नदी भट्टराईमेरो कोटिकोटि नमन !
आ ! बरु मागेरै खाने ! सम्मान भनेकै मागेर खाने त हो ! स्थानीय पनि मागेर खाने क्षेत्रीय पनि मागेर खाने राष्ट्रिय पनि मागेर खाने साहित्यिक व्यक्तित्वको नाममा- साङ्गीतिक, सामाजिक, धार्मिकको समेत खाने ।

नदी भट्टराई :
एउटा बाटुलो सत्यमाथि
आयामिक अन्वेषण-
व्यक्ति सज्जन र असल हुनुको पनि सात्विक परिचय ।
आफ्नै अगाडि समाज र समाजबोध भएका
असली जन्ती र मलामी चिन्न मात्रै पनि
आफ्नोपन सहितको आफू भएर
आवश्यक छ अझै पनि
सीमातीत क्षेत्रका
समयसापेक्ष विषयबस्तुहरूको
रौँचिरा अध्ययन,
तर
एउटा हरियो ब्रम्हाण्डभित्रको
अस्थायी मनुवाले टेकेको
उदात्त, अनमोल र उर्बर बलेँसीमा
आफ्नै
बोधक्षमताको
बीउ अङ्कुरण नभईकन
आजकल सृजनाको अकारादि
पाटीप्यालेसमा मञ्चासिन
लालबुझक्कडहरूको हातमा
विमोचनका मुखपत्र बन्न थालेका छन्,
ती निरक्षर र अकलुषित अक्षरहरूको बस्तीमा
अक्षरहरूकै अनुच्छेद र पाठकहरूको
अगलबगल स्थान मात्र भेटिन्छन्
र सृजनशील स्रष्टा भनिएकाहरूको
साहित्यिक घरजम सप्रिएका छन् ।
म सम्झन्छु,
यी सृजनशील दस्तावेजहरूमा-
अर्थ र भावको अभिधेय वर्चश्व
शब्दहरूको डङ्गुरसँगै भेटिन्छन् !
जसरी भेटिन्छन्-
फोहोरको डङ्गुर कुनै एक शहरको एक कुनामा ।
मान्छेको पहिलो सृजनशील परिचय नै
कवि !
र कविसँगै कवि हुनुको गर्वबोध उति नै
तर कसरी साटिएर झर्दो हो
ती अँधेरी रातमा फूलेको पारिजातझैँ
एउटा व्यक्तिको काँचुलीमय सत्ता !
अँह ! सजिलो छैन,
अन्तरहृदयमा खास परिचयको नक्साङ्कन कोर्न ।
र त भेट्दिन म शब्दहरूमा शब्दकै प्राण अनि
असली स्रष्टा र द्रष्टाको तेस्रो दृष्टिबिन्दु
बरु भेटिरहन्छु सतहभरि
गद्य र पद्यबीचमा चुलिएको सहोदर वैमनस्यता मात्र !
तर पनि सहोदर हुनुको साझा
बसुधैवकुटुम्बकम् खोज्ने प्रयास गरिरहेको छु सदीयौँदेखि
प्रत्येक कविकर्ममा
श्लोक वा पङ्तिm वा हरफहरूको
गुणात्मक उचाइको सन्दर्भ नभेटिएको धेर भयो !
त्यसो त अक्षरहरूको पर्खाल,
पर्खालभित्रको मानवेत्तरझैँ लाग्ने आवाजमा
अभिधेय वणर्न र विवरण विशुद्ध कर्कश लाग्छ !
सिङ्गो जीवन वा
जीवनका एक एक खण्डहरूमा
आख्यानको पारदर्शी अस्थायी छाना टालेर
कथावस्तुको बनावटी
अनुहार मात्र भेटिनु पनि साहित्य नै रहेछ ।
र काव्यमा काव्यात्मक लक्षणा, व्यञ्जना र
बक्रोक्तिहरूसहितको सर्गसर्गान्त वा
पङ्तिmसहितको घरवार
खड्गाष्टक भई बाँकी चलेको जीवन पनि साहित्य नै रहेछ ।
यद्यपि मलाई किनकिन ती सब खल्लो लाग्छ !
उसरी नै
निजात्मकतामा झन् ‘म’ वा ‘हामी’
भेट नभएको दशकौँ भएको छ !
र पो स्रष्टा भनिएकाहरूको कृति सङ्ख्या चुलिँदो रहेछ
सङ्ख्याहरूको गणनासँगै सद्भावको
चाप्लुसी र चाकडीको कीर्ते स्वाभिमान हुँदा
परिस्कृत र पारदर्शिताको नाममा
स्फटिकद्वारा निर्मित खोलभित्र
अनगिन्ती
नातावाद र अधम स्वभावको व्यभिचार नसप्रिउन् पनि कसरी ?
