साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपता

यिनीहरू जिन्सी पाउँदा पनि उत्तिकै खुशी हुन्छन् । सुन, चाँदी, जग्गा जमिन, घर घडेरी, कृषि फार्म, चिया बगान जे पाए पनि खुशी भएर स्वीकार गर्छन् । यिनलाई नगद भए पनि हुन्छ, जिन्सी भए पनि हुन्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

“नेप” भन्ने एउटा नेपाली शब्द छ । यसको अर्थ धेरैलाई थाहा हुनुपर्छ । थाहा भएर पनि बिर्सिसकेको भए पुनः सम्झिएकै जाती हुन्छ । बृहत् नेपाली शब्दकोशले नेप भनेको “गाउँको जान्ने, सुन्ने व्यक्ति, नाइके” भनेर उल्लेख गरेको छ । गाउँको नाइकेमध्ये पनि सबैभन्दा बढी टाठोबाठो मान्छेलाई “नेप” भन्दै भोट दिएर राज्य सञ्चालन गर्न पठाउने प्रचलन उहिलेदेखि भएको देखिन्छ । यो प्रथा आजसम्म पनि कायम छ । यसरी नाइके छनौट गर्दा विभिन्न विधिहरू अपनाउने गरिन्थ्यो । सबैभन्दा लोकप्रिय विधि प्रत्यक्ष निर्वाचन मानिन्थ्यो ।

यस बाहेक नाइकेका छोरा, छोरी, भाइ भतिजा र आफन्त इष्टमित्रलाई पनि साथीको रूपमा उनीहरू सँगै पठाउनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि एउटा विशेष व्यवस्थाको आरम्भ गरियो । जस अन्तरगत आफ्नो गोजीकाे मान्छेलाई लुसुक्क टिका लगाएर नेप बनाइन्थ्यो । निकै अघि त थाहा पाइएन तर हामीले अलिअलि थाहा पाउँदासम्म यो प्रथालाई “गाउँफर्क“ भनिन्थ्यो । नाम जे दिए पनि त्यो आफ्ना मान्छे, नोकरचाकर र भाइ भतिजालाई टिका लगाएर तान्ने प्रथा थियो । नाम बदलियो, पछि त्यसैलाई पुनः अर्को नाम दिइएको छ । नाम त जे दिए पनि के फरक पर्छ र ? आखिर सबैको सार एउटै हो, आसेपासेलाई ठाउँमा पठाउने परिपाटी । हरेक कालखण्डमा विभिन्न नामबाट यो रहिरहेको छ र रहिरहनु पनि पर्छ ।

अब “ता” को अर्थ हेरौं । ता भनेको प्रत्यय हो । जसलाई मूल शब्दसँग त्यसको पछाडि जोड्ने काम गरिन्छ । यहाँ नेपकै कुरा गरौं । नेपमा ता जोडिएपछि नेपता हुन्छ । मानवको मानवता, नम्रको नम्रता, कोमलको कोमलता भए जस्तै यो नेपको पनि नेपता भएको हो । अनि यिनलाई नेप मात्र नभनेर नेपता भन्न थालिएछ ।

तर नेपता शब्द उच्चारण गर्न त्यति सजिलो भने थिएन । त्यसैले कुनै बेला नेपाली जनजिब्रोले नेपताको प विलुप्त गराएर नेता मात्र उच्चारण गर्न लाग्यो ।

उहिले गाउँ र मुलुकको नेतृत्व गर्ने नेपताहरूको प विलुप्त भएपछि आजभोलि तिनै नेतृत्व गर्नेहरू एकाएक नेपताबाट नेता बन्न पुगे । फरक यतिमात्र हो, जबसम्म यी नेपता थिए लाटा थिए, सामान्य जनतासँग पनि डराउँथे । दरबार र शहरको घरबार देखे पनि डराउँथे । नीति नियममा बाँधिएका हुन्थे । धर्म संस्कृति र परम्परासँग पनि झसङ्ग हुन्थे । व्यक्तिगत होइन, जनताको काम गर्नु पर्थ्यो । भनिन्थ्यो, यिनले कमाउन पनि खासै जानेका थिएनन् । न अहिले जस्तै रमाउन जानेका थिए ! तसर्थ नेपता हुन पाउँदा पनि यिनले खासै मोज गर्न नजानेका हुन् भन्ने हल्ला चलेको थियो । त्यसैले यिनीहरू प्रतिनिधि मात्र मानिन्थे ।

