साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क म !

Nepal Telecom ad

अत्याधिक चिसोले गर्दा बेलाबेलामा नुहाउनुपर्छ भन्नेसमेत मेसो पाउन छाडिसकेको थिएँ । ‘कोठाको स्थिति जे जस्तो भए पनि शरीर चाहिँ सफा हुनुपर्छ भन्छु, अनि लुगा चिटिक्क सुहाउनुपर्छ भन्छु । स्वास्थ्यप्रति निकै सचेत म, गर्मी याममा कमसेकम पन्ध्र–पन्ध्र दिनमा नुहाउनुपर्छ भन्छु’– भन्ने मेरा परममित्र पिलन्धरप्रसादको कविता जस्तै भयो ।

परिस्थिति र बाध्यताको दास भएपछि शरीरबाट ठुस्स बास आए पनि खास फरक नपर्ने रहेछ । वाग्मतीमा सेलाइदिए पनि हुने भैसकेका कपडाहरूको रास लाए पनि कुनै दिन धोइधाई पारेर फेरि लगाउन पाउने आस लाग्दोरहेछ । काठमाडौँ अनि पानी । यी दुई शब्द विपरीतार्थक शब्दहरूजस्तै हुन् भन्थ्यो साथीले, हो जस्तै लाग्छ । पानी नभएपछि त नानीको आनीबानी नै पो त परिवर्तन भैदियो । गाउँमा दिनहुँ नुहाउने मान्छे, यहाँ त नियमित महिनाको एकचोटी नुहाउन पनि समस्या । मैले नुहाएन भनेको सुनेर साथीले सुहाएन पनि भनेको थियो । तर सुहाएन भनेर भयो त ?

ननुहाएको जे जति दिन भए पनि भित्री कपडा चैँ फेर्नैपर्ने भो भनेर एकदिन नयाँ अण्डरवेयर र बनियान किनेर ल्याएँ फुटपाथ सपिङ सेन्टरबाट । चारपत्रे कपडा फुकालेर साइड लगाइदिएँ । मैले कस्तो रङ्को भित्री कपडा लगाएको थिएँ भनेर याद गर्न सकिन । पुरानोलाई सर्लक्क फुकालेर झर्लक्क हुनेगरी नयाँ सेट फेरेँ । आफैँले लगाएको भनेपछि माया लागिहाल्ने । फाल्न त कहाँ मन मान्थ्यो र ? कुनै दिन अफिसबाट अलि चाँडै आएँ भने र पानी पाएँ भने सातादिन जतिलाई सर्फ हालेर भिजाईदिनुपर्ला भन्दै कुनातिर हुत्याइदिएँ ।

पुरानै शरीर र सोँच भए पनि नयाँ पोशाकमा सजिएर पुरानोलाई तह लगाएपछि आनन्दको सास फेर्ने मौका चाहिँ पाएकै हो । दिन बित्दै थियो । एक दिन राति कताकताबाट कल्याङमल्याङको आवाज आयो । यसो ठनासेको त तिनै पुराना अण्डरवेयर र बनियान तँ–तँ र म–म गरिरहेका । नजिकै गएर सुन्ने कोसिस गरेँ । एउटाले भन्दैथियो– “तैँले गर्दा हो । तँ धेरै फोहोर भएर हामीलाई फाल्दिएको ।” अर्कोले भन्दैथियो– “बढी नकरा ! तँ अत्याधिक फोहोर भएर त्यसको शरिर नै चिलाउने बनाइदिएर त हो नि ! त्यसलाई छटपटी भएको ।” अण्डरवेयरले भन्दैथियो– “तैँले नै गर्दा हो । मलाई त त्यल्ले देख्दै देख्दैन । त्यसैले तैँले नै हामीहरूको अस्तित्वलाई बली चढाएको हो । आहा ! कति आनन्द थियो । त्यस्तो जाडोमा पनि कति न्यानो भैरहेको थियो । कहिल्यै बाहिर देखिनु पनि नपर्ने । पानीसँग लड्नु पनि नपर्ने । भित्रै बसेर जे गरे पनि हुने । अब सड्ने भइस् यहीँ कुनाको चिसोमा ।” फेरि बनियानले भन्यो– “खुपै होला ! तँ फोहोरी, तेरो परम्परागत संस्कारै फोहोरी भएर पो त यस्तो भएको ।” बहस चर्काचर्की हुँदैगयो । म फनक्क फर्की आफ्नै ओछ्यानमा गएँ । अण्डरवेयरले उफ्रेर बनियानलाई लात्तले हिर्कायो । बनियान पनि के कम् । कसेर एक मुक्का दिइहाल्यो । म भने नयाँ पोशाकमा रमाइरहेको थिएँ । उनीहरू त्यसरी लडेको देख्दा झन् मजा मानिरहेँ ।

