चूडामणि खनालउठबस–बसउठ
अस्ति एक जना मित्रले टिठ्याएर सोध्नुभयोः–“तपाईंलाई लागेको नरमाइलो क्षण ?” मैले सहजै उत्तर दिएँ–‘दीर्घसेवापदक ग्रहण गरेको क्षण’ । मलाई मेरो तालुकी संस्थाले सुनको जलप लगाएको तक्मा र प्रमाणपत्र दिएको थियो र उसको भाषामा मेरो सम्मान गरेको थियो, तर मलाई लागेको थियो— यो मेरो अपमान हो, खिसीटिउरीमात्र हो, सम्मान त हुँदै होइन । त्यस प्रमाणपत्रले मलाई गिज्याउँदै भनेको थियो— “यस जागीरमा किन हिरिक्क भइरहन्छौ हँ, बाजे ? अब एउटा फुलपावर भएको चस्मा किन र गीताका श्लोकहरू र उपनिषद्का वाक्यहरू पाठ गरेर घरै बस ।”
गफै त हा,े छेउ न टुप्पाको कुरा निस्किरहने । मित्रलाई मेरा यथार्थ कुराले निकै घत पारेछ कि क्या हो, कसो हो कुन्नि ?अनि उनैले निकै नै रौसिएर भने–अनि ? अनि मैले पनि भनेँ–आसनग्रहण गरेको क्षण वा समय ।
हिजोआज त हाम्रो बौद्घिक समाजमा आसनग्रहणको कार्यक्रम पनि आकर्षक र सम्मानको विषय बनेको छ । कुनै कार्यको क्रमलाई अगाडि बढाउनाका लागि औपचारिक काम गरिन्छ । त्यसै औपचारिक काममध्येको एक हो, यो आसनग्रहण गराउने कार्य पनि ।
हाम्रा अतिथिलाई आसनग्रहणको कार्यक्रम छ भन्दै उद्घोषकले आपैmले ससम्मान बोलाइएको व्यक्तिलाई प्रमुख अतिथिको आसनग्रहणका लागि भनेर दर्शकदीर्घाबाट मञ्चतिर लगेर हात जोडाउँदै दर्शकाभिमुख गराउँछ र विशिष्ट व्यक्तिहरू बस्ने ठाउँमा बस्न लगाउँछ । उद्घोषकले आफैले बोलाइएका मान्छेमा पनि पङ्क्तिभेद गर्छ र प्रमुखअतिथि, सामान्यअतिथि भन्दै उठबस गराइरहन्छ । मलाई गजब त त्यतिवेला लाग्छ, जब उद्घोषकले कसैको नाम काढ्छ र ऊ बसेको ठाउँबाट उठाएर फेरि आसनग्रहण गर्ने भन्दै पहिले ऊ बसेकै ठाउँमा ‘यथास्थानमा’ भन्दै बस्न लगाउँछ । त्यतिवेला मलाई ती व्यक्तिप्रति टीठ लाग्छ , जति वेला उस्तै पत्रको आधारमा सभामा उपस्थित भएको समानस्तरको अर्काे व्यक्तिलाई भने केवल सभाको शोभा बढाउनाका लागिमात्र निम्त्याइएको ठानी दर्शकदीर्घामा नै राखेर कार्यक्रमलाई अगाडि बढाइरहन्छ, तर त्यति नै वेला मलाई ईषत् खुशी पनि लाग्छ, किनभने कम्तीमा पनि दर्शकदीर्घाको त्यस मान्छेले उठ्बस्ँ गर्नु त परेन ।
मैैले जीविकाका लागि लिएको पेसा छिद्रान्वेषी भएर हो कि कसो हो कुन्नि ? प्वाल खोज्ने कलामा म प्रवीण नै छु । मेरो यसै छिद्रदर्शी स्वभावले मलाई शब्दकोशसम्म पु¥याउँछ र अतिथि शब्दको अर्थ खोतल्न लगाउँछ । शब्दकोशले तिथि शब्दको अर्थ यसरी अथ्र्याउँछः– “कुल तथा नाम नजानिएको, अन्तबाट आएको र एउटै गाउँमा नबस्नेलाई अतिथि भनिन्छ । नामगोत्र नजानिएको र अरू गाउँबाट आएको विद्वान् ब्राह्मणलाई अतिथि भनिन्छ । दिनहुँ नबस्ने एकरात मात्र बस्न आउने ब्रह्मणलाई पनि अतिथि भनिन्छ ।” फेरि मेरो दिमागमा अघि धेरै पहिले घोकेको परिभाषा आउँछः–“तिथि न तोकीकन वा नबोलाईकन आउने पाहुनु, अनाहुत ।”
यसै वेला मेरो आँखा आँखैअगाडिको पत्रिकाको समाचारमा पुग्छ, अनि त्यहाँ आँखाले देख्छः– ‘शिक्षामन्त्रीका प्रमुख आतिथ्यमा शिक्षाविभागको बैठक बस्यो, गृहमन्त्रीको प्रमुख आतिथ्यमा गृहप्रशासनबारे गोष्ठी चल्यो ।’ अनि मेरो दिमागले सोच्यो, यो अतिथि भनेको फेसन हो कि वास्तविकता । आफ्नै घरमा आफै अतिथि रहने कुन बौद्घिकता हो । अनि मैले ठानँे– ‘म यस क्षणलाई पनि किन नमीठो क्षण नभनूँ, हँ ?’
