साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगेबाको लठ्यौरोलाई कन्या चाहियो

Nepal Telecom ad

केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके खाडीका मुलुकमा समेत जानै पर्ने मान्यताको विकास भएको छ । गाउँका युवा जति सबै विदेशमा पुगेर गाउँहरू बुढाबुढीहरू मात्र भएका खबर सुन्न पाइन्छ । मेरै गाउँबाट पनि ३०० भन्दा बढी युवाहरू अहिले विदेशमा छन् । कार्की बुढाको निधनमा हामी बुढाहरू मात्र मलामी थियौं । यसैबाट प्रमाण्ँ पुग्छ नेपाल अब बुढाहरूको हो । सलक्क परेको निख्खर युवा मात्र नभई अहिले ता अलिक खुनी, लुला, अन्ध, अपाङ्गहरू पनि पो विदेशकै दाउमा छन् । के मिलाएर हो कुन्नि गइरहेका पनि छन् । अमेरिकामा चिठ्ठा पारेर बर्सेनी वैध रुपमा उतैतिर बसाइँ सर्नेहरूको संख्या कम छैन । युवाविहीन देशका रुपमा हामी परिचित भइरहेको कुरा कसैलाई सुनाउन मन छैन । कुनै पनि दक्षता भएको युवा अब नेपालमा रहेन चाहे त्यो लाटो गाँडो नै किन नहोस् विदेशतिर छिर्यो ।

यही क्रममा मेरो छिमेकी जुँगेबाको जेठो पुत्रको परिवारलाई चिठ्ठा परेको कारणले सात वर्षअघि नै उता अमेरिकातिरै गएको थियो । सौभाग्य के भयो भने उसले आफ्नो अपाङ्ग र अशक्त भाइलाई समेत चिठ्ठामा पारेर उतै लगिदियो । उता के कस्तो धन्दा गर्छ उसैले जानोस् तर उसले आफ्ना पिता जुँगेबालाई भर्मन गर्न बोलाएको यो तेस्रो पालि हो । तिन वर्षभित्रैमा आफैं खर्च हालिदिएर पहिलो पटक बोलाएको थियो । युवा उता गएकोमा यताका बुढापाकाहरूलाई विदेश घुम्ने मौका पनि परेको छ । यो फाइदाकै कुरा भएको छ । हाम्रा जुँगेबाको कान्छो पुत्र यहाँ छँदा अलिक अशक्त जस्तो थियो । यहाँ उसलाई लक्पके भन्थे, शारीरिक रुपमा ऊ अलिक बेग्लै किसिमको थियो । बेला बेला झन्काहा गाईले जसरी मुन्टो पर्याकपर्याक बटाथ्र्यो, मुख पनि किचिक्क किचिक्क पाथ्र्यो । नयाँ मान्छेले उसलाई यस अस्थामा देख्दा सद्दे मान्दैनथे । बालबालिकाहरू भने तर्सन्थे । बिचराको शारीरिक संरचना नै त्यस्तै थियो । डाक्टरले पार्किन्कस हो कि के रोग भएको भन्थे । अरु सबै थोक छोडेर उसको मुख्य कुरा स्मरण्ँशक्ति भने पाएको थियो । बोली अस्पष्ट भए पनि ठेगानमा थियो । उसको शरीर उसको वशमा नरहेको जस्तो थियो । बुढाले यसै छोरालाई बिहे गरिदिन यसै प्रकृतिकी भए पनि केटी धुइँपत्ताल गरेर यतै छँदा खोजेका हुन् तर कसैले दिन मानेन । उता जानुअघि नै उनको यो पुत्र पैंतीसका हाराहारीमा पुगिसकेको थियो । यही छोरो उसको दाजुको चिठ्ठामा उता गएको थियो । आज ता त्यसैले जुँगेबालाई अमेरिका डुलायो अरे । उनी त्यसै भन्छन् । डुलायो होला ।

मेरो कथा, कविता र विशेष गरी निबन्धका पात्र जुँगेबा यसपालि पनि अमेरिका पुगेर आए । छोराहरूको प्रताप थियो उता जानुमा । नेपालबाट गएदेखि उनको जेठो यतातिर आउन भ्याएको छैन । बिहे गरिदिने भए आउँछु नत्र आउँदिन भन्छ अरे कान्छो चाहिं । कान्छो छोरो लाटो र अपाङ्ग जस्तो भए पनि जेठो चाहिं बाठो छ ।

