नीलहरि काफ्लेचुठेर निस्किए !
साइँलालाई काइदा दुवै हातभरी दायाँ र बायाँ परिकार थरी रोप्नु उमार्नु गोड्नु नपर्ने छोप्नु सपार्नु मोड्नु नपर्ने बुझी नसक्नु भाग्यको खेलो जो जो जन्मे नी खाने नै मेलो ।

नीलहरि काफ्ले :
एकथरी भन्छन् पस्केर लेऊ
अर्का भन्दैछन् पख न चाटेर खान त देऊ
चिल्ला भ्रष्टाचार चिप्लिँदै आए
ढ्याउ-ढ्याउ गरे दुर दुर गन्हाए
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !
थुक्क मिठो थियो निखार्नै पाइएन
अरु भोकाएछन् अघाउन्जेल खाइएन
घिउ हाल्दै थिएँ
तेल थप्दै थिएँ
कलेजो फोक्सो उसिन्दै थिएँ
ह्याकुलो फियो भुट्दै थिएँ
मरमसला पिस्दै थिएँ
लसुन प्याज मिस्दै थिएँ
ओर्काई फर्काई चलाउँदै थिएँ
चिल्ली र रोष्ट जलाउँदै थिएँ
खाउँला भन्थेँ हतार हतार गरे
सिध्याउनै नपाई छिरेर मरे
उनीहरू भान्सामा छिरे
तिनिहरू चुठेर निस्किए !
कति हसुर्छौ ? अब पालो मेरो
आगन्तुक रिसायो भुँडी भर तेरो
एक्लै सिध्यायो डराउँदै गयो
हेरेर बस्न छटपटी भयो
पचे पचाइन्छ नपचे छेरिन्छ
सुकेको ज्यानलाई मजाले फेरिन्छ
खान छाड्ने त कुरै भएन
खाएको उस्ले खेर गएन
बरु डरायो कतिन्जेल खाउँला
लेउन छिटो खाएरै जाउँला
पछाडि अरु लाइनमा बस्नु
म निस्केपछि अनि भित्र पस्नु
बचेकुचेका हाडखोर खानु
चाटी चुटी निखारी जानु
भलाकुसारी गरी गरी खाए
मिलेर पापी घरीघरी खाए
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !
सन्तानको भुँडी हेर्दै छिन् आमा
तिखारे दारा छोटा र लामा
जेठो अघायो माइलो भोकायो
कुपोषण कान्छो साह्रै नै रोगायो
अन्तरेहरू छोडेनन् कुद्न
काइँलो छुच्चोलाई थालेछन् पूज्न
साइँलालाई काइदा दुवै हातभरी
दायाँ र बायाँ परिकार थरी
रोप्नु उमार्नु गोड्नु नपर्ने
छोप्नु सपार्नु मोड्नु नपर्ने
बुझी नसक्नु भाग्यको खेलो
जो जो जन्मे नी खाने नै मेलो
उनीहरू भान्सामा छिरे,
तिनीहरू चुठेर निस्किए !
०००
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































