साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता लेख्न बस्दा

Nepal Telecom ad

(एएनएद्वारा आयोजित अन्तराष्ट्रिय कविता प्रतियोगितामा
प्रथम पुरस्कार प्राप्त यस कविताका स्रष्टा तारकिणीलाई हार्दिक बधाइ सहित फित्कौलीको खितखित)

हजुरबाले पहिलोपल्ट सिकाएका हुन्–
निगालोको कलम बनाउन
पहिलोपल्ट सिकेको हुँ–
आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न ।
घाँसे रङका सपनाहरूको गुँड बनाएर
पेटभरि भोकको सारङ्गी रेट्दै
चारोको खोजीमा दूरदिशा उडेकी
कुनै माउचरी लाग्थिन् आमा
फर्किआउँदा
ऐँसेलुका पातमा सुनका कविताका टोप्रा पाउँथेँ म
कसौँडीभरि रापिलो दुःख पिएर
भतभत भातले लय हाल्दा मुग्ध हुन्थिन् आमा !
उस्तै सारङ्गी पेट बोकेर
मकै गोड्दा
पसिनाजस्तै कविताका दाना
बाको थाप्लोबाट चिप्लिएर खस्थे मट्टिमा
बियाडमा हरियै कविता उमार्थे बा
माथिबाट बादलले झ्वामझ्वाम फाल हान्दा
छ्यापछ्याप्ती हिलोमा बा कोदालो नचाउँथे
आमा रोपिदिन्थिन्–
बाका उखेलिएका हरिया कविता !
हिलो, घामपानी र इन्दे्रनी घुलेर
बाआमाको जीवन कोलाज बन्थ्यो
पहिरो बोकेका खहरेहरूले दमाहा बजाउँदा
झस्किएर उडिजान्थे
एक हुल कविता बाको इस्टकोटबाट ।
आमाको आँचलमा देश
–कविता भएर खेल्थ्यो
बाको काँधमा देश
–सगरमाथा भएर उचालिन्थ्यो
देशको आँगनभरि हुर्किन्थे शिशु–घामहरू ।
आज–
रेगिस्तानमा क्याक्टसका काँडाले
कसरी मुटुमा कविता खोप्न सक्छु म ?
टाढा समुद्रमा हाम्फाल्न लागेको सूर्यमा
देख्छु जब–
खुम्चिएको अनुहार बाआमाको
रक्तिम सिउँदो स्वास्नीको
चहकिला आँखा नानीका,
स्मृतिको पत्रमा कविता लेख्न बस्दा
कलमले विषाद गीत गाउँछ !
हजुरबाको स्वाभिमान बन्धकी राखेर
हुत्तिएको हुँ बिरानो भूमितिर
तर च्यात्न सकिनँ माटोको चित्र– आफ्नै हिर्दय
यो धरतीको भुल्भुले रगतको मूलभन्दा
हिमालकै सग्लो कविता लेख्न
फर्कंदैछु आमा !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x