डा. खगेन्द्रप्रसाद दाहालकुरौटे
व्यवस्था अर्काको कसरमय देख्छौँ सबतिर अवस्था अर्काको सुखरहित देख्छौँ तलतिर स्वयंभन्दा अर्को पनि ठिक कहाँ हुन्छ र भनी कुरा काट्ने मेलो सहजसित भेट्छौँ अझ पनि ॥

डा. खगेन्द्रप्रसाद दाहाल :
कुरौटे हौँ हामी कति कति कुरा छन् मनभरि
कुराको खेतीमा समयसित खेल्छौँ अझ पनि
कुरा भेटे मान्छौँ चटक चटनी व्यञ्जन मिठो
कुरा मेटे ठान्छौँ सब सब छ खल्लो र नमिठो ॥
सुँघी खोज्दै हिँड्छौँ अलिकति कहीँ गन्ध छ भने
लिखो भैँसी देख्छौँ भुलचुक अरूको छ त भने
कुरा काट्दा ठान्छौँ भुवनभरमा मै छु असल
अरू अज्ञानी छन् सकल घटिया हुन् कमसल ॥
व्यवस्था अर्काको कसरमय देख्छौँ सबतिर
अवस्था अर्काको सुखरहित देख्छौँ तलतिर
स्वयंभन्दा अर्को पनि ठिक कहाँ हुन्छ र भनी
कुरा काट्ने मेलो सहजसित भेट्छौँ अझ पनि ॥
न ता सार्छौँ सिन्को वरपर कहीँ काम गतिलो
गफाडी छौँ अल्छी फजुल गफवाला अगतिलो
अझै छोप्छौँ आफ्ना विपुल कमजोरी कम भनी
कुराले नै हाँक्छौँ मुलुक सजिलै सक्षम बनी ॥
छ को फर्की आफूतिर नजर लाई पथ लिने
सकारी गल्तीमा छ र कुन सुधार्दै बदलिने
सबैका उस्तै छन् नजर दुनियाँमा सकसकी
छ को आफ्ना गल्ती भयरहित राख्ने दृढ हकी ॥
०००
झापा
Subscribe
Login
0 Comments
Oldest







































