डा.हरिप्रसाद सिलवालअन्तरिम एक्सरे
च्वास्स पृष्ठभूमि
शरीरविज्ञानको लीलालाई अपरम्पार मानिन्छ । यति धेरै डाक्टरहरूको विगविगी हुँदा पनि उत्तिनै रोगव्याधिले सताएको सतायै छ । आज फरि अर्को रोगी शरीर आएको छ, यो अस्पतालमा । “डाक्टरलाई जँचाएर ल्यायौ त ?” “अँ ल्याएँ । उनले ल्याबमा जानू, रगत र खकार परीक्षण गर्न दिनू भन्नुभएको छ ।” “खै के लेखिएको रहेछ ?”
यो रोगी विशेष प्रकारको छ । यसलाई शारीरिक भन्दा पनि विशेष रोगले सताएको छ । रोगी धेरै पुरानो पनि छ । शायद धेरै चोटि सइन पल्टेर पनि बाँचिरहेको जस्तो देखिन्छ । यसपटक भने …? हो, यसपटक चाहिँ वास्तविक रूपमा यसको उपचार गर्नुपर्ने देखिन्छ । हुन त पहिला पनि वास्तविक उपचार गरिएको हो । तर रोगीले आफ्नो सक्कली रोग नै ढाँटेको रहेछ । ऊ नाम पनि ढाँट्दो रैछ र रोग पनि । तर उपचार गर्न भने आइरहन्छ । ऊ ढाड दुख्दा पाइताला देखाएर यहाँ दुख्यो भन्थ्यो भने पेट दुख्दा घाँटी दुखेको कुरा गथ्र्यो । तर आज यसले आफ्नो सही रोग बताएको छ । उसलाई निकै छाती दुखेको रहेछ । यसको छातीमा धेरै दर्दहरू छन् । विचरा यसले छातीमा अनगिन्ती सपनाहरू पालेको रहेछ । त्यही सपनाले अनेक माग राखेर आन्दोलन गर्दा यसलाई बाधा परेर छाती दुख्दो रैछ । यसले पहिला किन ढाँटेको हो भने यसको नाम नै अर्कै वा उपनाममा बाँच्ने गरेको रहेछ । अब आफू उपनाममा बाँचेकाले जँचाउन आएको बेला डाक्टरहरूलाई पनि उपरोग भन्दो रैछ । विज्ञानले त्यस्तो उपरोगको उपचार गर्न नसक्ने र जति चोटि एक्सरे गरे पनि वास्तविक रोग त नदेखाउने हुन्छ । यसरी नै यो बिरामी लामो कालखण्डबाट पीडित हुँदै आएको रहेछ । तर आज यस बिरामीको खास नाम र छद्म नाम पत्ता लाग्ने गरी एक्सरे गर्नुपर्छ । नत्र यसले छिट्टै ‘टाटा’ गर्छ धर्तीबाट । यस्ता महान् रोगीलाई हाम्रो अस्पतालले गुमाउन हुन्न । हाम्रो अस्पताल टाट पल्टँदै गएको पनि यही यस्तै महान् महान् बिरामीले संसारबाट टाटा गर्दै गएकाले हो । जसरी हुन्छ उपचारमा संलग्न हुनैपर्छ । अँ, बिरामी पनि महान् र लुते हुँदोरेछ है । हो त यहाँ वर्ग छ । वर्गीय आँखा छ । संसार वर्गमा विभक्त छ । त्यसकारण रोगी पनि महान् र लुते वर्गमा पर्छन् । वर्गभेद नै संसारको मूल विशेषता हो । र, यो नै संसारको मूल काँढा पनि हो । अब यस्तो बिरामीलाई कुन एक्सरेद्वारा जाँच्ने त ? जुन एक्सरेले यस रोगीको छातीभित्र जमेर बसेको राष्ट्र देखाउँछ, त्यही एक्सरेले जाँच्ने । ल त्यसो भए संयुक्त राष्ट्रसंघलाई एउटा यस्तो एक्सरेको माग राखौँ जुन एक्सरेमा महान् बिरामीका छातीमा गडेका राष्ट्र प्रस्टसँग देखियोस् । विश्वास पनि डगमगाउन नपाओस् । फलिफाप भए यही अस्पतालमा हुन्छ, उपद्रो भए त्यही राष्ट्र सङ्घलाई कोर्न पाइन्छ ।
