साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व सोच

Nepal Telecom ad

मेरा क्रोधहरू सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रिया सकिनेछन्
अपराधमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु

म सकिएपछि घामका किरणले बनाउने अर्बौं छायामध्ये
घट्नेछ एउटा छाया
उज्यालो संसारको एउटा चेत सकिनेछ

म असाध्य माया गर्छु
मानिसका प्रेम र करुणाहरूलाई
उत्सवमा उठ्ने हात
र हावामा हल्लिने पताकाहरूलाई
प्रसन्न हुँदा उज्यालो
र खिन्न हुँदा अँध्यारो
प्रकाश र छायाका भेदहरूजस्ता
मानिसका आवेगहरूलाई
म भएसम्म म प्रेम गर्नेछु निरन्तर
तर, जब सकिनेछु म
सकिनेछ अँध्यारो र उज्यालोको भेद

जब म सुन्न छाडेर बोल्न मात्र थाल्छु
म सकिनेछु
जब म आफैंलाई मात्र वास्ता गर्छु
म सकिनेछु
म सकिएपछि
संसारबाट एउटा अनुराग सकिनेछ
एउटा अनुरागबाट आउने
अर्को अनुराग सकिनेछ
केही अनुरागको यात्राबाट पुगिने
प्रेमको गन्तव्य सकिनेछ
कसैले थाहा नपाए पनि
केही अधुरो हुनेछ संसार
जब म सकिनेछु

जब सकिन्छु म
एक्काइसौं शताब्दीको यान्त्रिकता विरुद्ध
एक्काइसौं शताब्दीकै ढुङ्गो उज्याएर
एक्काइसौं शताब्दीको व्यापारलाई
हिर्काइरहने एउटा जीवन सकिनेछ
अथवा मुनाफाखोरीको खोर विरुद्ध
शब्दहरू खेलाइरहने एउटा निब सकिनेछ
फूलहरू सकिने छैनन्
तर सुगन्धको एउटा हिस्सा सकिनेछ

थुप्रै आन्दोलन बाँकी रहे पनि
प्रेयसीलाई स्पर्श गर्दा
एउटा व्यक्तिमार्फत लोकले अनुभव गर्ने
एउटा आनन्द सकिनेछ
केही चुम्बन सकिनेछन्
केही शुभकामना सकिनेछन्
केही उच्छवास सकिनेछन्
यसरी म एक्लो सकिनेछु
तर मसँगै थुप्रै सुन्दरता सकिनेछन्

यसबेला जब म आफ्नो अस्तित्व सोच्दै छु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रूपहरू
अस्थिपञ्जर झैं हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरू छन् वरिपरि
गणितका सूत्रहरूले बाँधिएका
हृदयहरू छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरू
सकेसम्म जोगिने प्रयत्नमा छु
यदि म जोगिइनँ भने
मसँगै सकिनेछन्
मजस्ता अर्बौं मानिस

‘नेपाली कविता डट कम’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभियन्ताहरूलाई !

अभियन्ताहरूलाई !

गोविन्द वर्तमान
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x