यिनै नेपताहरू जनताको सेवा गर्ने उद्धेश्यले गाउँबाट छनौट भएर शहर जान्थे । तोकिएको कार्यकाल सकिए लगतै पुनः गाउँमा फर्कन्थे । त्यतिबेला पनि साइड विजनेश गर्ने ठाउँ त हुँदो हो तर तिनले त्यसको सदुपयोग गर्न त्यति मेसो पाएनन् क्यारे । हुनसक्छ अचेल जस्तै कुनै साइड बिजनेस गर्ने प्रचलन सायद थिएन होला । कहाँका लाटाहरू, कमसेकम मौकामा चौका हान्न त जान्नु पर्थ्यो नि ! ठाउँमा पुगेको बेला कमाउनुपर्छ भन्ने पनि नजान्ने नामर्दहरूलाई बेकारमा नेपता छान्ने चलन चलेको रहेछ ! त्यसबेलाका मान्छेहरू कति अशिक्षित र अज्ञानी थिए भन्ने कुरा यसैबाट पुष्टि हुन्छ । हुन त त्यसबेला डराउने चिजहरू ठाउँ ठाउँमा हुन्थ्यो ।

समय परिवर्तन भयो, सबै विद्वान भए, टाठाबाठा भए । यिनको मनबाट डर भन्ने कुरा झिकियो । जब प निकालेर नेपता शब्दलाई रातारात नेतामा परिवर्तन गरियो । त्यसपछि भने तिनमा हुने अशिक्षितपन नामर्दीपन र लाटोपन स्वाट्टै हराएर गयो । बल्ल यी रातारात टाठाबाठा भए । अनिमात्र यिनीहरू मौकामा चौका हान्न खप्पिस भए । कसरी कमाउने, कमाएको कसरी समाउने, समाएपछि कसरी रमाउने भन्ने विद्यामा पारङ्गत भए । तिनै नेपता जब नेता बने शब्दकोषले पनि नेपतामा नभएको अलङ्कार नेतामा थपिदियो । यसपछि यिनीहरू अगुवा मात्र होइन, ‘मालिक’ बने ।

नेपतालाई अगुवा मानिरहेको हामीले नेतामा रूपान्तरण भएपछि यिनलाई अगुवा मात्र होइन, ‘मालिक’ भन्ने बुझ्यौं र मालिककै रूपमा मान्न थाल्यौँ । आखिर यिनले पनि त नाम अनुसारको काम गर्नै पर्‍यो !

जहाँसम्म लाग्छ, नेपताको बीचमा भएको “प” हराएपछि, श्री पाँच, गाउँ पञ्चायत, नगर पञ्चायत, राष्ट्रिय पञ्चायत सबैको अस्तित्व समाप्त भएको हुनुपर्छ । त्यसपछि प जोडिएका सबै शब्दहरू एकाएक अस्तित्वविहीन हुन थालेका हुनसक्छ ! नेता नभनेर नेपता रहिरहेको भए यसरी सबै प हराउने थिएनन् होला । जब प भएको शब्द अर्थहिन हुन थाल्यो म पनि पहिले जस्तै चिरञ्जीवीप्रसाद रहिरहन सकिनँ । चिरञ्जीवी मात्र हुनु परेको छ ।

हुन त प सँगै भइदिएको भए यति विघ्न स्वतन्त्रता पाइँदैन थियो होला । एक हिसावले यसलाई राम्रो मान्नुपर्छ । होइन भने प सँगै भएको प्रधानपञ्च र प नभएको अहिलेका मेयरहरूलाई हेरौँ त, कति अन्तर पाइन्छ । नेपता छउन्जेल भ्रष्टाचार गर्न डराउनेहरू नेता बन्नासाथ डर नमानी भ्रष्टाचार गर्न थालेका छन् । नेपता र नेता बीचको सबैभन्दा ठूलो अन्तर यही हो । यस्तो स्वतन्त्रता उहिले पाउन पाएको भए, आहा कति जाती हुन्थ्यो ।

