साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कोटिकोटि नमन !

आ ! बरु मागेरै खाने ! सम्मान भनेकै मागेर खाने त हो ! स्थानीय पनि मागेर खाने क्षेत्रीय पनि मागेर खाने राष्ट्रिय पनि मागेर खाने साहित्यिक व्यक्तित्वको नाममा- साङ्गीतिक, सामाजिक, धार्मिकको समेत खाने ।

Nepal Telecom ad

नदी भट्टराई :

एउटा बाटुलो सत्यमाथि
आयामिक अन्वेषण-
व्यक्ति सज्जन र असल हुनुको पनि सात्विक परिचय ।
आफ्नै अगाडि समाज र समाजबोध भएका
असली जन्ती र मलामी चिन्न मात्रै पनि
आफ्नोपन सहितको आफू भएर
आवश्यक छ अझै पनि
सीमातीत क्षेत्रका
समयसापेक्ष विषयबस्तुहरूको
रौँचिरा अध्ययन,
तर
एउटा हरियो ब्रम्हाण्डभित्रको
अस्थायी मनुवाले टेकेको
उदात्त, अनमोल र उर्बर बलेँसीमा
आफ्नै
बोधक्षमताको
बीउ अङ्कुरण नभईकन
आजकल सृजनाको अकारादि
पाटीप्यालेसमा मञ्चासिन
लालबुझक्कडहरूको हातमा
विमोचनका मुखपत्र बन्न थालेका छन्,
ती निरक्षर र अकलुषित अक्षरहरूको बस्तीमा
अक्षरहरूकै अनुच्छेद र पाठकहरूको
अगलबगल स्थान मात्र भेटिन्छन्
र सृजनशील स्रष्टा भनिएकाहरूको
साहित्यिक घरजम सप्रिएका छन् ।
म सम्झन्छु,
यी सृजनशील दस्तावेजहरूमा-
अर्थ र भावको अभिधेय वर्चश्व
शब्दहरूको डङ्गुरसँगै भेटिन्छन् !
जसरी भेटिन्छन्-
फोहोरको डङ्गुर कुनै एक शहरको एक कुनामा ।

