयालाल नियमित प्राणायामको अतिरिक्त ध्यान गर्न थालेका थिए । गर्दैभन्दै जाँदा चन्चलीको सिन्दुरजात्रा गर्ने दिन पनि आयो । जन्ती र घरगाउँले गरेर झण्डै दुईसय पुगे । किनाराका साक्षी बस्न यत्रो सङ्ख्या नै पर्याप्त थियो ।

हिजो कुरा काट्नेहरू पनि सिन्दुरजात्रामा ठाँटिएर बधाई र शुभकामना दिन ओइरिए । बिहेको रौनकले नयाँ रोमाञ्च जगाएको थियो । वानरमिलन केन्द्रको मण्डपमा सिन्दुरजात्राको तयारी चल्दैथियो । बाजागाजा र भिडियोग्राफीको जिम्मा लिएका स्याल र फ्याउराहरू पनि तैनाथ थिए ।

निकम्मा र घमण्डी गबुल्लेको शेखी झार्न सकेकोमा चतुरे गद्गद थियो भने चल्तीका वयोवृद्ध तन्नेरीहरूमध्ये बाठो र पौरखी पोइ भेट्टाएकोमा चन्चली फुरुङ्ग थिई । गण र गुण पूरै नमिले पनि दुवैको राशी एउटै भएकोले दाम्पत्य जीवन सुखानन्दसाथ दीर्घ रूपमा चल्ने कुरामा कसैको मनमा पनि शङ्काको “श” उम्रिएन ।

चन्चली र चतुरे घरिघरी आँखा जुधाउँथे र मसक्क मस्किन्थे । “म त तिम्रो घनश्यामकककक तिमी मेरी राधा पियारी हाई”- चतुरे झनै रोमान्टिक भैदिन्थ्यो ।
“गबुल्ले मोराले ज्यास्तै हेलाहोचो गरेर आवेशमा यता आइहालेँ । कान्छामुखियाले पनि थापाए होलान्, यता धेरै दिन टिक्न देलान् जस्तो छैन है घनश्याम !” – के भनूँ, केभनूँ हुँदाहुँदै चन्चलीको मुखबाट फ्याट्ट फुस्क्यो ।
“कि लाऊ मयाँ मैँतिर , कि जाऊ उईतिर !”
ए ककक नीर ! नलाऊ दुईतिर !”
“छ भने माया छपक्कै लाइदेऊ छैन भने मायाँ मोहनी फुकाइदेऊ !”

सिन्दुरजात्राको तयारी चल्दै गर्दा एकान्त वार्तामा बसेका चतुरे- चन्चलीको लोकदोहोरी चल्दैछ भन्ने हल्लाको आगो यताको कौशीबाट फाल हानेर गबुल्लेको घरगोठसम्मै फैलियो । लोकदोहोरीको मेलो त्यसै छोडेर चतुरे र चन्चली सिन्दुरजात्राको समारोहमा सामेल भए । कर्मकाण्ड गरिआएका पं. जमदग्नी ज्वारभाटा काशी गएका र उनी नफर्किने भएकोले कामचलाउ पण्डितको काम वयोवृद्ध श्री पन्चनारान पाध्येले गर्न थालेका थिए । “लु, अब दुलही र दुलहा यहाँ अगाडि आएर उभिने, दुलहाले दुलहीलाई सिन्दुर लाइदिने । जन्तीजतिले ताली बजाउने । दुलहीपट्टिकाहरूले चाहिँ लुकेर हेर्ने “पण्डितजीले मन्त्रोत्चारण गर्नू अघि उर्दी गरे ।

पण्डितको आदेश भुइँमा झर्नू र गबुल्लेको पल्टनले घेरा हाल्नु सँगसँगै भो । गबुल्लेहरूले ताली बजाउन तर्खराएका होलान् भन्ने जन्तीहरूले अड्कल गरे । चतुरेको टिम अघि सर्दै बेहुलीका सिउँदोमा एक धर्को सिन्दुर हाल्दाहाल्दै गबुल्ले पनि आफ्ना पछुवा लिएर ठेलमठेल गर्दै फिल्मीशैलीमा अर्को धर्को सिन्दुर हाल्न सफल भयो । गबुल्लेको बलमिच्याइँ देखेर टोपीवाल, दाह्रीवाल र गलबन्दीवालसमेतको चतुरेको जन्तीटिम सशंकित हुँदैथ्यो, खाँडो जगाउने र सिलोक हाल्ने जत्थाले स्थिति शान्त पार्दै भने – “यो सिन्दुरजात्रा दुनियाँभरिमै नौलो र भव्य भयो । गिनिजबुकमै दर्ता हुनसक्छ ।”

“पोइल गएकी जोईको सिन्दुरजात्रामा भतुवा लागेर गाईजात्रा गर्ने लबस्तराले कसरी मुख देखाएर हिँड्न सकेको होला !? “धेरैले खिसिट्युरी गर्न थाले ।”

“जारले सिन्दुर हाल्दै गरेको बेला साधु मोरो लाजशरम पचाएर कसरी घुस्रिन सकेको होला ! “टीकाटिप्पणी र आलोचनाको जुलुस निस्क्यो ।”

“सिन्दुर हालेपछि आजदेखि दुइटैकी जोई भई चन्चली” – गबुल्लेतिरको फ्याउरो करायो ।

“कहीँ नभाको जात्रा ! एउटी जोईको दुइटा पोइ तैँले भन्दैमा हुन्छ ? कदापि हुँदैन “यताको स्यालले फ्याउराको सातो खायो ।
अचम्मै गर्‍यो गोफ्लेले ।

०००
पेप्सीकोला ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

भोजराज रेग्मी ‘मुखाले’
शुभचिन्तकको सवाई

शुभचिन्तकको सवाई

भोजराज रेग्मी ‘मुखाले’
लगाएको देखियो

लगाएको देखियो

भोजराज रेग्मी ‘मुखाले’
गोथेमहाराजको उर्दी !

गोथेमहाराजको उर्दी !

भोजराज रेग्मी ‘मुखाले’
तीन लबटो

तीन लबटो

भोजराज रेग्मी ‘मुखाले’
घोर्ले स्याल र बाँदरहरू

घोर्ले स्याल र बाँदरहरू

भोजराज रेग्मी ‘मुखाले’
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x