साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा प्रश्रितको एकल कविता वाचन

Nepal Telecom ad

चैत्र १४ गते शुक्रवार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जनसाहित्य यात्रा’ को प्रारम्भ गरियो ।
यात्राको पहिलो शृङ्खलामा वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितका एक दर्जन कविता प्रस्तुत गरिएको थियो । महासङ्घका अध्यक्ष खगेन्द्र राईले अध्यक्षता गर्नु भएको समारोहको प्रमुख अतिथि नेकपा एमालेका संस्कृति विभाग प्रमुख वाचस्पति देवकोटा हुनुहुन्थ्यो भने अन्य अतिथिमा प्रा.डा.जीवेन्द्रदेव गिरी र जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय हुनुहुन्थ्यो ।
वाचस्पति देवकोटाले माल्यार्पण सहित दोसल्ला ओडाउँदै महासङ्घको अभिनन्दन पत्र अर्पण गर्नुभएपछि प्रश्रितको वहुआयामिक व्यक्तित्वका बारेमा जनसाहित्यिक मञ्च, नेपालको काव्य विभाग संयोजक डा.विन्दु शर्माले प्रकाश पार्नु भएको थियो । उहाँले राजनीति र साहित्यलाई समान उचाइका साथ लैजान अत्यन्त सफल प्रश्रित नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रज मात्र नभई अभियन्ता समेत हुनुभएको बताउनुभयो ।
साम्राज्यका सिमाना भत्काउने सिपाही
के बाँध्न सक्छ त्यान्द्रे यो नेलले मलाई
मेरो अनन्त यात्रा संसार जित्नलाई
के रोक्न सक्छ फुच्चे पर्खालले मलाई ।
यी र यस्तै कालजयी कविता र गीतका साधक, सामाजिक रूपान्तरणका अभियन्ता, वरिष्ठ प्रगतिवादी अग्रज साहित्यकार मोदनाथ प्रश्रितका एक दर्जन कविता सिर्जनाको प्रस्तुति गरियो । कविता प्रस्तुतिमा बालकवि अनुज्ञा नेपाल, रुपक अलङ्कार, जयन्ती स्पन्दन, रमेश पोखरेल, वासुदेव अधिकारी र जय गौडेलले साथ दिनुभएको थियो ।
मोदनाथ प्रश्रितले आफ्ना ‘कहिले देख्न पाउँला ?’(२०१८) ‘मन्त्रीजी’ (२०२५) ‘नेपाली बहादुर’ (२०२५) ‘गोलघरको सन्देश’ काव्य, ‘जब चल्छ हुरी’ गीतसङ्ग्रह र ‘देवासुर सङ्ग्राम’बाट केही अंश गरी छ ओटा कविता वाचन गर्नु भयो । बालकवि अनुज्ञा नेपालले प्रश्रितको ‘युवा उठ’ शीर्षकको कविता वाचन गरी साथ दिनुभएको थियो भने रूपक अलङ्कारले प्रश्रितको २०३७ सालमा लेखिएको ‘लाली उषाको बढोस्’ शीर्षकको कविता लयबद्ध प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी वासुदेव अधिकारीले ‘भोल्गा र ह्वाङगो गाऊ समवेत गीत’ शीर्षकको २०४३ सालमा रचित कविता र जयन्ती स्पन्दनले ‘मेरी छोरी मूल परी रे !’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । रमेश पोखरेलले ‘म पनि मान्छे हुँ’ गीति कविता र जय गौडेलले ‘झगडा किन ?’ शीर्षकको कविता वाचन गर्दै प्रश्रितलाई साथ दिनुभएको थियो । प्रश्रितको चर्चित एवम् मदन पुरस्कार प्राप्त महाकाव्य ‘मानव’बाट देवी नेपालले तिन ओटा श्लोक वाचन गर्नु भयो ।
वाचित कविता, गीत र प्रश्रितको व्यक्तित्वका बारेमा समीक्षात्मक टिप्पणी गर्नुहुँदै प्रा.डा.जीवेन्द्रदेव गिरीले अविश्रान्त योद्धा प्रश्रितका कविता कालजयी रहेको धारणा राख्नु भयो । उहाँले निरङ्कुश पञ्चायती सत्ता प्रश्रितको व्यक्तित्वबाट डराएर जेलभित्रको पनि जेल गोलघरमा राख्दा समेत डराएर बिन्तीपत्र होइन बरू आन्दोलनका अभियन्तालाई ऊर्जा प्रदान गर्ने ‘गोलघरको सन्देश’ जस्तो कृति लेख्नुभएको बताउनुभयो ।
समारोहका प्रमुख अतिथि वाचस्पति देवकोटाले नेपाली प्रगतिवादी साहित्यमा प्रश्रितले पुर्याएको योगदानले नेपाली वाम आन्दोलन समेत समृद्ध भएको, कम्युनिस्ट आन्दोलनमा देखिएको विकृतिप्रति निर्मम प्रहार गर्ने प्रश्रितको शैली उत्कृष्ट र अनुकरणीय रहेको बताउनु भयो ।
जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले प्रश्रितका कालजयी रचना सुनिदिने र निमन्त्रणा स्वीकार गरी समारोहमा सहभागी आइदिने सबै विशिष्ट व्यक्तित्वलाई हार्दिक धन्यवाद सहित विशेष समारोहको समापन गर्नु भएको थियो ।
‘अविरल जनसाहित्य यात्रा’ अन्तर्गत हरेक महिनाको दोस्रो शुक्रवार ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गरिने जानकारी दिइएको थियो । ‘अविरल जन साहित्य यात्रा’ को दोस्रो शृङ्खलामा वरिष्ठ प्रगतिवादी स्रष्टा आनन्ददेव भट्टका दर्जन कविताका प्रस्तुति हुने बताइएको छ ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x