साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दचित्रमा भूतको भिनाजु

Nepal Telecom ad

भूतको भिनाजु नेपाली भाषासाहित्य, शिक्षा, समाजसेवा, प्रकाशनका क्षेत्रमा सक्रिय साधक, स्मरणयोग्य व्यक्तित्व हो । अध्ययनशील, लगनशील, स्वाभिमानी, परिश्रमी, झोंकी, पातलो शरीर, फुर्तिलो कद, आकर्षक व्यक्तित्वको वास्तविक नाम वासुदेव शर्मा लुइँटेल हो भने साहित्यिक थुप्रै नाममध्ये प्रमुख नाम ‘भूतको भिनाजु’ हो ।

२३ वर्षको उमेरमा वि.सं. १९९७ सालको शारदा पत्रिकामा ‘आमा’ कविता सर्वप्रथम प्रकाशित गराएर नेपाली साहित्यमा देखा परेका लुइँटेलको वि.सं. १९७४ साल भदौ २३ गते शुक्रबार पिता झङ्कनाथ शर्मा लुइँटेल र माता चन्द्रप्रभा लुइँटेलको कोखबाट काठमाडौँस्थित ढुङ्गाअड्डा गाउँमा भएको उहाँको जन्म ।

काठमाडौंस्थित तीनधारा पाठशालाबाट वि.सं. १९९० देखि १९९९ सालसम्मको औपचारिक शिक्षा पाएका लुइँटेल वि.सं. १९९९ देखि २००४ सम्म नेपाली भाषा प्रकाशिनी समितिमा, वि.सं. २००४ देखि २०१० सम्म गोरखापत्र छापाखानामा, २००५ देखि २०२५ सम्म जुद्धोदय पब्लिक हाईस्कुलमा, कान्ति ईश्वरी राज्यलक्ष्मी हाईस्कुलमा २००७ देखि २०२६ सम्म, रात्रि पाठशाला हाईस्कूल नक्सालमा २०१० देखि २०२६ सम्म, जगदम्बा प्रकाशनमा २०१५ देखि २०३० सम्म, नेपाल टाइप फउन्ड्रीमा २०२६ देखि २०४३ सम्म, जगदम्बा गुठीमा २०३१ देखि २०४६ सम्म, जगदम्बा प्रेस प्रा.लि. मा २०१५ देखि २०४८ सम्म, मदन पुरस्कार गुठीमा २०१५ देखि २०५१ सम्म क्रमशः पण्डित, शिक्षक, दोस्रो हाकिम, कारिन्दादेखि कार्यालय सचिवसम्म रहेर सेवा पु¥याएका छन् ।

नेपाली भाषासाहित्यका क्षेत्रमा भूतको भिनाजुले लेखेका भूत छैन (२०४६), चिठी–चपेटा (२०२२), भीमसेनपाती (२०४४), जय नेपाल (२०२८), …बाट (२०४३), …बाटको बाँकी (२०४६), काकाका कुरा (२०४६), कुराउनी (२०४६), व्यक्तिगत चिठी (२०५२), सोहोरसाहार (२०५६) र बढारकुँढार (२०५७) मौलिक कृतिहरू हुन् । अनुदित कृति वैराग्य शतक (२०००), नीतिशतक (२०००), सम्पादनका रूपमा जुद्धोदय पब्लिक हाइस्कुल पत्रिका (२०१३–२०१९), छ््याकन (२०२५), डाढो (२०३१), जस्तातस्तै (२०३२) छन् ।

नेपाली भाषासाहित्यका क्षेत्रमा भूतको भिनाजु प्रकाशनका रूपमा कौवा प्रकाशन (२०२३), सङ्ग्रह प्रकाशन (२०३०), भैरव प्रकाशन (२०३३) । ढुङ्गाअड्डा प्रकाशन (२०४५), नयाँ नैकाप भन्ज्याङ प्रकाशन २०४५), तेत्तीस पुतली प्रकाशन (२०५०) को संस्थापक भएर वाङ्मयको क्षेत्रका विशिष्ट साधकहरूका कृतिहरू प्रकाशन गरेर महत्वपूर्ण योगदान दिएको पाइन्छ । यसै गरी भैरव—वासुदेव छात्रवृत्ति (२०३८), जानकी नन्दी गाउँ सेवा छात्रवृत्ति (२०४०), वासुदेव–शान्ति विद्यावारिधि विद्यावृत्ति (२०४०) र वासुदेव लुइँटेल पुरस्कार (२०५०) को स्थापना गरेर वृत्ति र पुरस्कारका क्षेत्रमा पनि योगदान दिएका छन् ।

नेपाली भाषासाहित्य (हास्यव्यङ्ग्य, साहित्य, कला, प्रहसन) का लागि संस्थागत रूपमा यति ठूलो उदेश्य लिएर यति ठूलो रकमको शिक्षण कोष राखिएको पुरस्कार नेपालमा सर्वप्रथम र गरिमामय पुरस्कार हो । यो पुरस्कार हरेक वर्ष रु. १,११,१११÷११ पैसाको दिइन्छ ।

