चिरञ्जीवी दाहालनेपता
यिनीहरू जिन्सी पाउँदा पनि उत्तिकै खुशी हुन्छन् । सुन, चाँदी, जग्गा जमिन, घर घडेरी, कृषि फार्म, चिया बगान जे पाए पनि खुशी भएर स्वीकार गर्छन् । यिनलाई नगद भए पनि हुन्छ, जिन्सी भए पनि हुन्छ ।

चिरञ्जीवी दाहाल :
“नेप” भन्ने एउटा नेपाली शब्द छ । यसको अर्थ धेरैलाई थाहा हुनुपर्छ । थाहा भएर पनि बिर्सिसकेको भए पुनः सम्झिएकै जाती हुन्छ । बृहत् नेपाली शब्दकोशले नेप भनेको “गाउँको जान्ने, सुन्ने व्यक्ति, नाइके” भनेर उल्लेख गरेको छ । गाउँको नाइकेमध्ये पनि सबैभन्दा बढी टाठोबाठो मान्छेलाई “नेप” भन्दै भोट दिएर राज्य सञ्चालन गर्न पठाउने प्रचलन उहिलेदेखि भएको देखिन्छ । यो प्रथा आजसम्म पनि कायम छ । यसरी नाइके छनौट गर्दा विभिन्न विधिहरू अपनाउने गरिन्थ्यो । सबैभन्दा लोकप्रिय विधि प्रत्यक्ष निर्वाचन मानिन्थ्यो ।
यस बाहेक नाइकेका छोरा, छोरी, भाइ भतिजा र आफन्त इष्टमित्रलाई पनि साथीको रूपमा उनीहरू सँगै पठाउनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि एउटा विशेष व्यवस्थाको आरम्भ गरियो । जस अन्तरगत आफ्नो गोजीकाे मान्छेलाई लुसुक्क टिका लगाएर नेप बनाइन्थ्यो । निकै अघि त थाहा पाइएन तर हामीले अलिअलि थाहा पाउँदासम्म यो प्रथालाई “गाउँफर्क“ भनिन्थ्यो । नाम जे दिए पनि त्यो आफ्ना मान्छे, नोकरचाकर र भाइ भतिजालाई टिका लगाएर तान्ने प्रथा थियो । नाम बदलियो, पछि त्यसैलाई पुनः अर्को नाम दिइएको छ । नाम त जे दिए पनि के फरक पर्छ र ? आखिर सबैको सार एउटै हो, आसेपासेलाई ठाउँमा पठाउने परिपाटी । हरेक कालखण्डमा विभिन्न नामबाट यो रहिरहेको छ र रहिरहनु पनि पर्छ ।
अब “ता” को अर्थ हेरौं । ता भनेको प्रत्यय हो । जसलाई मूल शब्दसँग त्यसको पछाडि जोड्ने काम गरिन्छ । यहाँ नेपकै कुरा गरौं । नेपमा ता जोडिएपछि नेपता हुन्छ । मानवको मानवता, नम्रको नम्रता, कोमलको कोमलता भए जस्तै यो नेपको पनि नेपता भएको हो । अनि यिनलाई नेप मात्र नभनेर नेपता भन्न थालिएछ ।
तर नेपता शब्द उच्चारण गर्न त्यति सजिलो भने थिएन । त्यसैले कुनै बेला नेपाली जनजिब्रोले नेपताको प विलुप्त गराएर नेता मात्र उच्चारण गर्न लाग्यो ।
उहिले गाउँ र मुलुकको नेतृत्व गर्ने नेपताहरूको प विलुप्त भएपछि आजभोलि तिनै नेतृत्व गर्नेहरू एकाएक नेपताबाट नेता बन्न पुगे । फरक यतिमात्र हो, जबसम्म यी नेपता थिए लाटा थिए, सामान्य जनतासँग पनि डराउँथे । दरबार र शहरको घरबार देखे पनि डराउँथे । नीति नियममा बाँधिएका हुन्थे । धर्म संस्कृति र परम्परासँग पनि झसङ्ग हुन्थे । व्यक्तिगत होइन, जनताको काम गर्नु पर्थ्यो । भनिन्थ्यो, यिनले कमाउन पनि खासै जानेका थिएनन् । न अहिले जस्तै रमाउन जानेका थिए ! तसर्थ नेपता हुन पाउँदा पनि यिनले खासै मोज गर्न नजानेका हुन् भन्ने हल्ला चलेको थियो । त्यसैले यिनीहरू प्रतिनिधि मात्र मानिन्थे ।
