प्रेम ओली ढकलपुरेमास्टर्नी उर्फ देवका मिस
नमस्कार सिकाएर पठाएकाहरूले जाने हुन्थ्यो नमस्कार गर्न सिर्फ यत्ति सोचेर आफ्नो सम्पूर्ण ऊर्वर समय कक्षाकोठामा खर्चिरहेकी म उही क्या बुढी मास्टर्नी उर्फ देवका मिस !

अमला अधिकारी :
नमस्कार !
म मास्टर्नी उर्फ देवका मिस
वर्षौँ भयो म मास्टर्नी भएको
मास्टर्नी भएकै कारण
म असल छोरी हुन सकिन
म आज्ञाकारी बुहारी हुन सकिन
म मायालु पत्नी हुन सकिन
म सफल आमा हुन सकिन
अझ यो बौद्धिक समाजले मलाई नै भन्छ
‘लोकसेवा पास गर्न नसकेर मास्टर्नी भएकी !’
म भन्छु, ‘म मास्टर्नी भएर नै
यो समाज सबथोक भएको
मैले केही नजानेर नै
यो समाज यति जान्ने भएको
अरूलाई अरू धेरै बनाउँदाबनाउँदै
आफू आफैँ हुन नसकेकी
म मास्टर्नी उर्फ देवका मिस ।’
चारोसमेत टिप्न नजानेका बचेराजस्ता
कैयौँ नानीहरू आए
अक्षर टिप्नसक्ने भएर गए
मेरै कर्मको कारखानाबाट ।
मेरै पाइला पछ्याउँदै हिँड्न सिकेकाहरू
विश्वभ्रमणमा निस्किसके
मेरै शब्द टिपेर हिँडेकाहरूले
शब्दकोश निर्माण गरिसके
उनीहरूको खुसीमा खुसी भएको मुस्कान
बुढो भइसक्यो कि तरुनै छ
उनीहरूका दुःखमा रुझेका परेलाहरू
चिम्सा भइसके कि पोटिलै छन्
यति पनि हेर्न जान्दिन
बस् यत्ति जान्दछु
क पछि ख आउँछ
एकमा एक जोड्दा दुई हुन्छ ।
मेरो यौवनको रापिलो घाममा
कैयौँका भविष्यको बिस्कुन सुक्यो
मेरा कुमारी रहरहरूसँग
कैयौँले लक्कु ढलाइ र नेताचिनी खेले
मेरै उमेरको काँध चढेर
कैयौँको विद्वता तन्नेरी भयो
ओ समाजका बौद्धिक वर्ग !
तिम्रो बौद्धिकताको अग्लो पर्खालको
जगमा पनि
यिनै साना अक्षर र अङ्क त होलान् नि होइन र ?
उडेपछि बचेराले
नबिर्से हुन्थ्यो गुँड
फुलेपछि कोपिलाले
नभुले हुन्थ्यो माली
नमस्कार सिकाएर पठाएकाहरूले
जाने हुन्थ्यो नमस्कार गर्न
सिर्फ यत्ति सोचेर
आफ्नो सम्पूर्ण ऊर्वर समय
कक्षाकोठामा खर्चिरहेकी
म उही क्या
बुढी मास्टर्नी उर्फ देवका मिस !
०००







































उक्ति वैचित्र्य