भूतको भिनाजुको लेखाइ, बोलाइ, गराइमा एकरूपता पाइन्छ जो कमै प्रतिभा (साधक) हरूमा यस्तो भएको पाएको छु । आफ्नो व्यक्तित्व विकास गर्ने, अनुशासित रहने, अग्रजको आदर गर्ने, पछिल्लो पुस्तालाई हरदम प्रेरणा र कदर गर्न रुचाउने, प्रतिभाका धनीसँग साना–ठूला जोकोही पनि सङ्गत गर्न कार्यालय वा घरमा पुग्नेको कमी देखिँदैन । तर कुनै पनि क्षेत्रमा एक पटक चुकेको व्यक्ति भने पुगेको पाएको छैन । जति पुगेका छन् ती सबैले श्रद्धा गरेको, आदर गरेको पाएको छु । उहाँको सम्पर्कमा रहेका जोकोहीलाई यस्ता लाग्न सक्छ । अनौठो स्वभाव र विनोद स्वभावका प्रस्टवक्ता खरो लेखाइका रूपमा लिएको पाइन्छ ।

भूतको भिनाजुको खास मालिक चाहिँ मदनशमशेर राणाकी रानी जगदम्बाकुमारी हुन् । यिनले जगदम्बाकुमारी राणालाई ईश्वर नै मानेको देखियो । जीवनयात्रा क्रममा जीवनको कुनै मोडमा ठूलो गुन लगाएवापत रानी जगदम्बाका भक्त भएका रहेछन् । कुनै बेला उनको जग्गा लिलाम हुनबाट रानी जगदम्बाले उनलाई (कमलमणिकी आमा विद्यादेवी दीक्षितलाई रु.१५०००।– हजार चुक्ता गरिदिने वचनबद्धता देखाएपछि ऋणि शान्तिदेवी शर्मा लुइँटेललाई जुन गरिएको तमसुक वासुदेवको हातमा दुनामा राखेर दान दिएकी थिइन्) त्यही ऋणभारबाट मुक्त भएको सोही घरजग्गामध्येको रकमबाट नै पछि बिक्री गरेर वासुदेव लुइँटेल पुरस्कारको अक्षय कोष राखेर स्थापना गरेका छन् ।

रानी जगदम्बा राणाले दुःखका बेलामा गुन लगाएका कारणले वि.सं.२०५१ सालसम्म पनि रु.१२००।– मासिक तलबमा जागिर खाएर पनि आफ्नो स्वास्थ्यले साथ दिँदासम्म मदन पुरस्कार गुठी जान छोडेका थिएनन् । त्यसै गुनका कारण नै हुन सक्छ आजसम्म पनि केदारमणि, कमलमणि भक्त भएका ।

विगत एक दशकको सम्पर्कमा रहँदा भूतको भिनाजुसँगका सम्पर्कलाई नियाल्दा उहाँजतिको बफादार जागिरदार कमै हुन सक्छन् होला । आफ्नो कार्यालय सफासुग्घरका लागि यतिसम्म पनि गरे जुन दिन शाही नेपाली सेनाका तत्कालीन प्रधान सेनापति सुरेन्द्रबहादुर शाह मदन पुरस्कार पुस्तकालयमा प्रथम संस्करण छापिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदान हेर्न आउने कुरा थियो । प्रधान सेनापति पुस्तकालयमा आउने रे भन्ने सुन्दाखेरि सिपाहीको हाकिमलाई के इच्छा लागेको होला भनेका थिए । उहाँ आउनुको केही क्षण मात्रअघि अचानक मोती कुकुरले प्रवेशद्वारमै छेरिदियो, त्यो सोर्न मान्छे बोलाउने समय नै थिएन । आफैँले अँजुलीले सोरेका थिए । कमलमणिले प्रधान सेनापतिसँग वासुदेव शर्माको परिचय यसरी गराएका थिए । उहाँ प्रेम हजुर (जनार्दन सम) को गुरु हुनुहुन्छ भनेर चिनाएपछि उनको गुरु भए मेरा पनि गुरु पण्डित भनेर उत्साह बाँडेका थिए ।

आफूले काम गरेको बखतका कमी–कमजोरी र काम गरेको स्थानको आलोचना गर्न किमार्थ सक्दिनँ, जो देखियो भोगियो त्यहीं छोडेर आएँ भन्न सक्दिनँ भन्छन् । यो निष्ठावान् बफादार जागिरदारको कर्तव्य पनि हो । कुराको प्रसङ्गमा भन्नुभयो– यो पनि सत्य हो, आफूले खाएको भाँडामा किन थुक्ने !

