साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औकात

Nepal Telecom ad

जीवनको लक्ष्यको मूलबाटो छेऊ विष्टाका पहाडहरू छन् । तिनमा नोटका बीटा गाडिएका छन् । ती नोटका बीटा सक्नेले टिप्छन् र नसक्नेले टिप्तैनन् । टिप्नेलाई अनैतिक भनिन्छ । नटिप्नेलाई नैतिक ।

टिप्नको लागि शर्त हुन्छ– दाँतले मात्र टिप्न सकिने ।

कसैको पनि जीवनको लक्ष्य विष्टामा पूरिएको नोट दाँतले टिप्नू हुन सक्तैन । हुनै सक्तैन । किनभने, कसैले त्यसो हुन्छ भन्दैन । नभनेको कुरा कसैले गर्दैन । किनभने सबै भन्छन्– सत्यमेव जयते नानृताम् । सबै भन्छन्– सत्य र नैतिकता नै हाम्रो जीवनको आधार हो । धर्म हो । परम्परा हो । संस्कृति हो । निजित्व हो । हाम्रै अस्तित्वको आधार हो । यो हामीलाई प्राण भन्दा प्यारो छ ।

तीनजना यात्रा क्रममा छन् । उहाँ हुनुहुन्छ । उनी छन् । ऊ पनि छ ।

विष्टाका पहाडहरूमा फाटफूट दश रुपियाँका नोटहरू पाइन थाल्छन् । उहाँले त्यो देखेर देख्नु भएन । उनले पनि त्यो देखेर देखेनन् । उसले भने देख्यो । हातले टिप्न खोज्यो । तर त्यहाँको धर्म अनुसार हातले टिप्ता ती नोट टिपिएनन् । दाँतले टिप्नुलाई उसले अनैतिक ठान्यो । अतः टिपेन । वथान अघि वढ्छ ।

अब विष्टाका थुप्रामा सयका नोटहरू पाइन थाल्छन् । उहाँले पुन देखेर देख्नु भएन ।
उनीले पनि त्यो देखेर पुन देखेनन् । उसले भने विष्टाका थुप्राहरूमा ग्वाम–ग्वाम मुख गाडेर सयका नोट टिप्न थाल्यो । उहाँले भन्नु भयो– ‘अनैतिक ।’ उनी पनि क्यासेट भएर बजे– ‘अनैतिक ।’ उसले यो कुरा सुनेर सुनेन । बथान अघि बढ्यो ।

अव विष्टाका थुप्रामा हजारका नोटहरू पाइन थाल्छन् । उहाँले फेरि पनि देखेर देख्नु भएन । तर उनले भने त्यो देखेर देखे । ऊ भने पछि परिसकेको थियो । त्यो आफ्नै औकातमा व्यस्त थियो । सयका गैंडामा व्यस्त थियो । उनी विष्टामय हजारियाहरूमा दाँत गाड्न थाले । उहाँले भन्नु भयो– ‘अनैतिक ।’ उनीले त्यो सुनेर सुनेनन् । उहाँ अगाडि बढ्नु भयो ।

अब विष्टाका पहाडहरूमा लाखौं करोडौंका नोटहरू पाइन थाल्छन् । अब उहाँ पनि ती देख्न थाल्नु हुन्छ । विस्तारै छुनुहुन्छ । सुम्सुम्याउनु हुन्छ । चाट्नु हुन्छ र दाँतले टप–टप टिप्न थाल्नु हुन्छ । उहाँलाई यस स्थितिमा कसैले देखेको छैन भन्ने कुरामा पुन विश्वस्त हुनको लागि उहाँले चारैतिर आँखा घुमाउनु हुन्छ र निश्चिन्त भएर विष्टामा दाँत गाड्न थाल्नु हुन्छ । उहाँ भन्नु हुन्छ– यो त औकातको प्रश्न हो । नैतिकतासँग यसको के सम्बन्ध ?

यसको जवाफ दिने जमर्को कसैले गर्दैन ।

‘समकालिन साहित्य डटकम’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x