भीमप्रसाद लामिछानेमरन्च्याँसे उखान
यसै कारण हाम्रो नेपाङ्ग्रेजी बोली र पोशाक सुहाउँदो उखान हामीले बोल्नुपर्छ । यसै उद्देश्यते यो प्रस्ताव राखेको छु । अब हामी सबै नेपाङ्ग्रेजहरूले पुराना उखानको सट्टा आधुनिक उखानहरू बोलेँ ।

भीमप्रसाद लामिछाने :
आजको युगमा नाउँ कमाउन सबै जना आ-आफ्नो डम्फु बजाउनमा व्यस्त छन् । कोही नेता भइटोपल्छन् त कोही लेता, भएन फेरि कोही साहित्यकार त कोही कलाकार । त्यसो भए मैले के अनि कस्तो गरू जसबाट जतिसक्दो चाँडो नाम, दाम, माम र कामको समस्या समाधान हुन सकोस् । कहिलेकाहीँ लाग्छ म पनि पहेंला, राता, काला लुगा धारण गरी भविष्यवाणी फलाकेर, भए-नभएকা भाउँता लाइदिएर धन भएका तर बुद्धि नभएकाको बुद्धि र धन भुटौं कि ? तर त्यो त कुनै रचनात्मक कार्य भएन। म जस्तो परम समाज सुधारक, परोपकारीते त्यस्तो घीनलाग्दो काम गर्न त अलिक सुहाउँदैन कि ?
इच्छा गरेदेखि मैले पनि त्यस प्रकार तलैतला परेको घर खातैखात धन, तरैतर दूध खान सक्ने थिएँ। तर त्यसो गर्दा मेरो मात्र कल्याण हुने अरुको चाहिँ बुद्धि र धन भुटिने हुनाले म जस्तो सुधारकले सबैको कल्याण हुने कार्यतिर मात्रै ध्यान दिएको छु । हुन त कतिपय यस्ता महात्माहरू पनि देखिएका छन् जसमा परोपकारको भावना रतीभर पनि छैन । केवल आफ्नो दुनो सोझ्याउन पाए उनीहरूलाई पुग्यो । तर दुःखको कुरो त्यस्तै ढोंगी र फटाहाको सम्मान गरिन्छ आज । जेहोस् कसैले कुनै प्रकारले नाम कमाए पनि म त सबैको भलो चिताउने भावना भएको हीरा मान्छे पो त। तपाईं छक्कै पनि पर्नुभयो म कस्तो लाटो मान्छे रहेछु भनेर । तपाईले ठीक विचार गर्नुभयो । हेर्नुहोस् आजको युगमा यदि नाम कमाउनु छ भने आफ्नो प्रशंसा आफैँ गर्नुपर्छ । अर्काले तपाईं नभने पनि आफैँ भए पनि मपाई भन्नुपर्ने समय आयो । आफैं मपाई भने पो अरूले बल्लतल्ल तपाईसम्म त भन्लान् । आफैले तपाईं भन्यो भने त अरूले गन्दा पनि गन्दैनन् । लौ हेर्नुहोस । कस्तो युग आयो । यसैकारण मैले स्वयं आफैंलाई हीराजस्तो मान्छे भनी सम्बोधन गरेको हूँ । आफूले आफैंलाई हीरा भने पो अरूले सुनसम्म त भन्लान् । थाहा पाइहाल्नुभयो होला कुराको कढी ।
अँ, मैले भन्न खोजेको कुरा के त भने मैले आफ्नो नाम कमाउने सजिलो उपाय फेला परेको छ, त्यो के भन्नुहोला भने हामीले वर्षोंदेखि बोल्दै आएका कतिपय उखानहरू साहै निष्क्रिय र युगको दाँजोमा नसुहाउँदा छन् । सक्रिय पो कसरी हउन् ? आजबाट हो र ! ती उखान भनिन थालेको । हामीले कैयौं पुस्तादेखि बोल्दै आइरहेका छौं। कस्तै लाग्ने हतियार त धेरै काममा ल्यायो भने काम नलाग्ने हुन्छ र त्यसलाई फेरि अर्जाप्न र सान लाउनुपर्छ भने बिचरा ती उखानहरूले अब कति सेवा गरुन् ? अब ती उखानहरू बूढा भएर काम नलाग्ने भइसके तर