साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्याँसी पनि जोगिनी भएर आए हुने !

Nepal Telecom ad

पोहोर साल जोगी भएदेखि आजका दिनसम्म बिसन्चो भएर ओछ्यान पर्ने फुर्सद मिलेको छैन । बाबुले बर्तुन्न गरिदिएको दिनदेखि हुर्काई बढाई गरेको छेपारोभन्दा जर्खरिएको मेरो टुपी नकाटुन्जेल आनन्दले सन्यास लिएको मनमा अहिले खुसीको मधुवन पलाएको छ । टुपी छउन्जेल घरी छोरी सिरूपाते भन्थी– मलाई आजै जिन पाइन्ट चाहिन्छ है बा ! छोरो जगरे गर्जिन्थ्यो– ए बा ! मलाई साँझ दोहोरी नगई हुन्न, पाँच सय चाहिन्छ ! यी सँगसँगै जगरेकी आमा च्याँसी च्याँठिन्थी– हेर है जगरेका बाउ ! अहिलेदेखि यस्ती फुलेबूढी भएर तिमीसँग निर्बाह गर्न सक्तिनँ म, सुन्दरी घर जानुछ मलाई । आफ्नो बगलीको खती भएपछि परिवारको मति देखेर पनि रीस उठ्ने रहेछ । फेरि छोरो जगरे त साह्रै बल्ड्याङ्ग्रो पो छ त । पैसा दिन्न, छैन त भन्नै नहुने । आँखा झिमिक्कै गर्न नपाइने, कि च्याँसीको मुन्द्रा छैन, कि सिरूपातेको पाइन्ट छैन, कि मैले दुःखमा जम्मा गरेको खुत्रुके वा गतिलो कमिज छैन । त्यो चोरीको माल उडाइसकेपछि बल्ल छोरा महाशयको घरमा दर्शन पाइने, च्याँसीको लोलोपोतेले सर्लक्क लिपेपछि बाबुचाहिँले बोल्न नपाइने । हरि शरणम् ।

हे हरि ! म कसरी बेलिबिस्तार लाऊँ आफ्ना बह । फेरि आफू परियो चौबीस वर्षे हात्तीसारको खर्दार । मैले जागिर खाईकन आफ्नै आँखाका सामुन्ने घोर्लेघोर्ले हात्ती सरेर गए, धेरै दिनसम्म हात्ती बाँधेका कीला र साङ्लामात्र रहेको त्यो ठाउँमा ख्याल राम्रा घरहरू बनेनन् । जैरेदेखि खैरेसम्म, विदेशी कालादेखि हरि सरका सालासम्म, मखमली टाइपिस्टको तेस्रो प्रेमीदेखि सरकी घरकी कर्किनीकी पुरानो मालिककी भित्रिनीपट्टिकी छोरी धानसरासम्मले मोजले जागिर खाएको पनि यिनै आँखाले टुलुटुलु हेरेकै हो । हुन पनि भित्रिनी मोरीकी छोरी बिछट्टै गोरी थिई । उसलाई देखेपछि लाटाले पाकेको केरा हेरेझैँ हेर्थेँ म । यसो एकान्त पारेर सुख दुःखका बात गरौँला भन्दाभन्दै धानसरा त हाकिमको गाडी चढेर पो घर अफिस गर्न थालेपछि म बिचरो खर्दारको सपना च्याँसीको कटाक्ष र घुर्कीमा समापन हुन थाले । दिमागमा धानसराको तस्बीर टाँगेर च्याँसीका सम्पर्कमा लोतेलोते बस्न थालेँ म । यही क्रममा त हो नि सिरूपाते र जगरेको जन्म भएको पनि । एक किसिमले भन्ने हो भने धानसराको ध्यानबाट च्याँसी रसाएकी हो, सिरूपाते र जगरे त्यसैका बाढी पैह्रा हुन् ।