यो पटकसमेत गरी उनी तीन पटक भयो उता पुगेर आएको । बूढा अलिक पढेलेखेका भएनन् र मात्र नत्र कतिओटा यात्राविवरण लेखेर विमोचन गराइसक्ने थिए । ‘उता उकिल कप्तानबाले पैसाको तुजुकमा आफ्नो कायाकैरन लेखाए भने तिमी के हेरिहेका छौ बा ? एउटा लेखकलाई अलिकति चारो हालिदेऊ र लेखाऊ न आफ्नो पनि कायाकैरन ?’ मैले भनेपछि उनी यतातिर पनि सोच्तैछन् । हेरौं अलिकति चारो हालिदेलान् जस्तो बुझिंदैछ । कुनै लेखकलाई एकदुई महिना पाले भने तिनको यात्रावृत्तान्त बजारमा आउन सक्छ । बाटो हेरौं । काठमाडौंतिर बूढा बसे भने एकै महिनामा कर्रा लेखकका रुपमा उत्रन सक्छन् । किन भने त्यहाँ ता पाइलैपिच्छे भाडाका लेखकहरू पाइन्छन् । यता गाउँमा पो उनलाई अलिक अभाव छ लेखिदिने जनमनहरूको ?

अहिले भने उनको धुन अर्कै छ । यसै पालि उनको कान्छो छोराको बिहे नगरी भएनछ । अमेरिकामा बसेको त्यही लक्पके छोराको बिहे गर्नु छ अब जुँगेबालाई । जुँगेबा, उताबाट यता फकिर्एपछि बडो ताउरमार गरेर गाउँतिर पस्न थालेको पनि निकै दिन भइसकेको छ । उनले मलाई अमेरिकामा पुगेको उनको छोरोलाई बुहारीको खाँचो परेको छ भन्ने कुरा अलिक अस्ति नै जनाएका पनि हुन्, सहयोगको आशा पनि गरेका हुन् ।

उनले उतै गएको मौकामा मलाई लामो फोन गरेका थिए– ‘ए साइँला, छोरा पाउने हो भने सरसाउँदा भन्दा ता यस्तै लाटा गाँडा पाउनु पो राम्रो रहेछ । यता ता त्यस्तालाई समाजमा त्यसै भत्ता दिंदोरछ गोरमेन्टले । यसपालि चैं यसका लागि एउटी बुहारी नखोजी भएको छैन । याँ ता जोसुकैले मुख चाटाचाट गरेको र अँगालो मारेर बाटैमा झुत्ती खेल्दै गरेको देखेछ यस मोराले । त्यसपछि त यसले बिहे गरिदेओ, बिहे गरिदेओ भनेर ठाडो पुच्छर लाइरहेको छ । मुख सुखेको र कट्टु मात्र लगाएका मिमहरूलाई देखेर यो मोरो लठेब्रो पनि ‘मलाई पनि एउटी केटी खोजीदेऊ न बा…’ भनेर रोइरहेको छ । कसरी हुन्छ सहयोग गर है साइँला । तिम्रा आफन्तहरूकोमा यसो कुरा चलाइराख है ।’ अमेरिकामा नर्मल भन्दा एबनर्मल छोराछोरी पठाउन सकियो भने काइदाले डलर आउने रहेछ भन्ने उनको ठनाइ थियो । के हो कुरा उनै जानून् । फोनका कुरा थिए यी ।

‘के बुहारी पनि त्यसै लठेब्री नै खोज्ने हो कि कसो त ?’ मैले फोनमै सोधेको थिएँ । ‘त्यस्तो मिले ता झन् काइदा । त्यस्ताले ता कामै गर्नु नपर्ने रछ ।’ उनले समर्थनमा लठेब्री बुहारीको अपेक्षा गरेको बुझिएको थियो ।

मैले उनको छोराको शारीरिक अवस्था यावत् बुझेको हुनाले सोधें– ‘के त्यता गएपछि तपाइंर्को कान्छो अलिक लक्पकाउन छाड्यो ?’

‘यहाँ अम्रिकामा पो छ त ऊ ता । अन्त होइन साइँला । स्वर्गमा छ, स्वर्गमा । स्वर्ग हो अमेरिका । यहाँ आउन जसकसैले आसै नगरे हुन्छ । यहाँ आइपुग्ने लक्पकाओस् कि राखोस् नि । यो अम्रिकामा हो । अब यो यहाँ भएपछि उसलाई केटी दिनुपर्छ । उसलाई छोरी दिनु भनेको भाग्य खुल्नु हो । त्यही कुरा गरेर तिमी केटी मागिराख है ।’

त्यो फोनको कुरा थियो । फोनमा लामो के कुरा गर्ने भनेर मैले यसै टारें र फोन राखिदिएँ । पछि यता नेपाल आएको बेला पो थाहा पाएँ उनी ता मैले उनकी बुहारी खोजेको छु भन्ने ठानेर ढुक्क पो परेका रहेछन् ।

