हेमराज पन्तराज्यको खोजीमा
एक हातमा
नेपाल–बन्दको डण्डा
र अर्को हातमा
‘जात’ अभिमन्त्रित झण्डा बोकेर
म राज्यको खोजीमा निस्केको छु…
पहिले मेरा नेताहरूले
मलाई ‘वर्ग’ भन्न सिकाए,
अहिले तिनै नेताहरू
मलाई ‘जात’ भन्न सिकाउँदैछन्,
तराईको सम्म फाँटमा पनि
कान्ला हुन्छन् भनेर बताउँदैछन्,
साँच्ची अचेल उनीहरू
किन सत्य कुरो लुकाउँदैछन् ?
किन असत्यको बिस्कुन सुकाउँदैछन् ?
आमा सुम्निमा,
तिम्रो लास लुछ्ने
ती भालुका सन्तानहरू
फेरि बस्तीमै फर्केका हुन् र ?
पारुहाङको मोहनी–पानी
र पोरोमियोम्फामीको आँसुले भिजेको माटोमा
सिस्नुको झाङ मात्रै उम्रेको हो र ?
कुनै फेदाङ्बा छैन अचेल
जसले मुन्धुम अनुसार बेथा खुट्याओस,
निखुनी झर्केथालमा अक्षताहरू फैलाएर
जोर–बिजोरको जोखाना हेरोस्
अनि सिमे–भूमे र लागो पन्छाउन
श्रद्धधापूर्वक ‘सेरेगेम’ गरोस्
पहेंला घामका किरणहरूलाई
उतारेर केराका पातमा
खोल्सा–खोल्सीमा
नझस्कन भनोस्
निस्फिक्री खेलाउँदै लिसो र पासो
यो सिङ्गै ‘थान–मन्दिर’मा आव्हान गरेर तिमीलाई
घुङ्रिङका फूलहरूमा
एकताको मन्त्र फलाक्दै
यो ‘जागित्र’ को बिनास गरोस् …
देवी युमासाम्माङ,
हाम्री श्रद्देय बूढीबजू !
तिमी आफैं भन त
बुढासुब्बाको समाधिमाथि नै
कित्ताकाटको धर्का तान्न थालेपछि,
पुर्खाको यो छालालाई नै
यज्ञको च्यातचुते कपड़ा बनाएपछि
हामी कहाँसम्म जाने उधौलीमा ?
स्वाभिमान
नदीजस्तै ओरालो बगेको
यो बैगुनी समयमा
पृथ्वीनारायणलाई मात्रै
पेटभरि गाली गर्दै
हामी कहाँसम्म फर्कने उभौलीमा ?
तेअङ्सी सिरिजङ्गाको कसम,
महर्षि फाल्गुनन्दको कसम,
यो सिङ्गो आँगन नै मासिएपछि
कसरी अटाउलान् थकाली थाकखोलामा मात्र ?
काशीहाङ्बाको कसम,
चसक्क छाती दुख्छ अचेल
कहाँ अटाउने होलान्
यी चार–चौरास फैलिएका गुरुङहरू ?
महारानी युमा,
म किरातेश्वरलाई ढोग्छु भने
त्यसमा अरुको आपत्ति किन ?
मैले एक महिना ‘रोजा’ बस्दा
बरु अन्नै जोगाएँ नि
अरुको आपत्ति किन ?
मेरे ढुकढुकीमा छन् अवलोकितेश्वर
अरुको आपत्ति किन ?
मैले सिङ्गो ‘घर’ लाई नै
आफ्नो पनि ‘घर’ ठान्दा
अरुको आपत्ति किन ?
यार्सागुम्बा टिपेर
लालाबाला पाल्न
मनाङ पुगेका
केरौंजाबासीको कथा पनि हामीलाई थाहा छ,
ज्यान बेचेर लालाबाला पाल्दै
सिंहदरवारको पर्खाल उक्लिने
बदिनी दिदीको कथा पनि हामीलाई थाहा छ,
रामबहादुर स्वयंले
हरण गरेर साउदी पुर्याएकी
सीता नेपालीलाई सोध– हामी कस्ता छौं ?
आफ्नै पसिनाका सहस्र धाराले
मलेसियामा ‘रामायण’ लेखिरहेको
बुधन थारुलाई सोध– हामी कति अग्ला छौं ?
जबरजस्ती झण्डा गाडेपछि एउटाले
आफ्नै माटोबाट उखेलिएका
शरणार्थीलाई सोध– हामी कति सग्ला छौं ?
गोजीमा माटो बोकेर पनि
मरुभूमिमा स्वर्ग बसाउने
इजरायलीलाई सोध– हामी कति बेग्ला छौं ?
नालापानीको इतिहास घोक्दै
कालापानी बुझाउने हामी,
जनकपुरको आरती उतार्दै
टनकपुर बुझाउने हामी,
सगरमाथाको गौरव सुनाउँदै
गणेश हिमाल गुमाउने हामी,
मित्रताको मुस्कानसँगै
पालुङ–री चढाउने हामी,
अचेल देश खोज्न थालेका छौं …
खै, कस्तो कुरूप ठट्टा हो यो आफैंप्रति
भएको देशलाई दुत्कारेर
नभएको ‘राज्य’ खोज्न थालेका छौं हामी…
त्यसै त यो एउटा सानो ‘दाँते–ओखर’
त्यहींमाथि हामी आफैंले
‘एकता’को बोक्रो फुटाई दियौं भने,
‘सुरक्षा’को घेरो चर्काई दियौं भने,
कतिन्जेल सुरक्षित रहन्छ कुन्नि यो
यी बड़ेमानका ‘बङ्गारा’ हरूका बीचमा…
सोच्छु, कति कुरूप छ– यो झण्डा पछाडिको राजनीति,
सोच्छु, कति बिषालू छ– यो यदुवंशी पवृत्ति,
देश ‘बन्द’ गरेर आफ्नो ‘मुख’ खोल्नेहरू,
बाटो ‘बन्द’ गरेर बैङ्कमा ‘खाता’ खोल्नेहरू,
भाइ मारेर आफ्नै हातले
भतिजाको सम्पति सोहोर्नेहरू
कति क्ुरू छ हामो नियति…
अनि ‘केचना’ देखि ‘चोमोलुङमा’
हिमालसँगै बिउँझने नदी,
र त्यसको नागबेली बगर,
सुन फल्ने खेत,
र जीवन–दायिनी जलराशि,
मुस्कान सुबासित ओठ
र आशालू दृष्टिहरू
सबैतिर सिर्जनै सिर्जना र
सबै सबै नै कर्मी नागरिकहरू,
आहा, कति सम्पन्न छ हाम्रो प्रकृति !
कति महान् छ हाम्रो संस्कृति !!
यस्तो ठाउँमा जन्मेर पनि,
रगतमै यी गुण पाएर पनि,
देशकै ‘छानो’ पाएर पनि,
देशकै ‘मानो’ खाएर पनि,
अचेल के भएको छ मलाई
र मातृभूमिको ‘वन्दना’ लेख्दिन ?
आमा,
साँच्चै, अचेल म किन
सिङ्गो ‘नेपाल’ को सपनै देख्दिन ?
एक हातमा
नेपाल–बन्दको डण्डा
र अर्को हातमा
‘जात’ अभिमन्त्रित झण्डा बोकेर
म आफ्नै देश मासेर
‘राज्य’ को खोजीमा निस्केको छू… ।
Subscribe
Login
0 Comments
Oldest






