कुनै पनि समारोहका लागि भनी श्रद्धा गरेर बोलाइएका व्यक्तिमध्ये कसैलाई उठबस गराएर अपमान गर्ने ? अनि उसै सभामा आएको समानस्तरको व्यक्तिलाई ऊ बसैकै ठाउँमा थच्चिन लगाएर असम्मान गर्ने, यस उठबसे संस्कृतिमा सभासद् हुनुपरे पनि मलाई दिक्क लाग्छ, यो अवस्था पनि मेरो लागि नमीठो क्षण नै हो झैँ लाग्छ, कसो हो कुन्नि ?
कुनै पनि गोष्ठी, समारोह या आयोजनालाई बुझाउने शब्दका रूपमा पनि कार्यक्रम शब्दको प्रयोग गरिन्छ । यस शब्दको प्रयोग कुठाउँमा परेको देख्ता वा सुन्दा पनि मलाई नराम्रै लाग्छ र मेरो मनले भन्छः बौद्धिक जगत्मा पनि बौद्धिकताको खडेरी नै परेछ कि कसो ? समारोहको क्रम हुन्छ, आयोजनाको सिलसिला हुन्छ, कुनै पनि कामको क्रम हुन्छ, तर समारोह वा आयोजनाको पर्यायवाची शब्दका रूपमा कार्यक्रम शब्दलाई राख्ने त ? मलाई दुःखमाथि दुःख लाग्छ ।
यति नै वेला मेरा मित्रले मलाई अव्यावहारिक र अज्ञानी भन्दै भने— बीस कोसमा त भाषा पनि बदलिन्छरे, नदीको पानी पनि फेरिन्छ रे । अनि मैले भनँे— प्रत्येक अज्ञानतालाई ढाक्न पानी र भाषाको उदाहरण दिएर हुन्छ त ? के मैले पनि हिजोआज भनिने गरेको अपाङ्ग शब्दको विपरीतार्थक शब्द लोकले भनेझैँ सपाङ्ग नै हुन्छ भनेर बहस गरूँ त ? मेरा लागि यो क्षण पनि नमीठाको हुनेछ । मैले आफ्नो पक्क¥याइँ छोडिनँ । कुरैकुरामा मेरो नमीठो क्षणको व्याख्या गर्ने मूल नै फुटेछ कि क्या हो ?, कसो हो कुन्नि ? मैले मेरो मित्रलाई बोल्न नदिँदै आफ्ना नमीठा क्षणहरू भन्दै गएँ– “सामन्तका पुत्र छन्, साम्यवादी”को शैलीमा सामन्तका पुत्रहरूले सर्वहारावर्गको पक्षमा गरेको गफ सुन्दाको क्षण, विज्ञापन र बिक्री वितरणबाट आएको रकम जति सबै एक्लै हसुरेर लेखकसमक्ष पत्रकारले दाँत ङिच्याएको क्षण, नाठासँग आँखा झिम्क्याउँदै पतिव्रताधर्मको महत्त्व गाउने नारीको व्याख्यानको क्षण, विषयको ज्ञानमा भन्दा पोसाकको परिधानमा आधारित शिक्षण, भागशान्ति जय नेपालको शैलीमा छनौट गरिएको प्रतिभाचयन, प्राज्ञिक थलामा गरिएको राजनीतिक मनोनयन, कासन नमिलेको रासनको वितरण र पुस्तकको मुखै नहेरीकन गरिएको विमोचनीय भाषण पनि मेरा लागि नमीठा क्षण हुन् भन्दै जाँदा मेरा मित्र पनि निकै उदासीन देखिए । मित्रको यस उदासीनताको क्षण पनि मेरा लागि नमीठो क्षण भइदियो ।
विद्यार्थी कालमा गल्ती गरेबापत कान समातेर उठबस गर्दाको क्षणको सम्झनाले त मलाई आनन्द नै दिन्छ, तर उठबसको यस संस्कृतिले सभासमारोहमा पनि प्रवेश पाएको क्षणलाई म कसरी समर्थन गरूँ त ? म पनि कसरी भनूँ— “फलाना फलानाहरूले र ढिस्कना ढिस्कनाहरूले आ–आफ्ना ठाउँबाट उठेर फेरि उहीउही ठाउँमा बस्नू, फलाना फलानाहरूले चाहिँ मञ्चमा जाने सिँढी चढेर मञ्चासीन भई दर्शकाभिमुख हुनू ,इत्यादि इत्यादि ।” पार नपाइसक्नुको रहेछ ह कि, यो उठबसे संस्कृति ? होइन त ?
कास्की, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































