अशोककुमार शिवाल-सुन सरकार
ल सुन सरकार लसुन सुने सुन नसुने नसुन तर लसुन के सरकार ! जाबो लसुनको दाम सुनेर म तीनछक्क परें । नब्बे रूपैया पाउ आम्मामा के हो यो लसुन सुन हो र ?

अशोककुमार शिवा :
सरकार भनेर ठूलाबडालाई अनि अलि हैकम छाट्नेहरूलाई किन भनिन्छ भन्ने आफू झिनामसिनालाई पटक्कै थाहा थिएन । जब अलि बुझ्ने भइयो तब सरकार त राजामहाराजालाई भनिदोरहेछ भन्ने बुझियो र कसैले सरकार भनेको सुनियो भने कतै राजामहाराजाको सवारी त भएन भन्ने कौतुहलता जाग्थ्यो । एक जमाना थियो रे सरकारहरूको दरकार भयंकर नै थियो रे । मेरो पालाको सरकारको दरकार खासै ठूलो त थिएन तर सरोकारवालाहरूले त्यस्लाई ठूलो नै ठान्ने गर्थे । एकथरी कहिले मौका आउला र यी सरकारलाई मरक्क मर्काएर व्यवस्था फरक्क फर्काउला भनेर कुनाकानी दुनोदानी ककफाईट सिकाउदै बस्थे । समय पनि दैवले ल्याइदियो गोरु व्यायो ।
व्यवस्था फरक्क पारेर लरक्क लर्कने लाहुरेहरू मैदानमा परेड खेल्न थाले । सबैतिर आफ्नो कुन्तुरो पन्तुरो कसेपछि अब सरकार यिनमा सर्यो । हामी फोहोरमा फलेको मुलाजस्तै हौसियौ । वरिपरी फोहोर भए पनि हौसेको मुला लोभलाग्दै हुन्छ । बिस्तारै बिस्तारै सरकारले आफ्नो असली चाउरिएको अनुहार र दाउरिएको सरीर तन्दुरुस्त पार्न थाल्यो । तन्दुरूस्तीको लागि अर्थोपार्जनको बाटो खोज्ने क्रममा सबैभन्दा सजिलो बाटो टेबुलमुनिबाट खनियो र धमाधम त्यसबाटोबाट हिँड्न थाले । सरकार बलियो हुँदै गयो ।
नूनदेखि सुनसम्म आयात गर्नुपर्ने देशका हामी जनता सरकारको ह्रृष्ठपुष्टता हेरेर दंगदास पर्न थालियो । नून नूनिलो हुनाले धेरै प्रयोग नहुने रहेछ त्यति अभाव हुने कुरा भएन तर सुन बजिया सारै गुनिलो हुनेरहेछ जो पनि सुन सुन भन्दै जप लगाउन थाले कसैले बोरामा हालेर पूजा नै लगाए कसैले के गरे बिचरा भरिया स्वास्नीलाई किनिदिउँला फरिया भनेर मख्ख पर्दै नाम्लो के लगायो गयो जिन्दगी । तर यी सरकारका सरोकारितहरू यिनै भरियालाई फसाउॅदै आफू पहेलपुर बनिरहे । सुन्दैछु स्वीजरल्याण्डसम्म घुम्न पुगेको छ रे नेपालको सम्पत्ती, कम्बोडियोमा पनि हेलो हेलो गर्दैछ रे । हुन त ५२/५३ सालमा पश्चिमतिर नजर लगाउँदा देखेको महाकालीले राम्रो आम्दानी गराएकै हो त्यो कता नेपालमा राख्नु मिलोस् ।
बालुवाटारमा अड्डा किन बनाए होलान् भनेको बालुवामा पानी खनाउन पो रहेछ । बलुवामा जति पानी खनाए पनि देखिने होइन । कता छिर्छ कता बेपत्ता । सम्झेर ल्याउँदा बिरक्त लाग्छ यस्तो देख्न किन जिउज्यान लगाइयो होला ? पतर पतर बोल्नु पाउनु मात्रै उपलव्धी ठान्नु मलाई उचित लागेन । मुखमा माड लगाउन यति गाह्रो पर्न लाग्यो कि कुरा नगरौँ । वैदेशिक रोजगारी र रोजगारले पठाएको रेमिटान्सले कहिलेसम्म पुराउने हो ? कृषि प्रधान देश बाझो प्रधान भैसक्यो खेती कमाई कस्ले गर्ने ? युवाजति विदेश बुढापाकाले कसरी बाँझो फुटाउन करेसो खन्न सक्न छाडिसकेका बिचराहरू ।
बिहान बेलुका तरकारी के खाने भनेर दिनदिन पिरोल्लिनु पर्छ । जाबो हरियो परियो तरकारी पनि छिमेकीकोबाट ल्याएर महंगो दाम तिरेर खानुपर्छ । त्यो पनि रसायन मिश्रित । सरकार खाली सुन हेर्ने जनताको गुन र खाएको नून कहिले नसम्झिने । जनतालाई सुखसुबिधा दिने कुरा त परै जाओस् कताबाट कर बढाउने र अर्थोपार्जनको मार्ग प्रसस्त गर्ने भन्नेमा मात्रै केन्द्रित ।
जग्गा कारोवार गर्ने कार्यालयलाई मालपोत भनेर जसरी सुस्पष्ट पारिएको छ नि सबै तिरको नामलाई पुनरबिचार गर्नुपर्ने हो कि ? मालपोत नामै काफि माल लैजाउ पोतेर आउ । ल सुन सरकार लसुन सुने सुन नसुने नसुन तर लसुन के सरकार ! जाबो लसुनको दाम सुनेर म तीनछक्क परें । नब्बे रूपैया पाउ आम्मामा के हो यो लसुन सुन हो र ? गाह्रो छ ! सरकारलाई लसुनको मतलब छैन तर सुनको मतलब छ । मलाई लाग्छ लसुन खेती गर्न अरु खेती भन्दा सजिलो छ तर किन लसुन खेती गरिँदैन । कृषि सरकार कता के खेती लगाउदै छ ? अदुवाको भाउ पनि उस्तै छ । देशबासी हामी कसरी जिउने हो ? ल-सुन सरकार लसुन । सुने सुन नसुने नसुन ।
०००
गल्कोपाखा, काठमाण्डौ ।
२०८१/०९/१६
Subscribe
Login
0 Comments
Oldest








































