भूवनहरि सिग्देलच्याँसी पनि जोगिनी भएर आए हुने !
पोहोर साल जोगी भएदेखि आजका दिनसम्म बिसन्चो भएर ओछ्यान पर्ने फुर्सद मिलेको छैन । बाबुले बर्तुन्न गरिदिएको दिनदेखि हुर्काई बढाई गरेको छेपारोभन्दा जर्खरिएको मेरो टुपी नकाटुन्जेल आनन्दले सन्यास लिएको मनमा अहिले खुसीको मधुवन पलाएको छ । टुपी छउन्जेल घरी छोरी सिरूपाते भन्थी– मलाई आजै जिन पाइन्ट चाहिन्छ है बा ! छोरो जगरे गर्जिन्थ्यो– ए बा ! मलाई साँझ दोहोरी नगई हुन्न, पाँच सय चाहिन्छ ! यी सँगसँगै जगरेकी आमा च्याँसी च्याँठिन्थी– हेर है जगरेका बाउ ! अहिलेदेखि यस्ती फुलेबूढी भएर तिमीसँग निर्बाह गर्न सक्तिनँ म, सुन्दरी घर जानुछ मलाई । आफ्नो बगलीको खती भएपछि परिवारको मति देखेर पनि रीस उठ्ने रहेछ । फेरि छोरो जगरे त साह्रै बल्ड्याङ्ग्रो पो छ त । पैसा दिन्न, छैन त भन्नै नहुने । आँखा झिमिक्कै गर्न नपाइने, कि च्याँसीको मुन्द्रा छैन, कि सिरूपातेको पाइन्ट छैन, कि मैले दुःखमा जम्मा गरेको खुत्रुके वा गतिलो कमिज छैन । त्यो चोरीको माल उडाइसकेपछि बल्ल छोरा महाशयको घरमा दर्शन पाइने, च्याँसीको लोलोपोतेले सर्लक्क लिपेपछि बाबुचाहिँले बोल्न नपाइने । हरि शरणम् ।
हे हरि ! म कसरी बेलिबिस्तार लाऊँ आफ्ना बह । फेरि आफू परियो चौबीस वर्षे हात्तीसारको खर्दार । मैले जागिर खाईकन आफ्नै आँखाका सामुन्ने घोर्लेघोर्ले हात्ती सरेर गए, धेरै दिनसम्म हात्ती बाँधेका कीला र साङ्लामात्र रहेको त्यो ठाउँमा ख्याल राम्रा घरहरू बनेनन् । जैरेदेखि खैरेसम्म, विदेशी कालादेखि हरि सरका सालासम्म, मखमली टाइपिस्टको तेस्रो प्रेमीदेखि सरकी घरकी कर्किनीकी पुरानो मालिककी भित्रिनीपट्टिकी छोरी धानसरासम्मले मोजले जागिर खाएको पनि यिनै आँखाले टुलुटुलु हेरेकै हो । हुन पनि भित्रिनी मोरीकी छोरी बिछट्टै गोरी थिई । उसलाई देखेपछि लाटाले पाकेको केरा हेरेझैँ हेर्थेँ म । यसो एकान्त पारेर सुख दुःखका बात गरौँला भन्दाभन्दै धानसरा त हाकिमको गाडी चढेर पो घर अफिस गर्न थालेपछि म बिचरो खर्दारको सपना च्याँसीको कटाक्ष र घुर्कीमा समापन हुन थाले । दिमागमा धानसराको तस्बीर टाँगेर च्याँसीका सम्पर्कमा लोतेलोते बस्न थालेँ म । यही क्रममा त हो नि सिरूपाते र जगरेको जन्म भएको पनि । एक किसिमले भन्ने हो भने धानसराको ध्यानबाट च्याँसी रसाएकी हो, सिरूपाते र जगरे त्यसैका बाढी पैह्रा हुन् ।
