कलानिधि दाहालसदन र ब्वाँसाहरू !
सत्ताधार उधार धार सजिने ब्वाँसाहरू हो सुन नाता चुम्न तयार बार बलिया ब्याधाहरू हो सुन ! सारा यी जनता रुवाउन खुला हिँड्ने सबैले सुन तिम्रा सामु छ बाघ गर्जन दिने आयु छ केको गुन !!
कलानिधि दाहाल :
रित्ता पेट लिएर भीड गतिला घेराभरी बस्दछन्
कोही गर्छ सिकार टुल्टुल उता आँखा तिखा धस्दछन्।
उफ्री बाघ सिकार गर्छ खुरुरु दौडेर पुग्छन् त्यता
दाह्रा ङिच्च गरी गरी अघि सरी तान्छन् जताका तता !!
मेरो सामु छ एक संसद सफा उस्तै यता छन् जन
जस्ता फाँट चहूर छन् अझ सफा ब्वाँसा हुने दुर्जन!
ब्वाँसाले बरु तान्छ लास र अलि हुन्छन् सफा यी वन
यीभन्दा तल छन् यता सदनमा मान्छे बसेका मन !!
थाप्छन् ढ्वाँङ पुगेर गाउँघरमा दुर्गन्ध हल्ली कर
चिप्ला ओठ फिजाउँछन् बकबके चम्चा बनी सुन्दर !
सोझासामु महान् बनेर मनले आवाज चिल्याउँछन्
आँखा चेतनका भुलेर सजलै यी दुष्ट मौलाउँछन् !!
यो यो गर्छु सकेर गर्छु अझ ऊ आकाश झार्छन् तल
साँच्चै देव झरेछझैँ स्तुति छुटी बन्छन् सबै उज्वल !
मालाले सजिई अवीर तनका छन् बाघका चर्म यी
अर्को भोलि यिनै तिनै जन चुसी छन् जङ्गली धर्म यी !!
किन्ने शक्ति थिएन चप्पल दुई पाउ चिरी चर्चर
फुट्ने हात थिए थिए मयलका धाँजा धुलाम्मे भर !
ऐले दुष्ट यिनै यता महलका उठ्छन् चुलीका चुली
ब्वाँसा छन् सतही उही बरु सधैँ यी दुष्ट छन् काउली !!
सेवाभाव सजाउँदै वदनमा चम्चा चतुरा मुख
भ्रष्टाचार भएर सल्बल सधैँ छन् झल्किने सम्मुख !
बस्छन् झट्ट पुगेर यो सदनमा टेकेर पापी पद
छन् लोभी चतुरा चलाख घरका बन्ने सबै सांसद !!
चुस्ने रक्त जुका जुका घरसुका यी बाग बुट्टे मन
आफ्नै दाजु र भाइका सँग बसी आफ्नै निकाली खुन !
बेच्छन् दाजु र भाइ मित्र सजिलै खै मान्दछन् यी धक
ब्वाँसा चाकडका चलाख घरका निल्ने सबै शावक !!
छैनन् शान्ति कतै अभद्र यिनले डेरा गरेका घर
केही हुन्न विकास दौड यिनका पर्ने भएमा भर !
छन् पत्नी अझ पुत्रसाथ यिनमा शृङ्गारका साधन
सारा रच्न प्रपञ्च ध्यान छ सधैँ सुम्पी सबैका धन !!
सत्ताधार उधार धार सजिने ब्वाँसाहरू हो सुन
नाता चुम्न तयार बार बलिया ब्याधाहरू हो सुन !
सारा यी जनता रुवाउन खुला हिँड्ने सबैले सुन
तिम्रा सामु छ बाघ गर्जन दिने आयु छ केको गुन !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































