प्रकाशमणि दहालहाम्रो रहर खोलैखोला
त्यस दिन (वि. सं. २१२५ साल भदौ १७ गते) बेलुकी ९ बजे हामी सबै टिभी अघिल्तिर बसेका थियौँ जसरी धार्मिक प्रवचन सुन्न बस्छन् भक्तहरू । तर कतिपय भक्त–भक्तिनी बरु मौकामा दर्श/पर्शको ख्वाहिसका कारण पूरा एकाग्र नहोलान् प्रवचनमा, हामी भने निर्लिप्तै थियौँ कारण एकैछिनपछि न्युयोर्कबाट जी.एफ.जी.डब्लु (द ग्लोबल फेडेरेसन अफ द गभरमेन्ट्स अफ् द वल्र्ड) को तेस्रो राष्ट्रपतीय निर्वाचनका उम्मेदवारको ‘ककस’ ‘लाइभ’ प्रसारण हुनेवाला थियो । त्यसमा हामी यति आकर्षित हुनुको विशेष कारण चाहिँ थियो– नेपालकै राष्ट्रपतीय निर्वाचनमा तीनपल्ट जमानत जफत भएका नेता देउबहादुर शेरवाको पनि उम्मेदवारी हुनु र उनको ‘ककस’ त्यसै दिनको सेड्युलमा पर्नु । हामी यस मनोरन्जक अवसरबाट हुनेसम्म आनन्द लिन आतुरतासाथ प्रतीक्षारत थियौँ— विशेष मि. शेरवा नेपाली भएकाले पनि र उनले नेपालमै तीतीनपल्ट दुर्लभ मनोरन्जन दिइसकेकाले पनि ।
वस्तुतः हामी नेपाली मनोरन्जनका विषयमा ज्यानफाला हदसम्म मरिहत्ते गर्छौँ भन्ने त जात्राको मस्तीमा शत्रुले चारतिरबाट घेरिसकेको पनि थाहा नपाउने र सजिलै हराइने हाम्रा पुर्खाको मनोरन्जन–प्रेमले नै प्रमाणित गरिसकेको तथ्य हो । त्यस बेलाको त्यो र त्यस्ता त भएभए, तर कहिल्यै भूलबाट नचेत्ने र नसिक्नेमा नामी हाम्रा पुर्खा त्यसको अढाइ सय वर्षपछि पनि छिमेकीले प्रेमपूर्वक खोलाहरू थुनेर हाम्रा गाउँका गाउँ डुबाइरहँदा, मत्ता हात्ती पसेझैँ सिमानाका बस्तीमा पसेर लूट, डकैती, बलात्कार, हत्याजस्ता महान् छिमेकी–धर्म निभाइरहँदा, आफ्नै राजधानीमा आफ्नै बलियाबाङ्गा बन्धुहरूले, कहिले त फुली खल्तीमा हालेकाहरूको सहयोग र दिग्दर्शन समेतमा त्यस्तै महान् कार्यको मन्चन गरिरहँदा हाम्रा पुर्खाहरू चाहिँ छातीमा सांसद, नेता, मन्त्री, सचिव, हाकिम, जर्नेल, कर्नेल, कप्तान, लप्तान इत्यादिका ठूला ठूला बिल्ला भिरेर सिंहदरबार नामको अखाडामा सिंहै भएको आत्मरतीमा सम्मोहित भएर भिडिरहेका हुन्थे अरे र जनताचाहिँ पेटमा लात र पुर्पुरामा हात लाएर भए पनि आफ्ना स्वनिर्मित ठूलाबडाको त्यस्तो नयनाभिराम, कर्णकोहराम र चैनहरान पहलमानीबाट छाती पिटुन्जेल र बर्बर्ती आँसु झरिन्जेल मनोरन्जन गरिरहेका हुन्थे अरे ।
तर हाम्रो यो ककस हेर्ने उत्कट अभिलाषा भने खेर गयो त्यसरी नै, जसरी हजुरबाले (पाँचै वर्षअघि मास छर्न जानुभएको) पटकपटक भन्ने गर्नुहुन्थ्यो । उहाँका भनाइअनुसार सतीको सरापका कारण नेपाली ‘भाग्य दिने कर्म ठेल्ने सत्यले आक्रान्त छन् र उनीहरूका प्रत्येक आकाङ्क्षा अभागी… बस्यो तीन बित्ताको काठ पस्यो भनेझैँ हुन्छ’ अरे, कम्तीमा सतीको सराप नपखालिउन्जेल ।
उहाँ भन्ने गर्नुहुन्थ्यो करीव सय वर्षअघिदेखि नेपालीले आफ्नो हिसापकिताप खोज्न थालेका अरे । तीनतीन पल्ट खोसेर ल्याएका पनि थिए अरे तर प्रत्येकपल्ट उनीहरू आफ्नै कर्मले ठेलेर ‘पुनर पुनर मुसिको भवन्ती’ अरे ।