त्यो एक्सरे कसरी मगाउने त ? अँ, हिजै हाम्रो अस्पतालको कुनै कर्मचारीले त्यो एक्सरे पठाइदिन प¥यो भनेर सुटुक्क चिठी पठाइसक्यो । ए ! एक्सरेको माग भइसक्यो ? यो के हो, यो कसरी हुनसक्छ ? कुन एक्सरे माग्ने, चिठीमा के लेखेर माग्ने, हामी डाक्टरहरूलाई थाहै छैन । निर्देशकलाई पनि थाहै छैन । सुटुक्कसँग एक्सरेको माग राखेर चिठी कसरी पठाइयो ? फेरि गोलमाल भयो । फेरि षडयन्त्र भयो । यो अस्पताल यस्तै छ । हामी डाक्टर, डाक्टरलाई थाहा नदिएर नै आषधी मगाइन्छ । डाक्टरलाई थाहा नदिएर नै एक्सरे मेसिन माग्ने चिठी लेखिन्छ । र, त्यो चिठीको ‘प्रुफ’ पढ्न दिइँदैन । एक्सरे भनेको त बिरामीको शरीरलाई भित्री रोगदेखिकै भागहरू प्रस्ट देखिने गरी प्रस्तुत गर्ने पारदर्शी मेसिन हो यस्तो पारदर्शी मेसिन माग गर्दा पनि अपारदर्शी चिठी लेखिन्छ भने यहाँ के हुन्छ ? कहिले हुन्छ ? कसरी हुन्छ ? कहाँ हुन्छ र किन हुन्छ ? ‘एक्सरे काण्ड’को छानविन हुनुपर्छ । एउटा आयोग बन्नुपर्छ र ‘आयोग’ वर्ण संरचनामा आयो र ‘ग’ मा यो थपेर पदवियोग गरी ‘आयो गयो’ बनाउनुपर्छ । यसबाट हाम्रो राष्ट्रिय राजनीतिको परम्परा थामिन्छ । यसबाट चोरसाधुको नाडी छामिन्छ र यसैबाट विधि नमान्ने सोझासज्जनको गाला डामिन्छ । यो अस्पतालमा वषौँदेखि यस्तै हुनेगरेको छ । डाक्टरले सामान माग गर्न पाउँदैनन् । डाक्टरले उपचार गर्न पाउँदैनन् र डाक्टरले एक्सरे पनि गर्दैनन् । अनि कहाँबाट पारदर्शी उपचार हुन्छ ? अनि कुन बिरामीलाई सञ्चो हुन्छ ? यहाँ फेरि अर्कै काम हुन लाग्यो जस्तो । यहाँ फेरि केके हुन लाग्यो जस्तो । अस्पतालमा षडयन्त्रले छोड्दै नछोडेपछि बिरामीको हालत के हुँदै जाला ? अब महान् बिरामीले विछोडपत्र लेख्ने नै भए । हो, यहाँ डाक्टरको नाममा खाक्टरले उपचार गर्छन् । डाक्टरहरूमाथि कत्रो अन्याय ?
प्रसङ्ग फेरेर एउटा एक्सरे उपचारको ‘रिपोटिङ’ हेरौँ है,
बिरामी– कुन भागको एक्सरे गरुँ ?
डाक्टर– तपाइँको सिङ्गै शरीर बिरामी छ, पूरैको ।
बिरामी– एक्सरे गरेर ल्याएँ, हेर्नोस् त डा.साप ’
डाक्टर– मुखमा खराब छ, औतार, औसर र औलादौला हेरेर बोल्ने गर्दो रैछ ।
बिरामी– मुखबाहेक अरू सब ठीक छ ?
