महेश थापाउडुस विद्रोह
संविधानसभा बैठक कक्षका रित्ता कुर्सी नियाल्दै सभामुख महोदयले बैठक सुचारु गर्ने आदेश के दिएका थिए, कुनाकाप्चाबाट दगुर्दै दशरबाह्र थान सभासद् रोष्ट्रम अघिल्तिर भेला भए । बैठकमा सभासद् देखिँदा उत्पन्न खुशीले गर्दा हो वा माननीयहरूले कुनै नवीन उपद्रव गर्न लागेको सन्त्रासका कारण बाह्रै मास एकै मुद्रामा प्रस्तुत हुने सभामुखको मुहारमा विस्मय भाव फैलियो ।
सँगसँगै सोधनी भयो– अवरुद्ध गर्न खोज्नुभएको ‘यो व्यवस्थापिका संसद् बैठक परेन त, माननीय !’
‘चिलायो भन्या !’ सभासद्हरू समवेत स्वरमा चिच्याए ।
‘कन्याउनुस् न त आफैं ! यहाँ आफ्नै आसनमा त लुतो सल्क्या जस्तो भइसक्यो ।’
सभामुख महोदय रिसाएको हो या जिस्किएको, यकिन हुन सकेन ।
केही क्षणमा सोधनी भयो, ‘हामी कुन विषयमा छलफल गर्दै थियौं ?’
‘अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको अधिकारको गफ थियो क्यार !’ एक सभासद्ले विषय सम्झन खोजे ।
‘माघ ८ आइसक्यो, छिटो गर्नुस् लौ ! यति माननीयले आफ्नै कुरो राखे’नि अल्पसङ्ख्यककै ठहर्छ ।’
‘यो सामान्यजनका लागि शून्य समयको बोली नभई हामी महाजनको व्यथा भएकाले रेला नगर्नुस्, सभामुख महोदय !’ सभासद्हरू कड्किए ।
‘के पर्यो, त्यस्तो ?’ सभामुख गम्भीर देखिए ।
‘ह्याँ कन्याउँदा कन्याउँदै सारा शृङ्गार ध्वस्त भइसक्यो !’ सभासद् महोदयाले एउटा उडुस टिपेर टेबल गरिन् ।
‘जनप्रतिनिधिहरूलाई उडुसबाट जोगाउन नसकेबाटै सरकारको खडुसपना छ्यालब्याल भएको छ !’ दुईटा उडुस टेबल गर्दै विपक्षी दलका माननीय च्याँट्ठिए ।
समस्याको गम्भीरताबोध गरेका सभामुखले तत्काल बैठक स्थगित गर्दै उडुस सफायाको आदेश दिए । त्यसबाट सचिवालयमा घन्टी बजेपछि मैले कीटनाशक उठाएँ ।
‘मूर्दावाद ! मूर्दावाद !’
झ्याल–ढोका बन्द गरेर मधुरो प्रकाशमा विषादी छर्नै लागेको वेला आएको भीषण आवाजले मेरो हंसलाई नराम्ररी हल्लायो । यसो हेर्छु त माननीयहरूको आसन–आसनमा उफ्रँदै उडुसहरू नारा लगाइरहेका ।
‘कीराहरूले पनि नाराबाजी गर्न जान्यौ हैन ?’ अनायासै मेरो हाडविनाको जिब्रो चिप्लियो ।
‘सङ्गत गुनाको फल नि !’
‘बढ्ता नबोल, कीरो !’
‘तिमेरु मान्छे जस्तो स्वत्वविहीन त होइनौं नि हामी !’
मैले विषादीको पाइप सोझ्याएँ ।
‘आफ्नो र पराया पनि छुट्याउन नसक्ने थुइक्क मान्छेको जात !’ एन्टेना झैं जुँगा ठाडो पार्दै एउटा उडुस पड्कियो ।
‘आफन्त भए हाम्रा प्रतिनिधिहरूलाई किन सास्ती दियौ ?’
‘प्रतिनिधि रे ? बैठक कक्षमा कस्ता–कस्ता फतौरा बस्छन् भन्ने थाहा छैन तिम्लाई ?’ उडुसहरू हाँस्न थाले ।
‘सभासद् कोषमा पाँच करोड नझारेसम्म बजेट पास हुन दिन्नौं भन्छन् । अनि त्यो रकम कार्यकर्ता क्लब, सालो सङ्घ, साली समूह र भिनाजु समितिमा वितरण गरी कसरी पचाउने भन्ने तरकिब एकअर्कालाई सुझाउँछन्, बुझेनौ ?’
‘असत्तिहरूले मात्तिएको वेला पात्तिएका कुरा गरेर हाम्रा लार्भाहरूलाई पनि बिगार्लान् भनेर डरसरी बनाएका छन् ?’ निकै छिप्पट जस्तो देखिने पोथी उडुस कराई, ‘तिमीहरू पानीमरुवा, आवाज उठाउन सक्दैनौ । असह्य भए’सी तिमेर्का लागि पनि हाम्ले विद्रोह गर्नुपर्यो !’
‘उसो’भे सोझा जनतालाई टोक्न किन नछाडेको त ?’
‘तिमी नेपाली साह्रै पुङमाङ भयौ !’ नाकेडाँडीमै उक्लिएर एउटाले हपार्यो– ‘सभासद्हरूलाई उडुसले टोक्दा यत्रो कोहराम मच्चिने, सर्वसाधारणका लागि ‘एन्टी स्नेक भेनम’ पनि नभेटिने !’
‘सभासद्को क्यान्टिनमा बासी खाना तताउँदा छानबिन समिति बनाउने, जनताको धारामा हैजायुक्त पानी पठाउँदा फोसा ठान्दै सुस्ताउने ! आफ्ना लागि बोल्न नसक्नेहरूको भागमा उडुस, उपियाँ, लामखुट्टे, झिंगाको टोकाइ बाहेक अर्थोक के पर्छ त ?’ अर्को आएर कानैमा करायो ।
मेरो मनमा अनायासै उडुस आवाजप्रति समर्थनभाव हुँडलिन थाल्यो । जम्लाहात पार्दै भनें, ‘हामी निम्छराहरूका लागि
उडुस समुदायबाट ऐलान भएको विद्रोहप्रति मेरो धुमधाम समर्थन छ ।’
’हाजिरीको भरमा भत्ता पचाउने, जनता बिर्सी आफ्नै सुविधा बढाउने, राज्यकोषलाई उल्फाको धन ठान्ने माननीयहरूलाई खोजी–खोजी टोक्नुस्, लखेटी–लखेटी टोक्नुस् । हरेक ठाउँमा टोक्नुस्, कुठाउँमा पनि टोकिदिनुस् !
उडुस विद्रोह– जिन्दावाद !’
‘हिमाल’ २६ असार २०७१
Subscribe
Login
0 Comments
Oldest







