खासमा पहिलोपल्ट त भाग्यको चकाचौँध पार्ने उज्यालोले आँखा चौँध्याएर अलिबेर त अन्धाजत्तिकै पारिदिएछ । जब बानी परेर आँखाले काम गर्न थालेको थियो तबसम्ममा हिसापकिताप पुनः पुरानै कौसीतोषखानामा पुगिसकेको रहेछ । फेरि पनि ल्याएछन् ज्यानको बाजी लगाएर । तर यसपालि भने हाम्रो गिरिश दादाजत्तिकै जिद्दिवाल, त्यत्तिकै मूर्ख, एकोहोरो र हातमा त्यस्तै ग्रह परेको एउटा नेता निस्किेछ जसले म बाहेक यो हिसापकिताप कसैले राख्न सक्तैन भनेर लिँढेढिपी कसेछ । सबैले मानेछन् पनि तर उसले राख्न थालेको भोलिपल्टैदेखि त्यसका पन्नाहरू जथाभावी छरिबरी हुन थालेछन् । उसका केटाकेटीले खेलाउने बनाउन थालेछन् । च्यातिन, पानीले भिजाउन थालेछ । कति चाहिँ दुश्मनहरूले लुकाएछन् । यसका कारण मानिसहरूले रिसाएर ऊबाट खोसेछन् तर पुनः सँगालेर मिलाउनै नदिई उसले अनेक झगडा र भाँडभैलो उठाएछ । यस कचिङ्गलको मौका छोपेर केही बढी बाठा महापण्डितहरूले पुनः सोहोरसाहर पारेर तोषखानामै पु¥याइदिएछन् । फेरि परेछ फसाद् तर यसपाला पनि जनताले झन् ठूलो जोस र बलिदान देखाएर पुनः खोसेर ल्याएछन् ।
यसपाला पनि उही जिद्धिवालले मै राख्छु भन्ने उही पुरानै ढिपी कसेछ । धेरैबेर सम्झाउँदा पनि नलागेपछि अब त चेत्यो पनि होला भन्ने विश्वासमा विशेष चेतावनीसाथ सुम्पिदिएको त के चेत्थ्यो ! आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ भनेजस्तै भोलिपल्टैदेखि पन्नाहरू त जथाभावी छरिएको भेटिन थालेछ । एकदुई पन्ना त तोषखानाकै बाटातिर उड्दै गरेका पनि देखेछन् मान्छेहरूले । बस्, सारा मान्छे मिलेर यसपाला भने उसलाई चौखु¥याएर लडाएछन् र तबदेखि पालैपालो विशेष पालोपहरासाथ राख्न थालेछन् ।
त्यही दिनदेखि सतीको सराप पनि पखालियो अरे, हिसापकिताप पनि हराउन छोड्यो र तोषखाना पनि सदाका लागि बन्द भयो अरे । हाम्रो गिरिशदालाई पनि घरका हरेक वस्तुको मालिकै पल्टिनु पर्छ तर उहाँका हातले छोएपछि केही सद्दे रहँदैन । टिभी, रेडियो, क्यामेरा, कम्प्युटर, बाइक, कार, ट्रक मात्रै होइन पसल, खेती, फर्म, केही सद्दे रहँदैनन् । झगडा पर्नेमा झगडा पर्छ, बिग्रिने भत्किने बिग्रिन्छ भत्किन्छ, बग्ने बग्छ, डुब्ने डुब्छ, हराउने हराउँछ, मर्ने मर्छ, केही रहँदैन । हजुरबा भन्नुहुन्थ्यो– उहाँका हातमै राहू बसेको छ अरे । त्यसैले उहाँले जे छोयो त्यही खत्तम हुन्छ अरे । त्यसै भएर उहाँलाई केही नछुने कडा आदेश दिइएको छ तर आपूmलाई ठीक सावित गर्न उहाँ मौका प¥यो कि भेटेको कुरा चलाउन थालिहाल्नुहन्छ र अन्ततः त्यसलाई काम नलाग्ने नपारी छोड्नुहुन्न ।
त्यस दिन पनि त्यस्तै भयो । कार्यक्रम आउने बेला भैसकेको थियो । आफ्नै पि.सि.मा हेर्ने हुनुभएको शैला दिदी कम्प्युटर बिग्रिएको भन्दै आगो भएर आउनुभयो । स्वभावतः सबैका नजर गिरिशदामा पुगे । सधैँ जस्तै बिगार गरेपछि थेत्त¥याइँपूर्वक किच्च दाँत देखाएर लट्याङ्ग्रो बोलीमा उहाँले भन्नुभयो– ‘चुवाँ आत चिच्चम जिक पैल पो । हिँ हिँ ।’ (छुनासाथ सिस्टम डिस्क फेल भो) । (बिगार गरेको पोल खुलेपछि वा बिगार गर्ने मनसाय भएपछि उहाँको बोली स्वतः लट्याङ्रिन्छ ।)
दिदी त फन्केर ‘गधा’ मात्रै भनेर हिँड्नुभयो । तर मम्मीले भने विरक्त हुँदै भन्नुभयो– “तेरो हात परेपछि केही चीज पनि सद्दे रहँदैन भन्ने तँलाई थाहा छैन, गिरिश ? तँ किन यसरी सताउँछस् ?” मम्मीको कुरा झर्नासाथ बाचाल सानो भाइ मनिसले जोक बनाएर त्यसै दिन मैतालु आएकी भाउजू, गिरिशकै नवविवाहित दुलहीलाई सम्बोधन गर्दै भन्यो– “सुन्नु भो भाउजू, गिरिशदाले छोएपछि केही सद्दे रहँदैन नि । तपाइँ पनि होस ग …!” तर उसको वाक्य पूरा नहँुदै दादाले हातको रिमोटले हान्नुभयो । मनिस त तर्किहाल्यो, बिचरो र्तिर्कन नजान्ने मूर्ख कम्प्युटरचाहिँ भयो झ¥याम्मै र त्यसैसँग हाम्रो विशेष मनोरन्जन लिने रहर पनि गयो खोलैखोला ।
जोरपाटी, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































