सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नरेन्द्रराज पौडेलको व्यङ्ग्य सिर्जना

Nepal Telecom ad

आधुनिक नेपाली साहित्यको समसामयिक कालको पूर्वसन्ध्यामा देखापरेका साहित्यकार नरेन्द्रराज पौडेल २०२५ को ‘गोरखापत्र’ मार्फत ‘कमिज सुरुवाल लगाएको नयाँ सडक’ कथा लिएर प्रकाशनमा देखापरेका हुन् । प्रारम्भमा कविता अनि कथा र निबन्धमा बिस्तारै देखिँदै आएका पौडेल समालोचनासम्म पनि बिस्तारित भएका छन् । पौडेलको लेखन क्रमशः अग्रगतिमा विकसित भइरहेको अवस्था देखापरेको छ । पौडेलको लेखनको आरम्भबाट देखा–परेको पर्यावरण नेपाली साहित्यको परिवेश अस्तित्ववादी–विसङ्गति प्रवृत्ति एकातिर विकसित भइरहेको र अर्कातिर प्रयोगवादी लेखनशिल्प पनि विकसित भएका बेला लेखनक्षेत्रमा अभ्युदय भएका पौडेल भने छुट्टै एक समसामयिक प्रवृत्तिका पूर्वाभासलाई स्पर्श गरेर लेखनमा देखापरेका पौडेल नेपाली साहित्यको २०२०–२०३० को दशकका सर्जक पुस्ताका सहकर्मी बनेर देखापरेका छन् ।

नेपाली साहित्यको समसामायिक पुस्ताका लेखकहरूका मूल्यहरूको परम्परा र प्रवृत्तिहरूको छुट्टै किसिमले आरम्भ हुन प्रयत्न गरिरहेको अवस्थामा दार्जिलिङको धर्तीमा तेस्रो आयामको आरम्भ भयो र काठमाडौंको परिवेशमा अस्तित्ववादी चिन्तनलाई पारिजात र विश्वेश्वरप्रसाद कोइरालाको लेखन अविर्भाव भएको स्थिति प्रतिपादन भएको छ । काठमाडौँली लेखक जमातमा प्रयोगवादी चिन्तन अँगाल्ने कवि मोहन कोइराला, द्वारिका श्रेष्ठ, कुन्दन शर्मा, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मीहरूको लेखन मौलाइरहेको थियो । अझ व्यापक रूपमा यौन मनोवैज्ञानिक घेरामा देखिने कुमार नेपाल, पुष्कर लोहनी, परशु प्रधान, प्रेमा शाह, पारिजात, ध्रुवचन्द्र गौतम लगायतका लेखकहरूको आविर्भाव भइरहेको अवस्थामा पौडेलको लेखन आविर्भाव भएको छ । कविता, निबन्ध, कथा र समालोचना क्षेत्रमा प्रवृत्त भएका पौडेलको लेखन नेपाली साहित्यको सिर्जनात्मक इतिहासमा तीन दशकभन्दा पनि बढी भइसकेको छ । यस क्रममा पौडेल नेपाली साहित्यको क्षेत्रमा हास्यव्यङ्ग्य स्रष्टाका रूपमा स्थापित बनिसकेका छन् । उनको हास्यव्यङ्ग्य सृजना उत्कर्ष तहमा रहेको देखिन्छ ।