वैयक्तिक आत्मश्लाघाको सगरमाथा चढ्ने स्रष्टाहरू
हिल्लारी र तेञ्जिङ बन्न नखोजून् पनि कसरी ?
देखेको र भोगेको परिवेशमा
अलौकिक र बौद्धिक सम्पत्तिको नाममा व्यापार
चलाउने साहित्यिक मन्दिरभित्र
हृदयको आत्मसम्मान सहितको
पवित्रतालाई नै तिलाञ्जली दिएपछि !
हामीसँग सगर्व सोच्ने फुर्सद पो कहाँ छ र ?
जीवनलाई सोच्नेहरू
जीवनकै रङ्गीविरङ्गी अर्गला देख्न छाडिसके
पहेँलो देख्दैमा सुन पन्छाएर पित्तल किन्नेहरूको लागि,
फेरि जीवन मध्येको कुनै एक पावा जीवनलाई
साहित्यिक स्वादमा चखाउनु छ
साहित्यिक नकाव भिरेर
राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमाणपत्रहरू खरिद गर्नुछ
प्रमुख अतिथि बन्नु छ
सम्मानित पनि पो हुनु छ !
हैट !
बरु अरूकै गद्य र पद्यहरू चरेर
डोको भर्छौं र विमोचन गर्छौं !
अनि पो थाहा भयो-
सम्मानित व्यक्तित्वहरू
राजनैतिक आस्थामा विभाजित अक्षांश
र देशान्तरको विल्ला भिरेर
प्रतिष्ठित आवाज र प्रतिष्ठानहरू
कार्यक्रम आयोजकका सम्पर्क नम्बरहरू
कार्यक्रमको पाठ्यक्रम बन्नुपूर्व नै
विभिन्न संघसंस्थाको
डायरीभरि कुर्लिरहँदा रहेछन् ।
सगुन खुवाएर फूलमाला गरिँदारहेछन्
बैनाबट्टा भैसक्दारहेछन् ।
हिङ नभए पनि हिङ बाँधेको टालोझैँ
र पो भोलिपल्टै स्रष्टाहरू सम्मानित हुन सकेका रहेछन् !
सृजनामा योगदान भनेकै
कृति सङ्ख्या मात्र भए पुग्दो रहेछ आजकल
मानौँ-
भुसको बोरा जस्तो !
मङ्सिरको बेल्कुटी धानको नरुवा जस्तो !
फर्पिङको विजुली जस्तो !
भित्रभित्र धमनी र सिराले स्वच्छिक अवकास लिएको
फर्सी जस्तो !
गुदी झरेको घिराउँलाको जालो जस्तो !
साहित्यमा
रसात्मक र ध्वन्यात्मक होइन,
स्वरूप र आयतन भए पुग्छ
भाव होइन भावना भए पुग्छ !
अर्थ होइन, शर्त भए पुग्छ !
कसले कसलाई पूजा गर्ने ?
कसको सामग्री कता सार्ने ?
र कसलाई पर्म तिर्ने ?
अबको साहित्यभित्र
वणर्विन्यास र शब्दशक्तिको सही बनोटमा
विम्बप्रतीक तथा सूक्तिमय अभिव्यक्ति,
आलङ्कारिकता, रीति,
र बक्रोक्ति चाहिँदै चाहिँदैन !
यस्ता महको चासनीले भरिएको चाकाझैँ
झरिलो महाबौद्धिक झमेलामा
फसेर के लेखिरहनु ?
त्यो पनि
देवकोटा र सम बन्ने दुस्साहसमा ।
लेख्नको लागि त
शुद्धाशुद्धी जान्नुपर्ला,
शब्दशक्ति चिन्नुपर्ला,
गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ला,
शब्दभण्डारको ज्ञान हुनुपर्ला
“भीरको चिण्डो यता न उता” नभएको कहाँ हो र ?
आ !
बरु मागेरै खाने !
सम्मान भनेकै मागेर खाने त हो !
स्थानीय पनि मागेर खाने
क्षेत्रीय पनि मागेर खाने
राष्ट्रिय पनि मागेर खाने
साहित्यिक व्यक्तित्वको नाममा-
साङ्गीतिक, सामाजिक, धार्मिकको समेत खाने ।
सायद !
हामी जस्ता सम्मानका महान् पूजारीहरूलाई
मेरो कोटिकोटि नमन !
०००
इलाम
Subscribe
Login
0 Comments
Oldest






































