साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काजीको कज्याइँ

Nepal Telecom ad

विश्वकप फूटबलको ज्वरोले यतिवेला नेपालीलाई पनि खिर्लिप्प पारेको छ । टोल–छिमेकका बूढापाकाले ‘कस्तो सुकुलगुन्डा रहेछ’ भन्दा’नि आफूलाई उम्दा भकुन्डे ठान्ने एउटा नेपाली म स्वयम् भए पनि भकुन्डो काण्डमा थर्मोमिटर लाउनु प¥या आजपर्यन्त था’छैन ।

नेपाली फूटबलको सर्वोच्च संस्था अखिल नेपाल फूटबल संघ (एन्फा) लाई भने यतिवेला १०४ डिग्री ज्वरोले हनहनी बनाएको छ । एन्फा जस्तो निर्जीव जिनिसलाई पनि कहीं ज्वरो आउ“छ ? तपाईंको कन्पाराले फूटबल खेल्न थालिसक्यो होला ।

त्यतिसारो नऔंताउनुस् ! एन्फा उर्फ काजीसा’ब र काजीसा’ब उर्फ एन्फा– हामीले दशकौंदेखि सुनिआएको कुरा यही हो । एन्फाको चर्चा चलाइसकेपछि त्यसका सदाबहार सरगना काजीसा’बको महिमामण्डन नगर्नु उहाँको व्यक्तित्वप्रति अनादर ठहर्नु बेर छैन ।

खतरा खेलाडी, बबाल व्यवस्थापक र सफल व्यापारीको उपमाले उहाँको विराट प्रतिभालाई सामान्य प्रतिबिम्बन गर्छ । लामो जुगदेखि एन्फाको पर्याय बनेका उहाँलाई ज्वरो आउँदा एन्फालाई हनहनी हुनुबीच तात्विक भिन्नता छैन भन्नुस् ।

एन्फालाई ‘काजीसा’ब एन्ड सन्स कम्पनी’ भन्ने विरोधीहरूको कटाक्ष कानेखुशीमा सीमित छ । विरोधी आवाज मुखर हुन नसक्नु राजतन्त्र हुँदै गणतान्त्रिक नेपालसम्म काजी सा’बको व्यक्तित्व अहोरात्र उकालो लागेको प्रमाण हो ।

नेपाली भकुन्डे जगतलाई पूर्णतः कज्याएर राख्न सफल काजी सा’बलाई ज्वरो फुटाउने दुस्साहसी अचानक कहाँबाट प्रकट भयो भन्दै पाखुरा सुर्कनुहोला । काजी सा’बलाई कज्याउन सक्ने कुनै माइकालाल नेपालमा नजन्मे पनि सात समुन्द्रपारका शत्रु आइलागेर उहाँको गाथमा आराम छैन भन्ने सुनिएको छ ।

हाम्रा जस्ता देशतिर हम्मेसी आँखा नडुलाउने बेलायतको ‘सन्डे टाइम्स’ भन्ने पत्रिकाका पत्रकारले कतारलाई विश्वकप आयोजक बनाउने पक्षमा मतदान गर्दा करोडौं रकम घूस खाएको बताएपछि काजीलाई बिसञ्चो भएको हो ।

स्वदेशी पत्रकारले लेखेको भए त्यसलाई अलपत्रकार बनाउन काजी सा’बलाई खास मुश्किल पर्ने थिएन (उहाँ बबाल व्यवस्थापक हो भनेर माथि नै भनिसकिएको छ) । केहीअघि उनै हमाम साहेबबाट काजी पुत्रले केही लाख डलर लिएको नेपाली संचारमाध्यमहहरूले उछालेका थिए ।

त्यसलाई काजीले हमाम साहेब र आफ्ना सुपुत्रले ‘वालपास’ खेल्दै व्यापारिक गोल गर्न खोजेको भनेर फासफुस पार्नुभएको थियो । यसपालि चाहिं विदेशी पत्रकारले आफूसँग नेपाली काजीको कर्तुत सावित गर्ने पर्याप्त प्रमाण पनि रहेको भनेपछि थर्मोमिटरमा ज्वरो अटाउन हम्मे परिरहेको छ रे !

घूसकाण्डमा फिफाबाट प्रतिबन्धित एएफसीका पूर्व अध्यक्ष हमामसँग बारम्बार नाम जोडिंदा काजीसा’बको काम तमाम हुने आशमा बसेका रैतीहरूको चिरबिरले ज्वरोको ताप अझ बढाएको पनि सुनिएको छ । तर, योग्यताको कदर हुनुपर्छ । केही अघि पारस खड्काले क्रिकेट संघको पनि जिम्मा लिइदिन काजी सा’बलाई आग्रह गरेको खुलासा भएको थियो ।

फरक जात–गोत्रका खेलाडीले समेत उहाँमाथि त्यत्रो भरोसा त्यसै गरेका होइनन् होला । नेपाली खेलजगत व्यावसायिक भएन भन्ने बोलका गीताङ्गेहरूले काजीको करोडौंको लेनदेन सफलताप्रति धेरै आशामुखी भएका हुन सक्छन् ।

हुन पनि, एउटा खेलाडीका रूपमा हामीलाई दक्षिण एसियाली फूटबल च्याम्पियन बनाएका काजीसा’बले …रूपमा पाकिस्तान, बंगलादेश, अफगानिस्तानका फूटबल संघहरूको तुलनामा कैयौं गुणा बढी मूल्यमा नेपालको मत बेचेर मातृभूमिलाई अन्तर्राष्ट्रिय हेडलाइन बनाएका छन् ।

कूटनीतिक कमजोरीका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको महत्ता ह्रासोन्मुख भएको गुनासो बढिरहेको वेला यो प्रकरणले त्राण दिएको छ ।

नेपाली फूटबलमा काजी सा’बको रजगजबारे सबै भलिभाँती छन् । भुक्तमान व्यहोर्नेहरू त उहाँको ताप–रापबारे थप जानकार होलान् । उनीहरूले भ्रष्टाचारको अन्तर्राष्ट्रिय आरोपमा काजी सा’ब स्वयम् कजिने हुन् कि भन्ने आशा गरेका हुन सक्छन् ।

‘भ्रष्टाचारप्रति शून्य सहनशील’ प्रधानमन्त्री महोदय र जागा ज्योति भएर भ्रष्टाचारी खोज्दै हिंडेका अख्तियार प्रमुखले नै काजीलाई कज्याउने हुन् कि भनेर आशा गर्नेहरू पनि नभएका हैनन् । आशामुखीको मनोकामना पूरा हुन्छ कि काजीले नै सबैलाई पाजी बनाउँदै आफ्नो ‘सल्तनत’ चलाउने हुन् भनेर फाइनल हुन चाहिं केही समय पर्खनै पर्नेछ ।

हामी दर्शक भकुन्डेहरूको काम, कर्तव्य र अधिकार त्यसै पनि पर्खेर हेरेको हे¥यै हुने हो ।

‘हिमाल’ खबरपत्रिका अनलाइन, १ असार २०७१

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x