डाक्टर– छैन । पैतालामा पजेरो चढेको डोब देखिन्छ, शिरमा सर्वहाराको चिन्तन छ र यी दुईको मेल नभएकाले भव्य आलोचनारूपी ‘रियाक्सन’ देखिन्छ । त्यसैगरी अञ्जुलीको आकारमा पनि विविधता छ, कतै हात जोडेर लम्पसार परेको त कतै मुठी उठाएर जोश देखाएको देखिन्छ । अनि पेटमा पनि खराब छ । अपाच्य औषधीहरू बिरामी नहुँदै खाइएको देखिन्छ ।
बिरामी– डाक्टर साप, यो सब झूट भन्दै हुनुहुन्छ । मलाई फसाउन तपाइँले कसैको षडयन्त्रकारी भाषा बोल्दै हुनुहुन्छ ।
डाक्टर– म बोलेको होइन । तपाइँको एक्सरे बोलेको । मैले त यो एक्सरेको अवस्थालाई अनुवाद मात्र गरेको हुँ । तपाइँ आफ्नै एक्सरेमाथि विश्वास गर्नुहुन्न ?
बिरामी– अहँ, म मलाई नै निन्दा गर्ने एक्सरेमाथि विश्वास गर्दिनँ, चाहे यो एक्सरे मेरो होस् वा मेरो बाबुको । यो मेरो विरुद्ध छ । मेरो प्रतिष्ठा धूलो पार्ने एक्सरे मूर्दावाद !
डाक्टर– तपाइँ आफ्नो एक्सरेलाई मूर्दावाद भन्नुहुन्छ । आफैले आफूलाई मूर्दा घोषणा गर्नु भयो नि ?
बिरामी– म धूलीध्वाँसले यो एक्सरे काण्डको छानविन गर्छु । डाक्टरमाथि पनि छानविन गर्छु र एक्सरे मेसिनमाथि पनि छानविन गर्छु । मलाई शङ्का छ, यो एक्सरे मेसिन कुन देशबाट ल्याइएको हो ? उत्तरी देश वा दक्षिणी ? पश्चिमी वा पूर्वी ? भारतबाट ? चीनबाट ? जापानबाट ? अमेरिकाबाट ? कुन हो ? मेरो रिपोर्ट कस्तो आउने हो, त्यसमा नै भर पर्छ ।
डाक्टर– तपाइँ त अनौठो बिरामी हुनुहुँदो रैछ । हुन त यो अस्पताल नै यस्तो छ । बिरामीहरू डाक्टरलाई नै उपचार गर्छन् र हप्काएर जान्छन् ।
बिरामी– डाक्टर साप, बढी नहुनुहोस्, मलाई केही पनि भा’छैन । तर यस्तो एक्सरे कसरी आयो ? तुरुन्त आयोग गठन हुनैपर्छ । सम्बन्धित महोदयहरूसित मेरो यही क्रान्तिकारी माग छ । नत्र म षडयन्त्रकारी एक्सरे रिपोर्ट विरुद्ध जुलुस उठाएर ल्याउँछु र उधुम मच्चाउँछु ।
डाक्टर– भो भो ! यो अस्पतालै उधुमको छ । केही नभएको भए किन जाँच्न आउनुभा’त ? उधुममाथि उधुम थप्न जरुरी छैन । तपाइँजस्ता महान् बिरामीले यस्तो गर्न सुहाउँदैन । हामी मिलापत्र गरौँ ।
बिरामी– कसरी ? यो एक्सरे फिर्ता हुन्छ ? अनि मेरो पक्षमा अर्को एक्सरे तयार हुन्छ ? हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन, उधुम हुन्छ, उधुम ।
डाक्टर– विद्वान् बिरामी महोदय, कस्तो कुराको सन्दर्भ बुझ्नुहुन्न भन्या । यो एक्सरे रातारात परिवर्तन हुन्छ, यो त एक्सरे प्रक्रियाको प्रारम्भिक अभ्यास मात्र हो । अर्को सिमेन्टेड एक्सरे बन्छ वा पक्का एक्सरे ।
बिरामी– (मुसुक्क मस्केर) ए बुझेँ बुझेँ । यो मेरो एक्सरे अन्तरिम हो ?
डाक्टर– हो, यो तपाइँको अन्तरिम स्वास्थ्य परीक्षणको अन्तरिम एक्सरे । तपाइँको स्थायी स्वास्थ्य परीक्षण गर्न अर्को स्थायी एक्सरे त बाँकी नै छ । दुवै हाँस्छन् र बिदा हुन्छन् ।
धादिङ
फित्कौली अङ्क ९ बाट
Subscribe
Login
0 Comments
Oldest








