पहिले पहिले उनी आउनासाथ अमेरिकाको आकास पातालको बयान गर्थे यसपालि ता उनी आइपुग्नै नपाई– ‘केटी फेला पार्यौ साइँला ?’ भन्दै मेरो घरमा पो पस्छन् ए । मैले पनि उनको पूर्वप्रस्तावलाई स्पष्ट भनिदिएँ– ‘केटो के गर्छ, ? कति पढेको छ ? के काम गर्दो रैछ ?, कति वर्षको भो ? कति कमाउँछ ?’ भनेर सबैतिर सोध्छन् । मैले ता साँचो कुरा भनिदिएँ । यो भनेपछि सबै दुर्दुर भए है बाबै । मैले ता सकिनँ तपाईंका छोरालाई कन्या जुटाउन । तपाईंका छोराले अलिक उमेर खाइसक्यो । चालिसतिरको भइसक्यो क्यारे । अब ता त्यही किसिमका यसो गाउँठाउँमा केटी खोजौं भन्दा पनि ढाँट्न मिलेन । केटो नपाएर उमेर भिड्किएका कुनै उमेरदार आइमाई खोज्ने हो कि भनेर अस्ति पर मुखियाको घरमा उनकी नोकर्नी गठैका बारेमा कुरा गर्या, ‘त्यस्ता लक्पके अपाङ्गका लागि दिन्न’ भनेर झन्डै मारे । मैले पनि ‘के अपाङ्ग भनेको अभिशाप हो त ?’ भनेर माझै मुख भनिदिएँ । के गर्नु अब ता खोज्नै पो छाडें बा । अब आफैं खोज है बा’ भने । उनले फोनमा ता ‘लाटी लठेब्री नै भए पनि हुन्छ’ भनेका थिए । कताबाट पाउनु त्यस्ता ? कन्या केटीको ता कुरै भएन तिनका बाढ पुगेको छोरालाई । कोनि है बा तपाइंर्का ठिमाहा छोरालाई बिहे गर्न पनि लेख्या छ कि छैन ?’ मैले आफैं सोचेको थिएँ ।

मेरा कुरा सुनेर मलाई सातो खाउँला झैं गरेर उनले भनेका थिए– ‘के भनेको साइँला तिमीले ? अमेरिकामा ४० काटेर मात्र बल्ल बिहेको सुर गर्छन् । उसको ता भर्खर मात्र पो बिहे हुने बेला हुँदैछ । अब तिमीले केही काम गरेनछौ हेरि मात्र राख न तिमी । सात दिनभित्र कोरली केटी भेटिनछु भने ता !’ उनले अलिक फुर्ति लगाए ।

मलाई पनि झोंक चल्यो– ‘उतै अमेरिकातिर खोज्या भा भइहाल्थ्यो नि । अब केको यतातिर दुःख पाउँछौ ? उता ता एक अहोरात्रका लागि मात्र पनि बिहेको मेलो गर्न पाइन्छ अरे भन्ने सुनिन्छ । गराउनु नि त्यस्तै भा’ पनि त्यस अर्धानुलाई ।’ मैले पनि मन नथामी भनें ।

उनले फेरि भने– ‘हेरिमात्र राख न, अमेरिकामा पुगेको ज्वानलाई रोज्जा रोज्जा छोरी दिन्छन् यताकाहरूले । अरु के हेर्छन् ? अम्रिका पुगेको छ भने पुग्यो… आ, बिथ्थामा कुरा गर्छाै । मलाई समय पो अलिक कम छ । लगन पनि अलि कम छन् भन्छन् यस पालि ।’

‘उता पुगेकालाई केको लगन ? जतिखेर पायो त्यतिखेर छिनायो नि । बिनाबिथ्थामा । तपाईंको छोरो पहिलेको भन्दा केही फरक भयो उता पुगेर ? कुइरेका मुलुकमा पुगेपछि ता कुइरो पनि भयो होला हैन ?’ मैले सोधें । ‘भाइका कुरा ता छाडिदिऊँ, के गर्दो रहेछ तपाइँको जेठो छोरो ?’

‘डुपापमेन्टको द्वारपाल छ । भुइँ सफा गर्ने मेसिनको डाइभर छ ।’ उनले भने । होला तानि भनेर म चुपै लागें । ढोकाको पाले रहेछ पोछा लगाउँदो रहेछ क्यारे भन्नेसम्म लाग्यो कुरा बुझिएन पनि ।

‘कान्छो छोरो नि त ? पहिले यहाँ बस्ता ता अलिक अर्धशिल्ली जस्तो, पागल पागल जस्तो, लठेब्रो लठेब्रो जस्तो थियो नि । त्यो उता गएपछि सब ठिक भयो ?’ सोधें ।