यो हात्तीसारको सरकारी अफिसमा धेरै मानिस जागिरे भई आए, गए । अझै आउँदा छन् जाँदाछन् । तर आफू भने न कतै जान सकियो र न धीतमर्ने गरी यो जागिरलाई खान नै सकियो । उल्टै घरी घरी त यो थोत्रे जागिरले पो मलाई खाउँला खाउँलाझैँ पनि पा¥यो भाइ ! न सरुवा न बढुवा उल्टै जिन्दगी गढुवा हुने कुरा मेरा ब्र≈मले देखेपछि दुई वर्षअगाडि– लौ मरिजा ! भनेर त्यो जागिरलाई घाटमा लगेर तिलानी दिएँ । सुरुमा त ख्याल चित्त दुखेन यो चौबीस वर्षसम्म गोडमेल गरेको जागिरलाई राजिनामाको करौँती लगाउनु पर्दा । तर त्यसपछि पाएको भनौँ कि हात लागेको भनौँ अनुदाने क्याँटले भने परिवारलाई नै छाँट पारेर फुल्न धेरै नै गुन लगायो एक वर्षसम्म । जगरेले जगर फुलायो, सिरूपाते पुतली मैयाँ बनी, च्याँसीको भैँमा खुट्टा रहेन, मैले पनि मोजैले खर्च गरेँ क्या, झूट बोल्न हुन्न ।
सजिलैसित पैसा सकिँदै गयो, परिवारका मुखमा बादलका छाया बस्न थाले, मीठा मसिना सम्वादका बीचबीचमा बिझाउने गिर्खा खस्न थाले । पूर्णेका जूनजस्ता आँखामा बादल डढेको रङका वर्षा भए । वाक् लडाईंमा शब्द थाकेपछि थाल कचौराले शस्त्र–अस्त्रका काम गरे । एक दिनको कुरा हो म खाना खान आफ्नो पुख्र्यौली पिरुकामा टुस्स मात्र के बसेको थिएँ च्याँसीको हातको डाडु रित्तो गाग्रीमा बज्रियो– यो खप्पर चुहिएको छ महिना भइसक्यो यौटा गाग्री किन्न नसक्ने हुतिहाराकी जोई हुनुभन्दा त कुमारगर्भै नबिगारिकन जोगिनी भएर बस्नु बेस । मैले बिस्तारै भनेँ– नरिसाउन च्याँसी ! अहिले नै नयाँ गाग्री किन्ने पैसा त भएन, बरु यसलाई म आजै टालेर ल्याउँला ! च्याँसी झनै रिसाई– लौ टाल ! अब मेरो फुटेको कर्मलाई पैले, सिरूपाते दुई दिनदेखि गायव छे, उसको घर नआउने मन टाल दोस्रो, जगरेले ठूलो तिलहरी उडाएपछि सुनपानी खाने प्रतिमा पनि घरमा छैन, छोराको चोरबुद्धि टाल तेस्रो ! के के टाल्छौ अरू भन्दै मेरो कन्चटको झ्यापुल्ले सेतो रौँ समातेर फुत्तै तानी दिई । हेर्नोस् नपत्याए ! यो खोइराले खाएको होइन, च्याँसीले उडाएकी हो । के गर्ने, मनको वह कसैलाई न कह भनेर एक वर्षसम्म मुख सिएर बसेँ ।
यसरी नै दिन बित्न थाले । के दिन बिते भन्नु काल टर्दै गयो भन्नु बेस होला । बिस्तारै साँझ सबेर चुलो बल्न छाड्यो । परिवारका चार प्राणी चार दिशामा हराउन थाले । कसैलाई कसैको चिन्ता रहेन । त्यै बेला मैले जे निर्णय गरेँ त्यो संसारकै उच्च निर्णयमध्ये एक हो भन्ने मेरो अठोट छ । मलाई धन्यवाद दिनु पर्छ मैले । तरुनो बेलामा जुँगा काट्ने सानो कैँची दलिनमा घुसारेर राखेको थिएँ ऐनमौकामा काम लाग्यो । त्यसलाई ढुङ्गामा दलीदली उध्याएँ । अनि यामानको मुठे टुपीलाई देब्रे हातले मुठ्याएर चट्टै काटी दैलामाथि झुन्ड्याई दिएँ । त्यसपछि बम्बम् भोले भन्दै सत्तलको बास मज्जाको छ । चल् जोगी फट्कार छाला जहाँ जाला त्यहीँ खाला, हाईसन्चो भएको छ मलाई । भन्न त च्याँसी पनि बेलाबेलामा जोगिनी हुनु बेस भन्थी, बरू ऊ पनि चुल्ठो मुठारेर यतै आए हुने भन्ने कुरा चाहिँ मनमा लगिरहन्छ, किन होला ! !
वाणभञ्याङ, काठमाडौँ
\’फित्कौली \’ अंक ९ बाट
Subscribe
Login
0 Comments
Oldest








