यो हात्तीसारको सरकारी अफिसमा धेरै मानिस जागिरे भई आए, गए । अझै आउँदा छन् जाँदाछन् । तर आफू भने न कतै जान सकियो र न धीतमर्ने गरी यो जागिरलाई खान नै सकियो । उल्टै घरी घरी त यो थोत्रे जागिरले पो मलाई खाउँला खाउँलाझैँ पनि पा¥यो भाइ ! न सरुवा न बढुवा उल्टै जिन्दगी गढुवा हुने कुरा मेरा ब्र≈मले देखेपछि दुई वर्षअगाडि– लौ मरिजा ! भनेर त्यो जागिरलाई घाटमा लगेर तिलानी दिएँ । सुरुमा त ख्याल चित्त दुखेन यो चौबीस वर्षसम्म गोडमेल गरेको जागिरलाई राजिनामाको करौँती लगाउनु पर्दा । तर त्यसपछि पाएको भनौँ कि हात लागेको भनौँ अनुदाने क्याँटले भने परिवारलाई नै छाँट पारेर फुल्न धेरै नै गुन लगायो एक वर्षसम्म । जगरेले जगर फुलायो, सिरूपाते पुतली मैयाँ बनी, च्याँसीको भैँमा खुट्टा रहेन, मैले पनि मोजैले खर्च गरेँ क्या, झूट बोल्न हुन्न ।

सजिलैसित पैसा सकिँदै गयो, परिवारका मुखमा बादलका छाया बस्न थाले, मीठा मसिना सम्वादका बीचबीचमा बिझाउने गिर्खा खस्न थाले । पूर्णेका जूनजस्ता आँखामा बादल डढेको रङका वर्षा भए । वाक् लडाईंमा शब्द थाकेपछि थाल कचौराले शस्त्र–अस्त्रका काम गरे । एक दिनको कुरा हो म खाना खान आफ्नो पुख्र्यौली पिरुकामा टुस्स मात्र के बसेको थिएँ च्याँसीको हातको डाडु रित्तो गाग्रीमा बज्रियो– यो खप्पर चुहिएको छ महिना भइसक्यो यौटा गाग्री किन्न नसक्ने हुतिहाराकी जोई हुनुभन्दा त कुमारगर्भै नबिगारिकन जोगिनी भएर बस्नु बेस । मैले बिस्तारै भनेँ– नरिसाउन च्याँसी ! अहिले नै नयाँ गाग्री किन्ने पैसा त भएन, बरु यसलाई म आजै टालेर ल्याउँला ! च्याँसी झनै रिसाई– लौ टाल ! अब मेरो फुटेको कर्मलाई पैले, सिरूपाते दुई दिनदेखि गायव छे, उसको घर नआउने मन टाल दोस्रो, जगरेले ठूलो तिलहरी उडाएपछि सुनपानी खाने प्रतिमा पनि घरमा छैन, छोराको चोरबुद्धि टाल तेस्रो ! के के टाल्छौ अरू भन्दै मेरो कन्चटको झ्यापुल्ले सेतो रौँ समातेर फुत्तै तानी दिई । हेर्नोस् नपत्याए ! यो खोइराले खाएको होइन, च्याँसीले उडाएकी हो । के गर्ने, मनको वह कसैलाई न कह भनेर एक वर्षसम्म मुख सिएर बसेँ ।

यसरी नै दिन बित्न थाले । के दिन बिते भन्नु काल टर्दै गयो भन्नु बेस होला । बिस्तारै साँझ सबेर चुलो बल्न छाड्यो । परिवारका चार प्राणी चार दिशामा हराउन थाले । कसैलाई कसैको चिन्ता रहेन । त्यै बेला मैले जे निर्णय गरेँ त्यो संसारकै उच्च निर्णयमध्ये एक हो भन्ने मेरो अठोट छ । मलाई धन्यवाद दिनु पर्छ मैले । तरुनो बेलामा जुँगा काट्ने सानो कैँची दलिनमा घुसारेर राखेको थिएँ ऐनमौकामा काम लाग्यो । त्यसलाई ढुङ्गामा दलीदली उध्याएँ । अनि यामानको मुठे टुपीलाई देब्रे हातले मुठ्याएर चट्टै काटी दैलामाथि झुन्ड्याई दिएँ । त्यसपछि बम्बम् भोले भन्दै सत्तलको बास मज्जाको छ । चल् जोगी फट्कार छाला जहाँ जाला त्यहीँ खाला, हाईसन्चो भएको छ मलाई । भन्न त च्याँसी पनि बेलाबेलामा जोगिनी हुनु बेस भन्थी, बरू ऊ पनि चुल्ठो मुठारेर यतै आए हुने भन्ने कुरा चाहिँ मनमा लगिरहन्छ, किन होला ! !

वाणभञ्याङ, काठमाडौँ 

\’फित्कौली \’ अंक ९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
0
Would love your thoughts, please comment.x
()
x