साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरन्च्याँसे उखान

गत १२ असार २०८० मा कृतिशेष लामिछानेप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दै उनको ‘घुुएँत्रो’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट यो हास्यव्यङ्ग्य निबन्ध प्रस्तुत गरिएको छ । यो सामग्री माणिकरत्न शाक्य मार्फत बनमाली निराकारले फित्कौलीलाई उपलब्ध गराउनु भएको हो । - सम्पादक

Nepal Telecom ad

भीमप्रसाद लामिछाने :

बागलुङमा २ भाद्र १९९८ जन्मिएका भीमप्रसाद लामिछाने २०२४ मा प्रकशित हास्यव्यङ्ग्य कृति हो ‘घुएँत्रो’ । खित्का प्रकाशन, भैरहवाबाट प्रकाशित यो कृतिपछि विभिन्न पत्रपत्रिकामा उनका केही फुटकर रचनाहरू मात्र प्रकाशित भएका छन् । लामो समय शिक्षण पेशामा संलग्न रहेका लामिछाने भैरहवाकोे तत्कालीन श्री ५ इन्द्र राज्यलक्ष्मी कन्या माविको प्रधानाध्यापक रहेर सेवा निवृत्त भएका थिए । गत १२ असार २०८० मा कृतिशेष लामिछानेप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दै उनको ‘घुुएँत्रो’ हास्यव्यङ्ग्य सङ्गहबाट यो हास्यव्यङ्ग्य निबन्ध प्रस्तुत गरिएको छ । यो सामग्री माणिकरत्न शाक्य मार्फत बनमाली निराकारले फित्कौलीलाई उपलब्ध गराउनु भएको हो । – सम्पादक

आजको युगमा नाउँ कमाउन सबै जना आ-आफ्नो डम्फू बजाउनमा ब्यस्त छन् । कोही नेता भइटोपल्छन् त कोही लेता, भएन फेरि कोही साहित्यकार त कोही कलाकार । त्यसो भए मैले के अनि कस्तो गरूँ जसबाट जतिसक्दो चाँडो नाम, दाम, माम र कामको समस्या समाधान हुन सकोस् । कहिलेकाहीँ लाग्छ म पनि पहेंला, राता, काला लुगा धारण गरी भविष्यवाणी फलाकेर, भए नभएका भाउँता लाइदिएर घन भएका तर बुद्धि नभएकाको बुद्धि र धन भुटौं कि ? तर त्यो त कुनै रचनात्मक कार्य भएन । म जस्तो परम समाज सुधारक, परोपकारीले त्यस्तो घीन लाग्दो काम गर्न त अलिक सुहाउँदैन कि ?

इच्छा गरेदेखि मैले पनि त्यस प्रकार तलैतला परेको घर खातैखात धन, तरं तर दूध खान सक्ने थिएँ । तर त्यसो गर्दा मेरो मात्र कल्याण हुने अरूको चाहिँ बुद्धि र धन भुटिने हुनाले म जस्तो सुधारकले सबैको कल्याण हुने कार्यतिर मात्रै ध्यान दिएको छु । हुन त कतिपय यस्ता महात्माहरू पनि देखिएका छन् जसमा परोपकारको भावना रतिभर पनि छैन । केवल आफ्नो दुनो सोझ्याउन पाए उनीहरूलाई पुग्यो । तर दुःखको कुरो त्यस्तै ढोंगी र फटाहाको सम्मान गरिन्छ आज । जेहोस् कसैले कुनै प्रकारले नाम कमाए पनि म त सबैको भलो चिताउने भावना भएको हीरा मान्छे पो त । तपाईं छक्कै पनि पर्नु भयो म कस्तो लाटो मान्छे रहेछु भनेर । तपाईंले ठीक विचार गर्नु भयो । हेर्नुहोस् आजको युगमा यदि नाम कमाउनु छ भने आफ्नो प्रशंसा आफै गर्नुपर्छ । अर्काले तपाईं नभने पनि आफै भए पनि मपाई भन्नुपर्ने समय आयो । आफै मपाईं भने पो अरूले बल्ल तल्ल तपाईंसम्म त भन्लान् । आफैंले तपाईं भन्यो भने त अरूले गन्दा पनि गन्दैनन् । लौ हेर्नुहोस् ! कस्तो युग आयो ! यसैकारण मैले स्वयं आफैलाई हीरा जस्तो मान्छे भनी सम्बोधन गरेको हूँ । आफूले आफैलाई हीरा भने पो अरूले सुनसम्म त भन्लान् । थाहा पाइहाल्नु भयो होला कुराको कढी ।

