खगेन्द्र नेउपानेवाह् ! क्या राम्राे उपरखुट्टी
राजनीतिक पदमा छिरेपछि मञ्चमा बाेलाइहाल्छन् खादा बिल्ला भिरेपछि ठ्यास्स साेफामा बस्नुपर्छ खुट्टामाथि खुट्टा कस्नुपर्छ अनि हुन्छ वाह् ! क्या राम्राे उपरखुट्टी !

खगेन्द्र नेउपाने :
कति राम्राे उपरखुट्टी
एउटा खुट्टीकाे उपर अर्काे खुट्टी
एउटालाई मरुन्जेल भारी बाेकाएर
अर्काेलाई आराम गर्न छुट्टी
वाह् ! क्या राम्राे उपरखुट्टी ।
मञ्चमा चढाइसकेपछि
खुट्टा चढाउँन पाइन्छ
कहिलेकाहिं पद भुल्याे भने
उद्घाेषककाे साताे बाेलाइन्छ
राजनीतिक मान्छेलाई मात्रै कुर्सी चाहिन्छ
मञ्च चढेपछि ढक्क उपरखुट्टी लगाइन्छ
वाह् ! क्या राम्राे उपरखुट्टी !
यतिकाे लागि त राजनीति गरेकाे
कहिले याे पार्टी र कहिले उ पार्टीमा सरेकाे
पदकाे लागि धेरैपल्ट रस्साकस्सी परेकाे
कहिले ओैकातबाट तल झरेकाे
माला र मञ्चकाे लागि मरेकाे
वाह् ! क्या राम्राे उपरखुट्टी !
भाषा संगाेष्ठीहरुमा पनि राजनैतिक उपरखुट्टी
साहित्य संगीत र कलामा
संस्कृृति र जीवन दर्शनमा
बँचाइकाे सेवामा
मृत्युपछिकाे घेवामा
आसन र भासनकाे लर्काे
श्राेताहरुलाई छट्पटी र उमर्काे
टाउका माथि चस्मा चढाउनेहरुकाे
मञ्चमा फूर्ती लडाउँनेहरुकाे
नपाउन्जेल कति गाह्राे र हुट्हुटी
पाएपछि
वाह् ! क्या राम्राे उपरखुट्टी ।
गर्न त कस्ले पाे के गरेकाे छ ?
चाप्पचुप्प मिटिङ बैठक चरेेकाे छ
पद र पावरकाे लागि मरिहत्ते गरेकाे छ
आफ्नालाई फाइदा पुर्याउँन लागिपरेकाे छ
कहिलेकाही माैका मिल्दा
माइक फुट्नेगरी भाषण गरेकाे छ
बस यत्ति हाे
राजनीतिक पदमा छिरेपछि
मञ्चमा बाेलाइहाल्छन्
खादा बिल्ला भिरेपछि
ठ्यास्स साेफामा बस्नुपर्छ
खुट्टामाथि खुट्टा कस्नुपर्छ
अनि हुन्छ
वाह् ! क्या राम्राे उपरखुट्टी !
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