दुईचार दिन खासै गाइँगुइँ सुनिएन । फेरि एकदिन मध्यरातमा हल्लाखोर सुनिन थाल्यो । उठेर बत्ती बालेँ । कुनातिर गएर उनीहरूलाई नियालेँ । आज त झन् चर्काचर्की चलिरहेको छ । धेरै पहिला बाहिर झाडीतिर सुइँक्याइदिएको, बुढीऔँला पर्नेठाउँमा प्वाल परेको, गनाएको, हेर्दै गरिब जस्तो देखिने पाउपोस पनि सहभागी छ । अझ भएन भनेर जोडजोडले चिच्याउँदै छ– “त्यसलाई कारबाही गर्नैपर्छ । हामीलाई त्यसरी आफ्नो ऐश आरामको लागि प्रयोग गरेर हामीमाथि तानाशाही शासन लादेर अन्त्यमा मिल्काइदिने ? लगाउँदा लगाउँदा मैलो र थोत्रो भएपछि अर्को नयाँ किनेर ल्याउने ? मैले त पहिला नै भनेको थिएँ । यसलाई हाम्रो केही मतलव छैन । आफूलाई काम दिँदासम्म लगायो, इच्छा नलागे झिकेर फ्याँकिदियो । मैले त त्यही बेलामा आन्दोलन गरौँ भनेको हुँ । तपाइँहरूले मान्नुभएन । भित्री ज्यान छोप्ने कार्यमा हामीलाई महत्वपूर्ण भूमिका दियो भन्नुभयो । उल्टै मेरो बिरोधलाई गलत देख्नुभयो । उसैसँग मिलिजुली गरेर हाम्रै बिरुद्धमा खनिनुभयो । मलाई पहिले नै थाहा थियो । कुनै दिन तपाइँहरूको हालत यस्तै हुनेछ भनेर ।”

अण्डरवेयर र बनियान एकै स्वरमा कराए– “होइन ! होइन ! तपाइँलाई त खुट्टाको पैतालाले कुचेर लगाएको । तपाइँले बिझाएर, गनाएर बस्न खान दिनुभएन । त्यो बेलामा हामीलाई समेत गनाउनुभएको थियो । धन्न आगोमा पोलेर भष्म बनाउन लाग्दा भाग्यले बाँच्न सफल हुनुभयो । तपाइँले त पैतालामुनि प¥यौँ भनेर बिरोध जनाउनुभयो । त्यसैको फल हो । तर हामीले त केही पनि गरेका थिएनौँ । झन् लाज छोपिदिएका थियौँ । हामीले के बिगारेका थियौँ र ? अर्को नयाँ ल्याएर लगाए पनि हामीलाई यसै फाल्न नहुने । कमसेकम सर्फ हालेर भिजाइदिएको भए पनि हामी आफैँ आफ्नो फोहोर सफा पार्नेथियौँ । पछि फेरि काम लाग्न सक्थ्यौँ नि !’ पाउपोसले रिसमा होस गुमाउँदै मनको कुरा पोख्यो– “हैन ! म गनाउनु र त्यसलाई चिलाउनुमा पनि त्यसकै गल्ती छ । बेलाबेलामा त्यल्ले धोएर सफा पारेर लाउनुपर्ने होइन ? कैयौँसम्म हेपेर, दबाएर गनाउँदा गनाउँदै पनि लगाई हिँड्ने ?” उनीहरूको चर्को आवाजले मलाई झर्को लाग्न थालिसकेको थियो । रिसको झोँकमा अझै नजिक गएर उनीहरूको कुरा सुन्ने साहस गरेँ । जब म नजिक गएँ, तब उनीहरू डराए । सबैजना केही नभएजस्तो गरेर चुपचाप लागे । त्यो दिन त्यत्तिकै भयो ।