हामी शिक्षित भनाउँदाहरूले चाहिँ उनै बूढा उखानलाई बूढा गोरुलाई जोताएझै जोताइरहेको छौं। त्यो बरा। बूढो गोरुले कति जोत्न सक्ला र त्यसबाट हामीले कति कुरा पाउने आश गर्न सक्छौं र ? यसकारण म त ती बूढा र थोत्रा उखानलाई बटुलबाटुल पारेर कालीगण्डकीमा सेलाएर त्यसको साटो आधुनिक युग सुहाउँदा उखानहरू बनाउने रचनात्मक अनि संशोधनात्मक कार्य गर्ने उद्देश्य लिएर तम्सिएको छु । हामीले मान्दै आएका उखानहरू कत्तिका निस्क्रिय र थोत्रा रहेछन् । त्यसको उदाहरण पनि दिइहालौँ । यति दिनसम्म त हामी ठूलो अन्धकारमा पो रहेछौँ किनभने हामीले जे बोल्दै थियौं, जे देख्दै थियौं त्यो त सब सपना जस्तो पो रहेछ ।
हेर्नुहोस् हामीले मान्दै र भन्दै आएका उखानमध्ये- “लाटा देशमा गए – नबोल्नु, काना देशमा गए आँखा चिम्लनु, हुँडो देशमा गए खुट्टा उचाल्नु” केही हुन् । अरे बाबा । आजको प्रगतिशील युगमा यस्तो भनेर पनि ‘कतै सुहाउँछ । हिजोआज कति पनि गुण नभएका मान्छेले त म यस्तो र उस्तो भन्दछन् । उनीहरूका भए नभएका गुणहरूको प्रशंसा गरिन्छ, दानवलाई देवता भनिन्छ भने ‘लाटा देशमा गएर नबोल्नु, काना देशमा गएर आँखा चिम्लनु, हुँडा देशमा गएर खुट्टा उचाल्नु” भन्नु सरासर अन्याय र चित्त नबुझ्ने कुरो हो । लाटाको समक्ष त बोल्नु पो पर्छ तब पो त्यो लाटो देशमा मान प्रतिष्ठा पाइन्छ, तब पो त सबै लाटाहरूको माझमा आफ्नो डम्फु बजाउन सकिन्छ । बाठाको देशमा धेरै बोल्न थाल्यो भने त लाटो र मूर्ख भइन्छ । यसै प्रकार कानो देशमा गएर दुई आँखाले हेर्नु र हुँडो देशमा गएर दुवै खुट्टाले टेक्नु नै युग सुहाउँदो र उचित कुरा देखिन्छ । ‘लाटो देशमा नबोल्नु” इत्यादि भन्ने उखानले त हामीमा भएका गुणहरू, योग्यताहरूलाई दमन गर्ने प्रेरणा पो दिन्छ जो कि यो युगमा अनि नसुहाउँदो देखिन्छ । यत्ति कुरा पनि तपाईं म जस्ताको गिदीमा नपस्नाले त आजसम्म उही पुराना उखान र कुराहरूलाई तिनको वास्तविक तथ्य नबुझीकन आँखा चिम्लेर बोलिरहेका र समर्थन गरिरहेका रहेछौं।
हामी भन्दछौं- “बोलेको कुरो फर्केर आउँदैन ।” कस्तो अचम्म । आज बीसौँ शताब्दीको वैज्ञानिक मानिस भएर पनि हामीले त्यस्तो उखान बोल्छौं। कति लाज र दुःखलाग्दो कुरो । जता हेन्यो उतै विज्ञानको चमत्कार देख्दादेख्दै पनि हामी उही आँखा चिम्लेर बोल्न र हिँड्न छाडेनौँ। यदि हामीले चिम्लेको आँखालाई उघारेर हेर्ने इच्छा गर्यो अनि हेर्न सक्यौँ भने हामी कति अज्ञानमा परेका रहेछौं त्यो कुरो छर्लङ्ग देख्न पाउनेछौं। हामी त कस्ता भयौँ भने बूढाबाका पनि बूढाबाका पालामा देखेका र सुनेका कुरा अझैसम्म छदैछन् भन्ने भोरमा पो परेका रहेछौं, उही साउनमा आँखा फुटेका गोरुझैं ।