अम्रिकामा गएपछि जे पनि ठिक हुन्छ ? भन्दै बिचैमा कुरा छाडेर मबाट अलग भए । उमेर भिड्किन लागेको आप्mनो छोराका लागि यता पनि त्यस्तै कुनै नारीको खोजी गर्नु मनासिब हुने कुरा बाबै मेरो घरबाट जाँदाजाँदै गर्दा जनाएँ ।

निकै दिन लौरो टेकेर गाउँ डुलेपछि उनी लखतरान भएको बुझिन थाल्यो । उनले सुरुमा जसरी मसँग धाकधक्कु लगाएका थिए त्यसरी भनेजति सजिलो रहेनछ भन्नेमा उनी पुग्न लागेको बुझिन्थ्यो । आज पनि बेलुकापख हत्तु भएर फर्किए उनी ।

के भो ? अब कुरा कतै मिल्यो ? मैले सोधें । के मिल्नु ? कस्ता हुन्, मान्छेहरू पनि ? याँ आफ्नो छोरो अम्रिकामा बुढिने भो…। छैन त अबलाई केही उपाय ? लौ है, अबलाई हार खाएछन् जुँगे बाबैले !’ मैले भनें । ‘खान्छन् हार जुँगेबाबै ? छन् उपाय हजार । अजमाउन जान्नुपर्छ ।’ उनले मलाई दपेटौंला झैं गरे ।

‘अनि के हेरिराखेको नि ? अजमाउनू नि त । के छन् त्यस्ता उपायहरू ?’ मैले भनें । ‘अब पर्चा छिपेर विज्ञान गरौं । अनि केही उपाय होला कि ?’ उनले बुहारी खोज्ने नयाँ सूत्रको कुरो गरे ।

अनि मैले भने ‘मैले अलिक भेउ पाइनँ नि । कसरी हुन्छ विज्ञान ? के हो तपाईंको विज्ञान भनेको ? कस्तो हुन्छ त्यो विज्ञान ?’ बिस्तारै कुरा खुल्यो विज्ञान भनेको विज्ञापनका लागि विज्ञान भनेका रहेछन् ।

‘त्यसबारे तिमी जानिफकार छँदैछौ नि । लेख अब विज्ञान ।’ उनले मलाई नै पो प्रयोग गर्ने सुर कसेछन् विज्ञापन लेखाउन ।

‘खर्च लाग्छ त बा, यसका लागि ता छिपाउनुपर्छ ।’ ‘छिमेकी भएर पनि लेखेको खर्च माग्ने ? खर्चको कुरा नगर । तिम्रो पनि ता भाइ जस्तै हो, यति सहयोग गर्न सक्दैनौ ?’ सातो खान खोजे ।

‘छाप्न खर्च लाग्छ भन्या पो त ।’ मैले भनें ।
‘ए त्यसो भन न । त्यसका लागि त म छँदैछु नि ।’ उनले सहज रुपमा स्वीकार गरे ।
‘सबैथोक नढाँटीकन लेख्नुपर्छ है बाबै म ता ढाँट कुरा लेख्तिनँ ।’ मैले भनें ।
‘नढाँटीकन ता कसरी लेख्ने ? अप्ठेरो कुरा नगर न ।’
‘ढाँटेर ता म यो काम गर्दिनँ । अर्कैलाई लगाउनुहोस् ।’

‘उसो भने अलिक बढाइँचढाइँ गरेर लेख्नु ता हुन्छ नि । सादा होइन नि, रङ्गिनमा राम्रो फोटो हालेर छिपाउनुपर्छ । पर्चन्नको, झललको, माधोको सुसिलको चुनाउका बेलाको फोटाहरू कति राम्रो गरी उबेलाको चुनाउमा छिपाएका थिए हो…. त्यही किसिमको भाँती पारेर विज्ञान लेख त ।’

‘त्यो पनि म गदिनँ । त्यसो गर्ने भए अन्तै लेखाउनू र छिपाउनू । यसमा पनि पक्को कन्या पाइएला भन्नेमा मलाई विश्वास छैन ।’

‘नकराऊ । याँ सुन । ठूला ठूला अक्षरमा राम्रो भाँती पारेर लेख । र छिपाउन देऊ । यो माउवादी कम्लेस पार्टीहरूको पर्चा हुन्छ नि त्यो भन्दा पनि राम्रो कागजमा छिपाऊ । जति लाग्छ म तयार छु तिर्न । भोलि नै भित्ताभित्तामा र गाउँविकासका काज्र्यालयका पार्टीहरूमा टाँस गर्न पठाउँछु । अनि केही उपाय होला कि….!

मैले यही कुरा पनि मानिनँ । बूढा तिल्मिलाएर उठे अनि लौरो टेकेर ततर्किंर्दै उनका घरतिर लागे ।
हेरौं उनको छोराले कन्या पाइहाल्ला कि त ?

‘खुइलिएको तालु’ कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x