रमेश समर्थनसमर्थन बेकार
त्यसै वेला फाेनकाे घन्टी बज्याे किर्र किर्र । उनले फाेन गर्नेसित रिसाउँदै फाेन उठाए । फाेन गर्नेले आधा घण्टा स्वाहा पारिदियाे । जब उनी पुनः लेख्न बसे न मुक्तक, न गजल, न कविता, न कथा न उपन्यास !

रमेश समर्थन :
समर्थन राम्रै साहित्यकार मानिन्थे । कनिकुथि लेख्थे तर एकदुई रचनाले प्रशंसा पनि पाएका थिए ।
प्रतिभाहीन नै त भन्न नमिल्ने तर खासै प्रतिभाशाली पनि हाेइनन् । छिप्छिपे ज्ञान पनि थियाे र अभ्यास पनि गरिरहन्थे तर उनकाे अभ्यास त्यस्तै थियाे जस्ताे भूमिगत पानीका निम्ति सय हात खन्नेले तेर्साे सय हात खनेर पानी खाेज्छ । काेलमा घुम्ने गाेरुझैं हिँडिरहन्थे तर जहाँकाे त्यहीँ ।
“अब त याे उपन्यास पूर्ण गरेर छाड्छु । धेरै भयाे ।” यति भन्दै उनी अपूर्ण उपन्यास पूर्ण गर्न बसे । एउटा परिच्छेदमा घटना अघि बढाउँदै थिए, सहसा विचारमा एउटा कथाकाे विषय आयाे । उनले साेचे, उपन्यासकाे विषय त कहाँ गएकाे छ र ? कथाकाे विषय त बिर्सिन सकिन्छ । अनि उनी कथा लेख्न बसे ।
कहाँबाट थाल्ने, कसरी द्वन्द्व ल्याउने र कसरी समापन गर्ने भन्ने साेच्न नपाउँदै एउटा कविताकाे विषय मस्तिष्कमा आयाे ।
“आ…! कि कैयौं दिनसम्म केही आउँदैन कि तँछाडमछाड छ ।” उनले कथालाई पन्छाए र कविता लेख्न बसे । लेख्दै जाँदा एउटा शब्द यस्ताे आयाे जुन गजलका लागि उपयुुक्त काफिया हुन सक्थ्याे र त्यससँग मिल्दाे एउटा मिसरा पनि फुरिहाल्याे । पछि बिर्सन सकिन्छ भनेर उनले त्याे मिसरा टिपे । त्यति गर्दासम्म उनलाई लाग्याे यसबाट त दमदार मुक्तक पाे बन्छ अनि मुक्तकतिर लागे ।
त्यसै वेला फाेनकाे घन्टी बज्याे किर्र किर्र । उनले फाेन गर्नेसित रिसाउँदै फाेन उठाए । फाेन गर्नेले आधा घण्टा स्वाहा पारिदियाे । जब उनी पुनः लेख्न बसे न मुक्तक, न गजल, न कविता, न कथा न उपन्यास ! सबै विषय उडिसकेका थिए र समर्थन बेकार भइसकेका थिए ।
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest








