विज्ञानले के-कस्ता चीज बनायो त्यो हामीलाई थाहा नै रहेन छ । शायद ‘टेप रेकर्डर’ को नाम त सुन्नुभएको होला । अँ, त हामीले बोलेको बोली चट्ट त्यो ‘टेप रेकर्डर’मा भरिदिनुभयो भने त्यही बोली तपाईंको नाति पलातिको पालासम्म सुन्न सक्नुहुनेछ । यदि बोलेको वचन नफर्कने भए वर्षोंसम्म रेडियोमा उनै थोत्रा गीत सुनिने थिएनन् होला ! हो यो उखान त्यस युगमा सुहाउँथ्यो जब कि यस्ता ‘टेप रेकर्डर’ वा ‘रेकर्ड’ बनिसकेको थिएनन् । तर अब त त्यो युग छैन नि । यस युगमा पनि त्यही उखान घोकिरह्यौं भने आँखा चिम्लेको होइन भने के हो त ? यसकारण त्यो चिम्लेको आँखा खोल्नुहोस्, उघार्नुहोस् । आजको मानव सुशिक्षित भयो, प्रगति गन्यो भनेर भन्न तबसम्म नसुहाउला जबसम्म ‘यो मेरा बाले खनेको इनार हो म त यसैको पानी खान्छु चाहे नुनिलो होस्, चाहे मीठो’ भन्न हामीले छोड्ने छैनौँ। तर दुःखको कुरा हामीले त्यही बाले खनेको इनारका छेवैमा भएका कैयन् मीठा पानीका इनारको पानी नखाएर बाले खनेको नुनिलो र ढुङ्गा गन्हाउने पानी खाइरहेका छौं।
हामी भन्दछौं- “काँक्रालाई थाँक्रो दियो थाँक्रै धनी ।” तर त्यो त केवल मन भुलाउने बाटो हो । अब सोझै बुद्धिले सोच्नुहोस् न । थाक्रोले हुरी, वर्षा, गर्मी सहेर, आफू मक्किएर पनि स्याहार-सम्भार गरेर सकी नसकी काँक्राको बोझ बोकेर जोगाएर राख्दछ अनि त्यो काँक्रो टपक्क टिपेर खान्छौँ हामी । त्यो क्षेत्रो (याँक्रो) ले के पायो उसले त बरु तपाई हाम्रो सेवा गरिदिएको छ । उसले के हाँको खान्छ र ? खाने त हामी नै हौं। तर भनिन्छ थाँको (क्रो) धनी । कुन आधारमा धनी भो थाँक्रो ? दुःखको कुरा भँक्रोलाई धनी भइस् बाबु । भनी फर्काएर उल्टै गधा भारी बोकाउने उद्देश्यले नै हामी भन्थ्यौं । तर अब त सबैका आँखा उत्रिसकेका छन् । ती थाँक्राहरूले पनि वास्तविक कुरो बुझे; त्यसको साथसाथै हामीले पनि बुभन्नुपर्यो । त्यसप्रकारको तर्कहीन र युक्तिहीन उखान बखान्नु हाम्रो मूर्खता हो। यसको अर्थ यो उखान पनि युग सुहाउँदो भएन ।
अर्को त्यस्तै बुढेसकालले लत्रिएर लुर खसेको उखान छ- ‘कुरो र कुलो जता लगे पनि हुन्छ ।’ यस्ता उखानलाई पनि हामी होश नपाई जोश झिकेर भन्दछौँ। कुरो भन्ने चीज के-कस्तो महत्त्वपूर्ण रहेछ भन्ने कुरा ती व्यक्तिहरूलाई सोध्नुहोस् । जसले त्यसको भ्याउ नपाएर च्याउ खाँदछन् । कुरो जता लगे पनि हुने भए त के यसरी सुखसित बाँच्न पाइन्थ्यो र ? संसारमा मनपरी हुने थियो नि त्यसो भए त । स्वर्ग नरक र नरक स्वर्ग बनिसक्ने थियो । कुरो जस्तो चीजलाई पनि त्यति सस्तो बनाउन थाले त केको बसाइ हुन्थ्यो यस संसारमा ? कुरो जे बोल्यो त्यही हुन्छ, जस्तो बोल्यो, बोल्यो । बोलिसकेपछि त्यसलाई यताउति फर्काउन पाइँदैन भन्ने कुरा हामी सबैलाई थाहा हुँदाहुँदै पनि फेरि उही कुरो दोहोऱ्याउँछौं । सोचविचारै नगरी