मान्छेको पहिलो सृजनशील परिचय नै
कवि !
र कविसँगै कवि हुनुको गर्वबोध उति नै
तर कसरी साटिएर झर्दो हो
ती अँधेरी रातमा फूलेको पारिजातझैँ
एउटा व्यक्तिको काँचुलीमय सत्ता !
अँह ! सजिलो छैन,
अन्तरहृदयमा खास परिचयको नक्साङ्कन कोर्न ।
र त भेट्दिन म शब्दहरूमा शब्दकै प्राण अनि
असली स्रष्टा र द्रष्टाको तेस्रो दृष्टिबिन्दु
बरु भेटिरहन्छु सतहभरि
गद्य र पद्यबीचमा चुलिएको सहोदर वैमनस्यता मात्र !
तर पनि सहोदर हुनुको साझा
बसुधैवकुटुम्बकम् खोज्ने प्रयास गरिरहेको छु सदीयौँदेखि
प्रत्येक कविकर्ममा
श्लोक वा पङ्तिm वा हरफहरूको
गुणात्मक उचाइको सन्दर्भ नभेटिएको धेर भयो !
त्यसो त अक्षरहरूको पर्खाल,
पर्खालभित्रको मानवेत्तरझैँ लाग्ने आवाजमा
अभिधेय वणर्न र विवरण विशुद्ध कर्कश लाग्छ !
सिङ्गो जीवन वा
जीवनका एक एक खण्डहरूमा
आख्यानको पारदर्शी अस्थायी छाना टालेर
कथावस्तुको बनावटी
अनुहार मात्र भेटिनु पनि साहित्य नै रहेछ ।
र काव्यमा काव्यात्मक लक्षणा, व्यञ्जना र
बक्रोक्तिहरूसहितको सर्गसर्गान्त वा
पङ्तिmसहितको घरवार
खड्गाष्टक भई बाँकी चलेको जीवन पनि साहित्य नै रहेछ ।
यद्यपि मलाई किनकिन ती सब खल्लो लाग्छ !
उसरी नै
निजात्मकतामा झन् ‘म’ वा ‘हामी’
भेट नभएको दशकौँ भएको छ !
र पो स्रष्टा भनिएकाहरूको कृति सङ्ख्या चुलिँदो रहेछ
सङ्ख्याहरूको गणनासँगै सद्भावको
चाप्लुसी र चाकडीको कीर्ते स्वाभिमान हुँदा
परिस्कृत र पारदर्शिताको नाममा
स्फटिकद्वारा निर्मित खोलभित्र
अनगिन्ती
नातावाद र अधम स्वभावको व्यभिचार नसप्रिउन् पनि कसरी ?
वैयक्तिक आत्मश्लाघाको सगरमाथा चढ्ने स्रष्टाहरू
हिल्लारी र तेञ्जिङ बन्न नखोजून् पनि कसरी ?
देखेको र भोगेको परिवेशमा
अलौकिक र बौद्धिक सम्पत्तिको नाममा व्यापार
चलाउने साहित्यिक मन्दिरभित्र
हृदयको आत्मसम्मान सहितको
पवित्रतालाई नै तिलाञ्जली दिएपछि !
हामीसँग सगर्व सोच्ने फुर्सद पो कहाँ छ र ?
जीवनलाई सोच्नेहरू
जीवनकै रङ्गीविरङ्गी अर्गला देख्न छाडिसके
पहेँलो देख्दैमा सुन पन्छाएर पित्तल किन्नेहरूको लागि,
फेरि जीवन मध्येको कुनै एक पावा जीवनलाई
साहित्यिक स्वादमा चखाउनु छ
साहित्यिक नकाव भिरेर
राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमाणपत्रहरू खरिद गर्नुछ
प्रमुख अतिथि बन्नु छ
सम्मानित पनि पो हुनु छ !
हैट !
बरु अरूकै गद्य र पद्यहरू चरेर
डोको भर्छौं र विमोचन गर्छौं !
अनि पो थाहा भयो-
सम्मानित व्यक्तित्वहरू
राजनैतिक आस्थामा विभाजित अक्षांश
र देशान्तरको विल्ला भिरेर
प्रतिष्ठित आवाज र प्रतिष्ठानहरू
कार्यक्रम आयोजकका सम्पर्क नम्बरहरू
कार्यक्रमको पाठ्यक्रम बन्नुपूर्व नै
विभिन्न संघसंस्थाको
डायरीभरि कुर्लिरहँदा रहेछन् ।
सगुन खुवाएर फूलमाला गरिँदारहेछन्
बैनाबट्टा भैसक्दारहेछन् ।
हिङ नभए पनि हिङ बाँधेको टालोझैँ
र पो भोलिपल्टै स्रष्टाहरू सम्मानित हुन सकेका रहेछन् !
सृजनामा योगदान भनेकै
कृति सङ्ख्या मात्र भए पुग्दो रहेछ आजकल
मानौँ-
भुसको बोरा जस्तो !
मङ्सिरको बेल्कुटी धानको नरुवा जस्तो !
फर्पिङको विजुली जस्तो !
भित्रभित्र धमनी र सिराले स्वच्छिक अवकास लिएको
फर्सी जस्तो !
गुदी झरेको घिराउँलाको जालो जस्तो !
साहित्यमा
रसात्मक र ध्वन्यात्मक होइन,
स्वरूप र आयतन भए पुग्छ
भाव होइन भावना भए पुग्छ !
अर्थ होइन, शर्त भए पुग्छ !
कसले कसलाई पूजा गर्ने ?
कसको सामग्री कता सार्ने ?
र कसलाई पर्म तिर्ने ?
अबको साहित्यभित्र
वणर्विन्यास र शब्दशक्तिको सही बनोटमा
विम्बप्रतीक तथा सूक्तिमय अभिव्यक्ति,
आलङ्कारिकता, रीति,
र बक्रोक्ति चाहिँदै चाहिँदैन !
यस्ता महको चासनीले भरिएको चाकाझैँ
झरिलो महाबौद्धिक झमेलामा
फसेर के लेखिरहनु ?
त्यो पनि
देवकोटा र सम बन्ने दुस्साहसमा ।
लेख्नको लागि त
शुद्धाशुद्धी जान्नुपर्ला,
शब्दशक्ति चिन्नुपर्ला,
गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ला,
शब्दभण्डारको ज्ञान हुनुपर्ला
“भीरको चिण्डो यता न उता” नभएको कहाँ हो र ?
आ !
बरु मागेरै खाने !
सम्मान भनेकै मागेर खाने त हो !
स्थानीय पनि मागेर खाने
क्षेत्रीय पनि मागेर खाने
राष्ट्रिय पनि मागेर खाने
साहित्यिक व्यक्तित्वको नाममा-
साङ्गीतिक, सामाजिक, धार्मिकको समेत खाने ।
सायद !
हामी जस्ता सम्मानका महान् पूजारीहरूलाई
मेरो कोटिकोटि नमन !

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x