२०२५ सालबाट लेखन क्षेत्रमा देखिएका पौडेलका हास्यव्यङ्ग्य रचनाहरू निम्नानुसार तीनवटा सङ्ग्रहमा सङ्कलित छन् । उनको पहिलो सङ्ग्रह हो– ‘घरभित्रको गाईजात्रा’ (२०४१) । यसमा २०४१ पूर्वका हास्यव्यङ्ग्य निबन्ध सङ्कलित छन् । त्यसरी नै दोस्रो निबन्धसङ्ग्रह ‘बिहेको निम्तो’ (२०४४) पनि प्रकाशमा आएको छ । ‘बिहेको निम्तो’ सङ्कलित हास्यव्यङ्ग्यमा पनि हास्यव्यङ्ग्यात्मक सृजनधर्म निकै प्रौढ बनिसकेको देखिन्छ । तेस्रो सङ्ग्रह हो– ‘मङ्की स्टेट याने बानर राज्य’ (२०५१) । यसमा सङ्कलित रचनाहरूका माध्यमबाट पौडेल नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक एवम् राजनीतिक विसङ्गतिका राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका मूल्यहरू विद्रूपित रूप प्रदान गरेर हास्यव्यङ्ग्यको बिषय बनाउने पौडेल २०३० सालपछिका पुस्ताका स्रष्टाहरूप्रति गरिने प्रतिष्ठाका बिषय बनेका छन् ।

हास्यव्यङ्ग्यको नेपाली क्षितिजमा केशवराज पिंडाली, कृष्णप्रसाद चापागाईं, अच्छा राई ‘रसिक’, ऋषि मसिहा सुब्बा, प्रेम थापा लगायतका प्रतिभाहरूले पहिलो राजमार्ग तयार गरिदिए । यसै राजमार्गमा धनुषचन्द्र गौतम, बालमुकुन्ददेव पाण्डे, भैरव अर्याल, मोहनराज शर्मा, बल्लभमणि दाहाल, श्रीधर खनाल जस्ता अगुवा पुस्ता समेतको योगदान उल्लेखनीय रहेको छ । २०२५ सालपछिको समयावधिमा हास्यव्यङ्ग्य शिल्पमा निबन्धमा क्रियाशील देखिने स्रष्टा रामकुमार पाँडे, चोलेश्वर शर्मा, मकुन्द आचार्य, विमल निभा, नरेन्द्रराज पौडेलहरू पर्दछन् । सामयिक सन्दर्भलाई निबन्धमा गतिप्रदान गर्ने स्रष्टाहरूमा नरमेन्द्र लामा, रुद्र खरेल, विष्णु प्रभात, नरनाथ लुइँटेल, मुन पौडेल, लगायतका प्रतिभाको नाम स्थापित बनेको छ । २०२५ सालपछि वर्तमानसम्मको न्यूनाधिक तीन दशक अवधि समग्र रूपमा नेपाली साहित्यको लगभग समसामायिक प्रवृत्तिको युग हो । यस युगमा समय र चेतनाको समीकरण गरेर साहित्य सृजना गर्ने परम्परा मुखर भएर पनि नरेन्द्रराज पौडेलले प्रयोगवाद र यथार्थवादकै सीमा–रेखामा आफ्नो सृजनात्मक चेतना लगानी गरेका छन् । यसै दृष्टिले नेपाली हास्यव्यङ्ग्यकै सन्दर्भमा पौडेलका निबन्ध कृतिहरूको सङ्क्षिप्त निरूपण गर्नु यस लेखको उद्देश्य रहेको छ ।