आफैले ननुहाएर हो कि ! मलाई नयाँ अण्डरवेयर र बनियानले समेत चिलाउन, बिझाउन र पोल्न थालिसकेको थियो । फुटपाथबाट ल्याएको, डुप्लिकेट परेछ र हो कि ! फेरि एक दिन अण्डरवेयर–बनियान र पाउपोसकोे छलफल सुन्ने दुर्भाग्य प्राप्त भयो । मेरै बिरुद्धमा मोर्चा गठन गरिसकेछन् । उनीहरूको भनाइअनुसार आ–आफ्नो अस्तित्व र सम्मानजनक पहिचानका लागि आपसमा सम्झौता गरेछन् । त्यसपछि त दिनहुँ नाराजुलुस हुनथाल्यो । कसैले मलाई कारबाही गर्ने भन्दैथिए । कसैले धोएर फेरि लगाउन आग्रह गरिरहेका थिए । पाउपोस अलि बढी नै उत्तेजित हुन्थ्यो । कुनै पनि हालतमा पैतालामुनि नपर्ने कुरा गर्दैथियो । बनियानले पनि अब आइन्दा आफू पिल्सिएर कसैको शरीर नढाक्ने भन्दैथियो । अण्डरवेयर भने पुनः प्रयोगमा ल्याएमा आफ्नो कर्तव्य पूरा गरिरहने भन्दै थियो । मेरो दिमागले केही सोच्न सकेन । तिनीहरूलाई एउटा थोत्रो डब्बामा गुन्द्रुक बनाइदिएँ । बोल्न पनि नमिल्नेगरि मेरो वरिपरि नाराजुलुस समेत गर्न नसक्ने गरी । दिन बित्दै गयो तर मेरो त्रास भने बढ्दैगयो । एकदिन त त्यो थोत्रो डब्बा फोरेर अन्य सम्पूर्ण पुराना लुगाफाटासहित जुलुस पो त निस्कियो । मेरै बिरुद्धमा । जसले तिनीहरूलाई सम्मान गरेर आफ्नो शरीरमा प्रयोग ग¥यो, त्यसैको बिरुद्धमा । तिनीहरूले सम्पूर्ण लुगाहरूलाई उचालेछन् । कोठा अत्यन्तै कोलाहलपूर्ण बन्न गयो । मैले तिनीहरूलाई कैले यताको कुनामा कैले उताको कुनामा पु¥याइदिन्थेँ । सम्पूर्ण लुगाफाटाहरू एकजुट भएछन् । सबैले मिलेर मलाई कारबाही गर्दै कोठामा पुनः शान्ति स्थापना गर्ने भन्दैथिए । मलाई भने अझै पनि तिनीहरूलाई च्यातिदिन र पोलिदिन मन थियो । तर के गर्ने ? मेरो कोठाको हल्लाले पल्ला कोठामा बस्नेहरूलाई समेत असर पारेछ । मलाई हल्ला शान्त पार्ने दबाव आउन थाल्यो । अण्डरवेयर–बनियान र पाउपोसको नेतृत्वको आन्दोलनले मलाई डर लाग्यो र इच्छा विपरीत निर्णय लिन कर लाग्यो ।

अचेल त झन् मेरो केही नचल्ने देखेपछि दौरा, कोट र टोपीहरूसमेत उनीहरूसँग मिल्ने दुष्प्रयास गर्दैछन् । तन्ना र सिरकका खोलहरूले समेत मलाई धोका देलान् जस्तो छ । आजभोलि त म चोरबिरालो जस्तै एकदम चुपचाप बसेको छु । उनीहरूकै हालीमुहाली छ । मैले के लगाउने, के नलगाउने उनीहरू आफैँ तालिका बनाउँछन् । हुँदाहुँदा यहाँसम्म कि, मलाई मेरै कोठाबाट पनि निकाल्दिने रे ! थुइक्क म ! उबेलामा बुद्धि तलबाट लगाइयो । अहिले आएर “न्याउरी मारी पछुतो ।” अब के गर्ने ? जसोजसो पण्डित बाजे उसैउसै स्वाहा !

पोखराथोक–१, पाल्पा 
फित्कौली १४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x