यिनै नेपताहरू जनताको सेवा गर्ने उद्धेश्यले गाउँबाट छनौट भएर शहर जान्थे । तोकिएको कार्यकाल सकिए लगतै पुनः गाउँमा फर्कन्थे । त्यतिबेला पनि साइड विजनेश गर्ने ठाउँ त हुँदो हो तर तिनले त्यसको सदुपयोग गर्न त्यति मेसो पाएनन् क्यारे । हुनसक्छ अचेल जस्तै कुनै साइड बिजनेस गर्ने प्रचलन सायद थिएन होला । कहाँका लाटाहरू, कमसेकम मौकामा चौका हान्न त जान्नु पर्थ्यो नि ! ठाउँमा पुगेको बेला कमाउनुपर्छ भन्ने पनि नजान्ने नामर्दहरूलाई बेकारमा नेपता छान्ने चलन चलेको रहेछ ! त्यसबेलाका मान्छेहरू कति अशिक्षित र अज्ञानी थिए भन्ने कुरा यसैबाट पुष्टि हुन्छ । हुन त त्यसबेला डराउने चिजहरू ठाउँ ठाउँमा हुन्थ्यो ।
समय परिवर्तन भयो, सबै विद्वान भए, टाठाबाठा भए । यिनको मनबाट डर भन्ने कुरा झिकियो । जब प निकालेर नेपता शब्दलाई रातारात नेतामा परिवर्तन गरियो । त्यसपछि भने तिनमा हुने अशिक्षितपन नामर्दीपन र लाटोपन स्वाट्टै हराएर गयो । बल्ल यी रातारात टाठाबाठा भए । अनिमात्र यिनीहरू मौकामा चौका हान्न खप्पिस भए । कसरी कमाउने, कमाएको कसरी समाउने, समाएपछि कसरी रमाउने भन्ने विद्यामा पारङ्गत भए । तिनै नेपता जब नेता बने शब्दकोषले पनि नेपतामा नभएको अलङ्कार नेतामा थपिदियो । यसपछि यिनीहरू अगुवा मात्र होइन, ‘मालिक’ बने ।
नेपतालाई अगुवा मानिरहेको हामीले नेतामा रूपान्तरण भएपछि यिनलाई अगुवा मात्र होइन, ‘मालिक’ भन्ने बुझ्यौं र मालिककै रूपमा मान्न थाल्यौँ । आखिर यिनले पनि त नाम अनुसारको काम गर्नै पर्यो !
जहाँसम्म लाग्छ, नेपताको बीचमा भएको “प” हराएपछि, श्री पाँच, गाउँ पञ्चायत, नगर पञ्चायत, राष्ट्रिय पञ्चायत सबैको अस्तित्व समाप्त भएको हुनुपर्छ । त्यसपछि प जोडिएका सबै शब्दहरू एकाएक अस्तित्वविहीन हुन थालेका हुनसक्छ ! नेता नभनेर नेपता रहिरहेको भए यसरी सबै प हराउने थिएनन् होला । जब प भएको शब्द अर्थहिन हुन थाल्यो म पनि पहिले जस्तै चिरञ्जीवीप्रसाद रहिरहन सकिनँ । चिरञ्जीवी मात्र हुनु परेको छ ।
हुन त प सँगै भइदिएको भए यति विघ्न स्वतन्त्रता पाइँदैन थियो होला । एक हिसावले यसलाई राम्रो मान्नुपर्छ । होइन भने प सँगै भएको प्रधानपञ्च र प नभएको अहिलेका मेयरहरूलाई हेरौँ त, कति अन्तर पाइन्छ । नेपता छउन्जेल भ्रष्टाचार गर्न डराउनेहरू नेता बन्नासाथ डर नमानी भ्रष्टाचार गर्न थालेका छन् । नेपता र नेता बीचको सबैभन्दा ठूलो अन्तर यही हो । यस्तो स्वतन्त्रता उहिले पाउन पाएको भए, आहा कति जाती हुन्थ्यो ।
अगुवा भएपछि भ्रष्टाचार गर्न, कमिसन खान, तस्करी गर्न मात्र होइन अनैतिक मानिएका कुनै काम गर्न मिल्दैन भनिन्थ्यो । जब नेपताको प हराएर नेता मात्र बाँकी भयो ती सबै छुट गरियो । अचेल ढुक्कसँग मनको इच्छा पुरा गर्न पाइन्छ । यो हो नि, स्वतन्त्रता भनेको !