(१) घरभित्रको गाईजात्राः
प्रस्तुत सङ्ग्रहमा १६ वटा निबन्धहरू सङ्कलित छन् । तिनको क्रम यस प्रकार छ :– क) घरभित्रको गाईजात्रा, ख) हाकिम आतङ्क, ग) आलोचक, घ) नाउँ चलाउने धुन, ङ) जङ्गबहादुरको काठमाडौं यात्रा, च) पाङर्पुले साइलाको विनास बजेट, ६) अखिल नेपाल बुहारी सम्मेलन, ज) कविताको रोग, झ) श्रीमतीको सदरीकरण, ञ) युद्ध, ट) तुहिएको योजना, ठ) पियनबहादुरको अन्तरिक्षयात्रा, ड) कान्तुपाध्येको पञ्चवर्षीय योजना, ढ) एक सदस्यीय छानवीन आयोग, ण) अवसरवाद र त) चाकरीको चोला । लेखन आरम्भको अवधिमा पत्रपत्रिकामा प्रकाशित रचनाहरू यस सङ्कलनमा सङ्कलित छन् । पारिवारिक जीवनका विसङ्गति, समाजका वर्ग, लिङ्ग र जातिगत विसङ्गति, राष्ट्रभित्रका सांस्कृतिक, आर्थिक र राजनीतिक विसङ्गतिहरूको अनावरण गर्दै तिनका विषम र अव्यवस्थित विषमताका पक्षहरूलाई निराकरण गर्नुपर्ने र समाजको परिमार्जन गर्नुपर्ने सन्देशका स्वरहरू ओकल्ने पौडेल नेपाली समाजको पर्यावरणमा हुर्केका समग्र विसङ्गतिलाई आलोचनात्मक यथार्थवादी ढङ्गले प्रस्तुत गर्ने शिल्प र चिन्तन प्रतिपादन गर्ने प्रयत्न गरेका छन् । यस सङ्ग्रहले नेपाली हास्यव्यङ्ग्यको साहित्यिक मूल्यलाई सरल र सहज ढङ्गले प्राथमिक कुरा स्थापना गर्ने प्रयत्न गरेको छ ।

२) बिहेको निम्तो :
पौडेलको दोस्रो निबन्धसङ्ग्रह हो— ‘बिहेको निम्तो’ । यस सङ्ग्रहमा चाहिँ जम्मा १५ वटा निबन्धहरू समावेश छन् । क) बिहेकोे निम्तो, ख) उर्दीको कोट, ग) छाता, घ) एक्काइसौँ शताब्दीमा फट्कदा, ङ) हेडसर हुने रहर, च) दिल्ली बजारकी बजु र मेरो प्रमोशन, छ) साँढेको बयान र अनिदो रात, ज) राम दाइको समाज सेवाको प्रथम चरण, झ) बिरबल भिनाजुको हिउँदे खेती, ञ) पैसाको बोट ट) बालाज्यूको वनभोज ठ) आफ्नै खोजी गर्दा । ड) सुब्बा साहेबको सरुवा, ढ) शहरको सरुवा रोग र ण) मेरो शनिवारे लभ यात्रा समेत यस सङ्ग्रहका रचनाहरू हुन् । यिनका विषयवस्तुको व्यापकता र गम्भीरता केही विकसित हुँदैगएको स्थिति यस सङ्ग्रहका निबन्धले प्रदर्शित गरेका छन् । नेपालको सामाजिक विसङ्गतिलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तहसम्मका विसङ्गतिमूलक प्रवृत्तिहरूको निराकरण अपेक्षित देख्ने दृष्टिकोण प्रबल बन्दै गएको छ । २०४१ सालपछिका ४ वर्षको समयावधिका हास्यव्यङ्ग्य रचनाहरू ‘बिहेको निम्तो’ सङ्ग्रहमा समावेश भएका छन् । यसमा सङ्कलित रचनाले नेपाली समाज र संस्कारमा कीटाणुका रूपमा विकसित भएका विकारग्रस्त दुर्गन्धहरूलाई हुँडलेर परिस्थिति अनुसारको सुधार सङ्केत गर्ने प्रक्रिया पौडेलका यस सङ्ग्रहका निबन्धले प्रदर्शित गरेका छन् । यस दृष्टिले पौडेलको हास्यव्यङ्ग्य लेखन अरू व्यापक र विस्तारित बन्दै गएको पक्ष यस सङ्ग्रहमा समावेश भएका निबन्धले प्रस्तुत गरेका छन् ।