अँ, मैले भन्न खोजेको कुरा के त भने मैले आफ्नो नाम कमाउने सजिलो उपाय फेला परेको छु, त्यो के भन्नु होला भने हामीले वर्षौंदेखि बोल्दै आएका कतिपय उखानहरू साह्रै निस्क्रिय र युगको दाँजोमा नसुहाउँदा छन् । सक्रिय पो कसरी हउन् ? आजबाट हो र ! ती उखान भनिन थालेको । हामीले कैयौं पुस्तादेखि वोल्दै आइरहेका छौं । कस्तै लाग्ने हतियार त धेरै काममा ल्यायो भने काम नलाग्ने हुन्छ र त्यसलाई फेरि अर्जाप्न र सान लाउनु पर्छ भने विचरा ती उखानहरूले अब कति सेवा गरुन् ? अब ती उखानहरू बूढा भएर काम नलाग्ने भइसके तर हामी शिक्षित भनाउँदाहरूले चाहिँ उनै बूढा उखानलाई बूढा गोरुलाई जोताए झैं जोताइरहेको छौं । त्यो बरा ! बूढो गोरुले कति जोत्न सक्ला र त्यसबाट हामीले कति कुरा पाउने आश गर्न सक्छौं र ? यसकारण म त ती बूढा र थोत्रा उखानलाई बटुलबाटुल पारेर काली गण्डकीमा सेलाएर त्यसको साटो आधुनिक युग सुहाउँदा उखानहरू बनाउने रचनात्मक अनि संशोधनात्मक कार्य गर्ने उद्देश्य लिएर तम्सिएको छु । हामीले मान्दै आएका उखानहरू कत्तिका निस्क्रिय र थोत्रा रहेछन् । त्यसको उदाहरण पनि दिइहालौं । यति दिनसम्म त हामीहरू ठूलो अन्धकारमा पो रहेछौं किनभने हामीले जे बोल्दै थियौं, जे देख्दै थियौं त्यो त सब सपना जस्तो पो रहेछ ।

हेर्नुहोस् हामीहरूले मान्दै र भन्दै प्राएका उखान मध्ये- “लाटा देशमा गए नबोल्नु, काना देशमा गए आँखा चिम्लनु, डूँडो देशमा गए खुट्टा उचाल्नु” केही हुन् । अरे बाबा ! आजको प्रगतिशील युगमा यस्तो भनेर पनि कतै सुहाउँछ । हिजोआज कति पनि गुण नभएका मान्छेले त म यस्तो र उस्तो भन्दछन् । उनीहरूका भए नभएका गुणहरूको प्रशंसा गरिन्छ, दानवलाई देवता भनिन्छ भने “लाटा देशमा गएर नबोल्नु, काना देशमा गएर आँखा चिम्लनु, डूँडा देशमा गएर खुट्टा उचाल्नु” भन्नु सरासर अन्याय र चित्त नबुझ्ने कुरो हो । लाटाको समक्ष त बोल्नु पो पर्छ तब पो त्यो लाटो देशमा मान प्रतिष्ठा पाइन्छ, तब पो त सबै लाटाहरूको माझमा आफ्नो डम्फू बजाउन सकिन्छ । बाठाको देशमा धेरै बोल्न थाल्यो भने त लाटो र मूर्ख भइन्छ । यसै प्रकार कानो देशमा गएर दुवै आँखाले हेर्नु र डूँडो देशमा गएर दुवै खुट्टाले टेक्नु नै युग सुहाउँदो र उचित कुरा देखिन्छ । “लाटो देशमा नबोल्नु” इत्यादि भन्ने उखानले त हामीमा भएका गुणहरू, योग्यताहरूलाई दमन गर्ने प्रेरणा पो दिन्छ जो कि यो युगमा अनि नसुहाउँदो देखिन्छ । यत्ति कुरा पनि तपाईं म जस्ताको गिदीमा नपस्नाले त आजसम्म उही पुराना उखान र कुराहरूलाई तिनको वास्तविक तथ्य नबुझिकन आँखा चिम्लेर बोलिरहेका र समर्थन गरिरहेका रहेछौं ।

हामी भन्दछौं- “बोलेको कुरो फर्केर आउँदैन ।” कस्तो अचम्म !! आज बिशौंं शताब्दीको वैज्ञानिक मानिस भएर पनि हामीले त्यस्तो उखान बोल्छौं । कति लाज र दुःख लाग्दो कुरो ! जता हेर्‍यो उतै विज्ञानको चमत्कार देख्दादेख्दै पनि हामी उही आँखा चिम्लेर बोल्न र हिँड्न छाडेनौं । यदि हामीले जीवनीको चित्रमात्र नभई तपस्वी स्रष्टालाई अर्को पुस्ताका न्यायको परीक्षाफल ज्यानलाई एकसाथको नवीन भाषा आकर्षक छ । कविको रूपमा पृथक छवि बनाउँदै काम सिन्धुलीयलाई नले आख्यानको समर्थ धावक पक्कै दिनेछ । चिम्लेको आँखालाई उघारेर हेर्ने इच्छा गर्‍यौं अनि हेर्न सक्यौं भने हामी कति अज्ञानमा परेका रहेछौं त्यो कुरो छर्लङ्ग देख्न पाउनेछौंं । हामी त कस्ता भयौं भने बूढाबाका पनि बुढाबाका पालामा देखेका र सुनेका कुरा अझैसम्म छँदैछन् भन्ने भोरमा पो परेका रहेछौं, उही साउनमा आँखा फुटेका गोरू झैंं ।