त्यसैले झिक्ने राख्ने कुरामा निकै विचार पुर्याएर मात्र निर्णय लिनु पर्ने रहेछ । नेताको प उहिल्यै झिक्न पाएको भए यो देशमा एकजना पनि गरिब बाँकी रहने थिएनन् । सबै धनी हुने थिए पालैपालो ।
जबसम्म नेपता भनिन्थ्यो, को सिंहदरबार छिर्यो, कहिले छिर्यो, कसरी छिर्यो, किन छिर्यो सामान्य जनताले सुइँको पनि पाउँदैन थिए । थाहा पनि कसरी पाउनु, न यिनलाई गाउँ आउँदा हजार किलोको माला लगाइदिनु पर्थ्यो, न झण्डा बोकेर जुलुसमा जानु पर्थ्यो ! न बानेश्वर, सिंहदरबार तिर अहिले जस्तो भालेजुधाई नै हेर्न पाइन्थ्यो !
कि त यिनीहरू सिंहदरबार र राजदरबार मात्र ओहोरदोहोर गर्थे, कि जिल्लातिर आउँदा हामीले थाहा पाउँदैन थियौँ, त्यति मेसो भएन । जब तिनै नेपताहरू रातारात नेता बने, त्यसपछि भने सिंहदरबारमा को छिर्यो मात्र होइन, कसरी छिर्यो ? गेट बाहिर को पछारियो ? को को मिलेर पछारे ? कसले कसलाई काँधमा बोकेर भित्र्यायो, काँधबाट को खस्यो ? अब खस्ने पालो कसको हो ? कसले कतिखेर काँध फेर्यो ? अब कति बेला काँध फेरिन्छ ? दुर दराजमा बसेर पनि ऐना हेरे जस्तै छर्लङ्ग देख्न पाइन्छ । मानौं दरवार भित्र हास्यव्यङ्ग्य र प्रहसन भइरहेको छ, हामी भने सोही प्रहसन हेरेर मनोरञ्जन लिइरहेका छौँ । यस्तो पारदर्शी पो हुनुपर्छ त !
देशमा पार्टीहरुले राज गर्न थालेपछि कुनै पनि पार्टीले जनताको मन जित्न सकेनन् भन्ने नचाहिँदो हल्ला चल्दा भने मेरो चित्त बुझ्दैन । जनताको मन यिनले किन जितेका छैनन् ? नजितेको भए गम्भीर प्रकृतिको अभियोग लागेका नेताहरूलाई लगभग आधाजसो जनताले जयजयकार गरेको सुन्न र देख्न पाइन्थ्यो र ?
यिनले जनताको मन सहजै जित्ने गरेका छन् । प्रायः यिनीहरू एकदम इमान्दार हुन्छन् । त्यसैले धन चाहियो, कमाउनु पर्यो, कमिसन खानु पर्यो भने नगद मात्र खोजेर निहुँ खोज्दैनन् । यिनीहरू जिन्सी पाउँदा पनि उत्तिकै खुशी हुन्छन् । सुन, चाँदी, जग्गा जमिन, घर घडेरी, कृषि फार्म, चिया बगान जे पाए पनि खुशी भएर स्वीकार गर्छन् । यिनलाई नगद भए पनि हुन्छ, जिन्सी भए पनि हुन्छ । कति जाती जे पाए पनि सजिलै चित्त बुझाउँछन् ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest






