बोल्छौं भने हामी शिक्षित मूर्ख नभए को त ? त्यसै प्रकार कुलो जता लगे पनि जाने भए पहाड़घरमा डाँडाकाँडामा भएका खेतको तल बग्ने खेलाबाट कुलो निकालेर माथि माथिका खेतमा पानी पुन्ऱ्याउन किन सकिएको छैन । तल्लो गह्रामा बग्ने कुलोलाई त माथिल्ला गह्रामा लैजान सकिदैन र माथिल्लो गह्रो आफूभन्दा तलका गह्राहरू बालीले लटरम्म परेको मुटुमा गाँठो पारेर हेर्नुपर्दछ । यदि त्यो कुलोमाथि लैजान सक्ने भए त्यो माथिल्लो गह्रो त्यसरी पटपटी फुट्नुपर्ने थिएन । हो, आधुनिक र वैज्ञानिक तरिकाले भने पाइपबाट लैजान सकिन्छ। ‘कुलो जता लगे पनि हुन्छ” नभनेर “बोरिङ पाइपको पानी जता लगे पनि हुन्छ’ बनाउनुपर्छ ।
अब यहाँहरूले मैले भन्न खोजेका कुरा बुभन्नुभयो होला, हो कि ? यो त तपाईहरूलाई एउटा बाटो देखाएर तपाईंहरूका चिम्लेका आँखा उघारिदिएको मात्रै हो। यसकारण अब उप्रान्त कुनै पनि उखान बोल्दा पहिले राम्ररी विचार गरेर मात्रै बोल्नुहोला । त्यस उखानमा आधुनिकता, वैज्ञानिकता छ कि छैन, युक्तिसङ्गत छ कि छैन । हिप्टाइट् पोशाक लगाएर, नेपालीपन लत्याएर नेपाङ्ग्रे’ बनेर यदि उही पुराने ढाँचाको उखान भन्यो भने त के भो र ? किन लाउने हिप्टाइट् लुगा, किन पन्यो ‘नेपाङ्ग्रेज’ जब हामीले यति प्रगति गरेर पनि उनै पुराना मरन्च्यांस उखानहरू नै बोलिराख्यौँ भने त फेरि कछाड़ र भोटो लाएर खुर्पेटो भिरेर हिंड भो नि । जब कछाड, भोटो मयलपोश लगाउँदा हामी जात गएझै, एक स्तर तल खसेझै मान्छौँ भने पुराना उखानहरू पनि त बोल्न छाड्नुपन्यो । यसै कारण हाम्रो नेपाङ्ग्रेजी बोली र पोशाक सुहाउँदो उखान हामीले बोल्नुपर्छ । यसै उद्देश्यते यो प्रस्ताव राखेको छु । अब हामी सबै नेपाङ्ग्रेजहरूले पुराना उखानको सट्टा आधुनिक उखानहरू बोलें । प्रश्न उठ्न सक्छ कि ती आधुनिक युग सुहाउँदा र सक्रिय उखान कुन-कुन हुन्छ त ? तर त्यो त भनेर र लेखेर साध्य छैन। त्यो मसित सोध्ने कुरा पनि होइन। मैले त केवल बाटो देखाइदिएको मात्र हो समाज सुधारकको नाताले । यहाँ नेपालीबाट नेपाङ्ग्रेज बनिंदा मैले सिकाएको थिएँ र ? यसकारण तपाई बोल्दै जानुहोस्, युग सुहाउँदा उखान भन्नुहोस् त्यही उखान तपाईंका साथीले बोल्ने छन् । उनीहरूले फेरि उनीहरूका साथीलाई भन्ने छन्। यसै प्रकार यो एउटा क्रम बसिहाल्छ । यस प्रकार उखानहरू बनिहाल्छन् ।
उदाहरणको रूपमा दुई-चारवटा उखान म पनि बनाइदिऊँ । जस्तै:-
*मारुनी नाची, ट्वीस्टको धाक ।”
*सुकेको चाकलाई हिप्टाइट्को के स्वाद ?”
*ग्ग्राजुएट भयो कौनो काम, सोर्स नभए सब बेकाम ।”
‘सरकारी जागिर खोज्नेलाई पैतीसको थर थर ।”
यस्तै यस्तै ।
०००
‘घुएँत्रो’ (२०२४)
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest





