यसै क्रममा उहाँले भन्नुभयो– हेर भाइ, जीवनमा दुःख त के गरिएन । खाली खुट्टा साइकल चलाएर चाँगुमा श्राद्ध गरी जे मिल्छ खाएर पढाउन पनि आएको छु । त्यसबखत म ताहाचल बस्थो । श्राद्धमा खाएका कुरा मुखबाट हुलुक्क आएको थियो । यसरी जीवनमा सङ्घर्ष गरियो, स्वाभिमान बेचिएन, दुःख गरियो ।

मदन पुस्तकालय र पुरस्कार गुठीप्रति जति निष्ठावान् र बफादार छन् सोहीअनुसार नेपाली भाषासाहित्यसेवीका लागि उदार, जिम्मेवारी पनि रहेको पाइन्छ । यी बूढाले बोल्दा कुराकानी गर्दा कुनै छलकपट गरेको पाइँदैन । साहित्यका लागि भनेपछि मन, वचन, कर्म र धनले सकेको सहयोग गरेको पाइन्छ । सम्पर्कमा रहेका जोकोहीलाई पनि प्रेरणा, अवसर दिने अप्रत्यक्ष रूपमा त्यस्ता स्रष्टाहरूको सम्मान पुरस्कारको प्रबन्ध गरिदिएको पाइन्छ ।

उहाँसँग के छ के छ, दैवी शक्ति नै छ भन्नुपर्ला । कुनै पनि व्यक्ति प्रथम भेट हुँदा नै उनले सिस्नु–पानी लगाई पो हाल्छन् । कुराकानी गर्दै सो व्यक्ति ठीक प्रवृत्तिको छ भने बुढाले पचाए भने सो व्यक्ति पुनः सम्पर्कमा रहला, नत्र फर्केर आएको मलाई थाहा छैन । मेरो वासुदेव माडसापसँगको सम्पर्कमा रहेका कारण केही त्यस्ता व्यक्ति टाढिएको पनि पाएको छु ।

मदन पुस्तकालयका हेड पिउन वा कारिन्दा जे भए पनि कमलमणिले जेसुकै ठाने पनि जानेबुझेसम्म वासुदेव शर्मा लुइँटेल भनेका मदन पुरस्कार गुठी तथा जगदम्बा प्रेसको केन्द्रीय व्यक्तित्व नै थिए । त्यहाँका शोभा नै थिए भन्दा दुई मत हुन्न ।

जोकोहीलाई पनि छिटो रुचाएको पाइँदैन । धेरै सम्पर्कमा रहेपछि भने जोकोहीको पनि कामअनुसार विभिन्न नामद्वारा सम्बोधन गर्ने गरेको पाइन्छ । अनौठो र विनोद स्वभावका धनी कसैसँग पनि स्वतःस्फूर्त रूपमा कुरा गर्ने गर्नुहुन्छ । आफ्नो नाम त कति–कति राखे, करिब–करिब ५० वटाभन्दा बढी उपनामबाट फुटकर लेख–रचना छपाएको पाइन्छ ।

मैले सम्झेअनुसार उहाँले जस–जसलाई जे–जे नाम राख्नुभएको छ सो नामबाट कसैले पनि नाइँनास्ति गरेको छैन होला, बरु बुढाले पत्याएकोमा प्रसन्न भएका छन् । ती नाम यस प्रकार हुन्– गोठाला, जोगी, नेप्टी, भँगेरे काङ्ग्रेस, सिपाही, लाहुरे, डेढे, इन्टरभ्यू प्रसाईं, राई बाहुन, धोबी, भुसतिघ्रे काङ्ग्रेस, बाबुकी छोरी, भूइँभालु, खप्पर चिन्डे, ढाक्रे, दारी नं. १, नं. २, नं. ३, भाइसाप, डा. गीता, हजुरिया जर्नेल, कोर्काली, पु.क.ज., बित्ते यी सबै वासुदेव माडसापले राखेका नाम हुन् ।

मैले जानेअनुसार जिउँदो अवस्थामा नै आफ्नो फोटोमा रुद्राक्षको माला लगाउने कार्यक्रममा पनि आफ्नो फोटो पठाएर उपस्थित जनाई आफ्नै कार्यक्रमको सभापति बनाउने, पीताम्बर ओढाउने, अनौठो–अनौठो कार्य गर्ने यस्ता भूतको भिनाजु नेपाली भाषासाहित्यका क्षेत्रमा लेखेर, प्रकाशन खोलेर, प्रकाशक भएर, पुरस्कार स्थापना गरेर, उत्साहित गरेर, सम्मान गरेर नेपाली भाषासाहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याए पनि त्यसका लागि सरकारी निकाय तथा कुनै सङ्घसंस्थाले आजसम्म कुनै किसिमको सम्मान, पुरस्कार, पदक दिएको पाइँदैन ।

जनस्तरबाटै यस्ता वाङ्मयसेवी भूतको भिनाजुलाई ८५ औँ वर्षगाँठको अवसरमा सामूहिक अभिनन्दन गरेर आधुनिक नेपाली साहित्यिक क्षेत्रमा व्यङ्ग्यसाहित्यमा विशिष्ट योगदान दिएबापत विनोदशिरोमणिबाट सम्मानित गरियोस् भन्दै ८५ औं वर्षगाँठको सुखद अवसरमा हार्दिक शुभेच्छा ।

उन्नयन, अङ्क ४५, २०५६ कार्तिक–मङ्सिर–पुस

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x