३) मङ्की स्टेट याने वानरराज्य :
यो तेस्रो सङग्रह हो । यसमा २६ वटा हास्यव्यङ्ग्य निबन्धहरू प्रकाशित भएका छन् । २०४४ पछिका सातवटा वर्षमा लिखित हास्यव्यङ्ग्य रचनाहरू यस सङ्ग्रहमा समावेश भएका छन् । तिनको विवरण निम्नानुसार क्रमशः प्रस्तुत गर्दा : क) मङ्की स्टेट याने वानरराज्य, ख) विशेषताः समाजवादी ज्वाइ“हरूका, ग) बौलाहा कुकुरको खेती, घ) डेराको डण्डा ङ) पुरस्कार पाउने मेरो अठोट, च) थर आतङ्क, छ) जुहारी थरी थरीका, ञ) तैँ मोरीको पापी मायाले, झ) शिलाघाटन कार्यक्रम, ञ) बिचरा बिरामी बबुरो, ट) खबरदार आइते मिझारलाई सार्क लागेको छ । ठ) सर र सिजन, ङ) अन्तरिम र तदर्थको माखेसाङ्लोमा, ढ) फुटबलः खेल एक खेलाडी अनेक, ण) यस पालाको बजेट, त) उहाँ जी.एम. साब हुनुभयो, थ) बाढी पीडित सहायता सङ्घ, द) लेखक नहुनुको आनन्द, ध) नमस्कार भाउजू, न) असार महात्म्य, प) ज्यानलाई पर्नु पिर पर्यो, फ) वानरहरूको प्रथम अधिवेशन, ब) छ्यासमिसे विशेषज्ञहरूको विकास यात्रा, भ) पुरेत फेर्ने रोग, म) मेरो ओलम्पिक तयारी र य) ओ.जी.एल. माने खुल्ला आयात इजाजत । यसरी हेर्दा प्रस्तुत सङ्ग्रह पौडेलको तेस्रो कृति हो । यिनका अतिरिक्त लगभग एउटा सङ्ग्रह पुग्ने हास्यव्यङ्ग्यहरू विभिन्न पत्रपत्रिकामा छरिएर बसेका छन् । वर्तमान सन्दर्भमा कथा र हास्यव्यङ्ग्य निबन्ध क्षेत्रमा अत्यन्त क्रियाशील देखिने स्रष्टा हुन् ।

पौडेलको सृजना कथा र निबन्ध क्षेत्रमा वितरित भएको हुनाले निबन्धमा आख्यान चेतना, कथानकको श्रृङ्खला, पात्रको बहुलता, चारित्रिक विकीर्णता उद्घाटन प्रकट भएको छ । यदाकदा आख्यानले निबन्धगत स्वतन्त्र सञ्चरणलाई पनि समेटेर आफैं समाहित गर्न प्रयत्न गरेको तथ्य प्रतिपादन भएको देख्न पाइन्छ । पौडेलको कविता चेत र संस्कृत भाषाका ज्ञानले व्यङ्ग्यका परिहासात्मक पद्य उक्तिहरूको निर्माण गर्ने प्रयत्न पनि गरेका छन् । मोतीरामबाट आरम्भ भएको परिहासात्मक सृजनाधर्मी भैरव अर्यालमा पनि देखिएको हो, तर अर्यालको परिहासात्मक भाषिक विद्रूपणमा बहुभाषिक तद्भवीकरणको प्रबल स्थिति देखिन्छ भन्ने पौडेलका भाषिक विद्रूपणमा संस्कृतिको झण्डै ९० प्रतिशत व्याकरणिक र शाब्दिक सन्तुलन गर्ने प्रयत्न भएको छ । थोरै मात्र आनुप्रासिकता, हास्यात्मक स्थितिको सिर्जना पौडेलका निबन्धले प्रतिष्ठापित गरेका छन् । पौडेलको विद्रूपण कला विशेष प्राप्ति बनेको छ यिनै विशेषताका कारणले ।

‘फित्कौली’ अङ्क ३ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
हाइड्रो प्राज्ञ

हाइड्रो प्राज्ञ

राजेन्द्र सुवेदी
विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

विष्णु नवीनको चिन्तन र...

राजेन्द्र सुवेदी