कलानिधि दाहालसावन !!
हरिया कपडा लाऊँ हरिया पदचापमा राखूँ पाउ जता टेक्छु हरिया छापछापमा ! छिद्रान्वेष हटुन् जम्मै धर्मभेष हटुन् पर साउन मासको मौका मन सुन्दर सुन्दर !!

कलानिधि दाहाल
श्रावणको छ यो सारै मनमोहक मौसम
हेर्दै दृश्यसँगै लाग्छ मिसाऊँ यसमै मन !
न बाढी बाढ दौडन्छन् उचाली घरका छत
न चर्का घामले पोल्छ बादलुको धरा पथ !!
यो बेला मनमा साँच्चै लाऊँ ह्यूँचुलिका चुला
सिङ्गै सजूँ बनी अग्लो हिमभन्दा अझै कला !
कलाकार कलाजस्ता हउन् हिम्मतका धनी
जम्मै साउनमै रोपुन् मन यो दिव्यको बनी !!
तृष्णाका तार काटेर टुक्रा टुक्रा छरौँ पर
अज्ञानका सबै झिल्का खरानीका बनुन् घर !
घृणा घाउ बसुन् खाटा टाटा टावर भत्किउन्
साउनझैँ सदावर्त हरिया मनमा रमुन् !!
न हिलो श्रमको खेल्नु पर्छ अल्छे उङी कतै
न छन् हतारका हावा छेलिनु पर्छ क्वै कतै !
न दिक्कका कुनै दाग कन्दनी टाँसिने कतै
साउनझैँ सखा खोलुन् हरियाली जताततै !!
म प्रेम पहिलो गीत सिर्जना छाल छल्किऊँ
तरङ्गका झिकी रङ्ग सदावहार टल्किऊँ!
एउटा ह्वैन लाखौँमा गरूँ खेती म सिर्जना
सिर्जनाकै बनाएर सही छापमै छापका मुना !!
हल्कूँ हलक्कमा बढ्दै लहलहाउँदै झुलूँ
कोपिलामा पला रोपी पलकै पलमा खुलूँ !
विश्वासका गराभित्र अङ्कुराऊँ म उन्नत
साउनझैँ सबै सामु छहारीका बनूँ छत !!
हरिया कपडा लाऊँ हरिया पदचापमा
राखूँ पाउ जता टेक्छु हरिया छापछापमा !
छिद्रान्वेष हटुन् जम्मै धर्मभेष हटुन् पर
साउन मासको मौका मन सुन्दर सुन्दर !!
बाहिरी बोल हो जस्तो त्यस्तै होस् दिल अन्तर
चिनूँ चिन्न सकूँ सारा मानवी मनका घर !
अटाऊँ दिलमा छाल छताछुल्ल छ सागर
जस्तो साउन यो उस्तै हरियाली कला घर !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