विज्ञान- ले के कस्ता चीज बनायो त्यो हामीलाई थाहा नै रहेन छ । शायद ‘टेप रेकर्डर’ को नाम त सुन्नु भएको होला ! अँ, त हामीले बोलेको बोली चट्ट त्यो ‘टेप रेकर्डर’मा भरिदिनु भयो भने त्यही बोली तपाईंको नाति पलातीको पालासम्म सुन्न सक्नु हुनेछ । यदि बोलेको बचन नफर्कने भए वर्षौंसम्म रेडियोमा उनै थोत्रा गीत सुनिने थिएनन् होला ! हो यो उखान त्यस युगमा सुहाउँथ्यो जब कि यस्ता ‘टेप रेकर्डर’ वा ’रेकर्ड’ बनिसकेको थिएनन् । तर अब त त्यो युग छैन नि ! यस युगमा पनि त्यही उखान घोकिरह्यौं भने आँखा चिम्लेको होइन भने के हो त ? यसकारण त्यो चिम्लेको आँखा खोल्नुहोस्, उघार्नु- होस् । आजको मानव सुशिक्षित भयो, प्रगति गर्‍यो भनेर भन्न तबसम्म नसुहाउला जबसम्म ‘यो मेरा बाले खनेको इनार हो म त यसैको पानी खान्छु चाहे नुनिलो होस्, चाहे मीठो’ भन्न हामीले छोड्ने छैनौं । तर दुःखको कुरा हामीले त्यही बाले खनेको इनारका छेवैमा भएका कैयन मीठा पानीका इनारको पानी नखाएर बाले खनेको नुनिलो र ढुंगा गन्हाउने पानी खाइरहेका छौं ।

हामी भन्दछौँ- “काक्रालाई थाक्रो दियो थाँक्रै धनी ।” तर त्यो त केवल मन भुलाउने बाटो हो । अब सानो बुद्धिले सोच्नुहोस् न ! थाक्रोले हुरी, वर्षा, गर्मी सहेर, आफू मक्किएर पनि स्याहार सम्भार गरेर सकि नसकी काँक्राको बोझ बोकेर जोगाएर राख्दछ अनि त्यो काँक्रो टपक्क टिपेर खान्छौं हामी । त्यो भनेको (थाँक्रो) ले के पायो उसले त वरु तपाई हाम्रो सेवा गरिदिएको छ । उसले के काँक्रो खान्छ र ? खाने त हामी न हो । तर भनिन्छ थाँको (झेंक्रो) धनी । कुन आधारमा धनी भो थाँक्रो ? दुःखको कुरा झेंक्रोलाई धनी भइस् बाबु ! भनी फुर्काएर उल्टै गधामैं भारी बोकाउने उद्देश्यले नै हामी भन्थ्यौंं । तर अब त सबैका आँखा उत्रिसकेका छन् । ती थाँक्राहरूले पनि वास्तविक कुरो बुझे; त्यसको साथ-साथै हामीले पनि बुझ्नुपर्‍यो । त्यसप्रकारको तर्कहीन र युक्तिहीन उखान बखान्नु हाम्रो मूर्खता हो । यसको अर्थ यो उखान पनि युग सुहाउँदो भएन ।