अगुवा भएपछि भ्रष्टाचार गर्न, कमिसन खान, तस्करी गर्न मात्र होइन अनैतिक मानिएका कुनै काम गर्न मिल्दैन भनिन्थ्यो । जब नेपताको प हराएर नेता मात्र बाँकी भयो ती सबै छुट गरियो । अचेल ढुक्कसँग मनको इच्छा पुरा गर्न पाइन्छ । यो हो नि, स्वतन्त्रता भनेको !

त्यसैले झिक्ने राख्ने कुरामा निकै विचार पुर्याएर मात्र निर्णय लिनु पर्ने रहेछ । नेताको प उहिल्यै झिक्न पाएको भए यो देशमा एकजना पनि गरिब बाँकी रहने थिएनन् । सबै धनी हुने थिए पालैपालो ।

जबसम्म नेपता भनिन्थ्यो, को सिंहदरबार छिर्‍यो, कहिले छिर्‍यो, कसरी छिर्‍यो, किन छिर्‍यो सामान्य जनताले सुइँको पनि पाउँदैन थिए । थाहा पनि कसरी पाउनु, न यिनलाई गाउँ आउँदा हजार किलोको माला लगाइदिनु पर्थ्यो, न झण्डा बोकेर जुलुसमा जानु पर्थ्यो ! न बानेश्वर, सिंहदरबार तिर अहिले जस्तो भालेजुधाई नै हेर्न पाइन्थ्यो !

कि त यिनीहरू सिंहदरबार र राजदरबार मात्र ओहोरदोहोर गर्थे, कि जिल्लातिर आउँदा हामीले थाहा पाउँदैन थियौँ, त्यति मेसो भएन । जब तिनै नेपताहरू रातारात नेता बने, त्यसपछि भने सिंहदरबारमा को छिर्‍यो मात्र होइन, कसरी छिर्‍यो ? गेट बाहिर को पछारियो ? को को मिलेर पछारे ? कसले कसलाई काँधमा बोकेर भित्र्यायो, काँधबाट को खस्यो ? अब खस्ने पालो कसको हो ? कसले कतिखेर काँध फेर्‍यो ? अब कति बेला काँध फेरिन्छ ? दुर दराजमा बसेर पनि ऐना हेरे जस्तै छर्लङ्ग देख्न पाइन्छ । मानौं दरवार भित्र हास्यव्यङ्ग्य र प्रहसन भइरहेको छ, हामी भने सोही प्रहसन हेरेर मनोरञ्जन लिइरहेका छौँ । यस्तो पारदर्शी पो हुनुपर्छ त !

देशमा पार्टीहरुले राज गर्न थालेपछि कुनै पनि पार्टीले जनताको मन जित्न सकेनन् भन्ने नचाहिँदो हल्ला चल्दा भने मेरो चित्त बुझ्दैन । जनताको मन यिनले किन जितेका छैनन् ? नजितेको भए गम्भीर प्रकृतिको अभियोग लागेका नेताहरूलाई लगभग आधाजसो जनताले जयजयकार गरेको सुन्न र देख्न पाइन्थ्यो र ?

यिनले जनताको मन सहजै जित्ने गरेका छन् । प्रायः यिनीहरू एकदम इमान्दार हुन्छन् । त्यसैले धन चाहियो, कमाउनु पर्‍यो, कमिसन खानु पर्‍यो भने नगद मात्र खोजेर निहुँ खोज्दैनन् । यिनीहरू जिन्सी पाउँदा पनि उत्तिकै खुशी हुन्छन् । सुन, चाँदी, जग्गा जमिन, घर घडेरी, कृषि फार्म, चिया बगान जे पाए पनि खुशी भएर स्वीकार गर्छन् । यिनलाई नगद भए पनि हुन्छ, जिन्सी भए पनि हुन्छ । कति जाती जे पाए पनि सजिलै चित्त बुझाउँछन् ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x