डा. दामाेदर पुडासैनी किशाेरनिःशब्द समय
आदिम चित्र टाँसेर छातीमा
समयले त्यसलाई निर्बाध
सुमसुम्याउन खोज्छ
तर सक्दैन
खोजेझैँ मुलायम स्पर्शको
रङ्ग र मौसम भर्न
करूप भइसकेको
धमिलो परिदृश्यसँगै
भित्तामा उभिएको क्यालेन्डर
हजारौँ माइल टाढाको
दस्तखतजस्तो लाग्छ
समय निःशब्द छ
मानौँ, विगतका क्रुर पञ्जाले
दिएका चोटहरू
अहिले पनि साक्षी छन्
अझै पनि क्षतविक्षत छ
सिङ्गो र सम्पूर्ण हुनुको अर्थ ।
चोक, घुम्ती र गल्लीहरूमा
लमतन्न रहेको बस्ती
विषालु मदिरा पिइरहेछ
नशाको यति धेरै आवेगमा पनि
बस्ती किन यति धेरै सुस्त छ ?
मान्छे निर्धक्कसँग
सुखको श्वास फेर्न
जीवन नै उत्सर्ग गर्न तयार छन्
समर्पणको उत्कट अभिलाषासँगै
मान्छे किन मुर्दा हुँदै ढलिरहेछ ?
फूलहरू बलात्कृत हुनुको अर्थ
जूनहरू उज्यालोसँगै
लुकामारी खेल्दै
मुस्कुराउनु पक्कै होइन
सपनाहरूकै लास बोकेर
स्वप्नदर्शी मनले
जीवन–गीत गाउनुको मज्जा
अनुभूत गर्नै सक्दैन
समय निःशब्द छ
र निःशब्द छन्
असङ्ख्य मनहरू
समय निःशब्द छ
र निःशब्द छन्
जीवनका लयहरू ।
कैयौँ इतिहासका
क्रुर कथाहरूबाट गुज्रिएर
पुनरावृत्त कथाको
नयाँ शृङ्खला जोड्दै
समयले भनिरहेझैँ लाग्छ–
”हो, म निःशब्द छु
नग्न बनाएर गएका छन्
आजका शक्तिशाली मान्छेहरूले मलाई ।”
Subscribe
Login
0 Comments
Oldest





