अर्को त्यस्तै बुढेसकालले लत्रिएर लूर खसेको उखान छ- “कुरो र कुलो जता लगे पनि हुन्छ ।” यस्ता उखानलाई पनि हामी होश नपाई जोश झिकेर भन्दछौं । कुरो भन्ने चीज के कस्तो महत्वपूणर् रहेछ भन्ने कुरा ती व्यक्तिहरूलाई सोध्नुहोस् ! जसले त्यसको भ्याउ नपाएर च्याउ खाँदछन् । कुरो जता लगे पनि हुने भए त के यसरी सुखसित बाँच्न पाइन्थ्यो र ? संसारमा मनपरी हुने थियो नि त्यसो भए त । स्वर्ग नरक र नरक स्वर्ग बनिसक्ने थियो । कुरो जस्तो चीजलाई पनि त्यति सस्तो बनाउन थाले त के को बसाई हुन्थ्यो यस संसारमा ? कुरो जे बोल्यो त्यही हुन्छ, जस्तो बोल्यो, बोल्यो । बोलिसकेपछि त्यसलाई यताउति फर्काउन पाइँदैन भन्ने कुरा हामी सवैलाई थाहा हुँदाहुँदै पनि फेरि उही कुरो दोहर्‍याउँछ । सोच बिचारै नगरी बोल्छौं भने हामीहरू शिक्षित मूर्ख नभए को त ? त्यसै प्रकार कुलो जता लगे पनि जाने भए पहाड़घरमा डाँडा काँडामा भएका खेतको तल बग्ने खेलाबाट कुलो निकालेर माथि-माथिका खेतमा पानी पुर्‍याउन किन सकिएको छैन । तल्लो गह्रामा बग्ने कुलोलाई त माथिल्ला गह्रामा लैजान सकिंदैन र माथिल्लो गह्रो आफूभन्दा तलका गह्राहरू बालीले लटरम्म परेको मुटुमा गाँठो पारेर हेर्नु पर्दछ । यदि त्यो कुलोमाथि लैजान सक्ने भए त्यो माथिल्लो गह्रो त्यसरी पटपटी फुट्नु पर्ने थिएन । हो, आधुनिक र वैज्ञानिक तरीकाले भने पाइपबाट लैजान सकिन्छ । “कुलो जता लगे पनि हुन्छ” नभनेर “बोरिङ्ग पाइपको पानी जता लगे पनि हुन्छ” बनाउनु पर्छ ।

अब यहाँहरूले मैले भन्न खोजेका कुरा बुझ्नु भयो होला, हो कि ? यो त तपाईंहरूलाई एउटा बाटो देखाएर तपाईंहरूका चिम्लेका आँखा उघारिदिएको मात्रै हो । यसकारण अब उप्रान्त कुनै पनि उखान बोल्दा पहिले राम्ररी विचार गरेर मात्रै बोल्नु होला । त्यस उखानमा आधुनिकता, वैज्ञानिकता छ कि छैन, युक्तिसंगत छ कि छैन । हिप्टाइट् पोशाक लगाएर, नेपालीपन लत्याएर नेपाज’ बनेर यदि उही पुराने ढाँचाको उखान भन्यो भने त के भो र ? किन लाउने हिप्टाइट् लुगा, किन पर्‍यो ‘नेपाङ्ग्रेज’ जब हामीले यति प्रगति गरेर पनि उनै पुराना मरन्च्यासे उखानहरू नै बोलिराख्यौं भने त फेरि कछाड़ र भोटो लाएर खुर्पेटो भिरेर हिँडे भो नि । जब कछाड, भोटो मयलपोश लगाउँदा हामी जात गए झैं, एक स्तर तल खसे झैं मान्छौं भने पुराना उखानहरू पनि त बोल्न छाड्नु पर्‍यो । यसै कारण हाम्रो नेपाङ्ग्रेजी बोली र पोशाक सुहाउँदो उखान हामीले बोल्नु पर्छ । यसै उद्देश्यले यो प्रस्ताव राखेको छु । अब हामी सबै नेपाङ्ग्रेजहरूले पुराना उखानको सट्टा आधुनिक उखानहरू बोलें । प्रश्न उठ्न सक्छ कि ती आधुनिक युग सुहाउँदा र सक्रिय उखान कुन् कुन् हुन्छ त ? तर त्यो त भनेर र लेखेर साध्य छैन । त्यो मसित सोध्ने कुरा पनि होइन । मैले त केवल बाटो देखाइदिएको मात्र समाज सुधारकको नाताले । यहाँ नेपालीबाट नेपाङ्ग्रेज बनिदा मैले सिकाएको थिएँ र ? यसकारण तपाईं बोल्दै जानुहोस्, युग सुहाउँदा उखान भन्नुहोस् त्यही उखान तपाईंका साथीले बोल्ने छन् । उनीहरूले फेरि उनीहरूका साथीलाई भन्ने छन् । यसै प्रकार यो एउटा क्रम बसिहाल्छ । यस प्रकार उखानहरू बनिहाल्छन् ।
उदाहरणको रूपमा दुइ-चारवटा उखान म पनि बनाइ दिऊँ । जस्तै :-

“मारुनी नाची, ट्वीष्टको धाक ।”
“सुकेको चाकलाई हिप्टाइट्को के स्वाद ?”
“ग्र्याजुएट भयो कौनो काम, सोर्स नभए सब बेकाम !”
“सरकारी जागीर खोज्नेलाई पैंतीसको थर थर ।”
…यस्तै यस्तै ।

०००
‘घुएँत्रो’ (२०२४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मरन्च्याँसे उखान

मरन्च्याँसे उखान

भीमप्रसाद लामिछाने
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x