साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो जिन्दगी खै के जिन्दगी ?

कहिल्यै नसिद्धिने सिसिफसीय बोझ बोकेर जवानी गुमाउन बाध्य सन्तानको सुस्केरैमात्र प्राप्त गर्ने यो जिन्दगी खै के जिन्दगी ?

Nepal Telecom ad

साँच्चै कहिल्यै निको नहुने लगातार दुखिरहने सदा पीपरगत बगिरहने अस्वत्थामाका निधारको घाउजस्तो नेपाली मार्काको यो जिन्दगी खै के जिन्दगी ?

महँगीले आकाश, आम्दानीले पाताल छोएको, रातदिन बन्द, हडताल, अभाव, असुरक्षा, अनेकौँ किसिमका ठगीबीच आक्रान्त हुँदै आफ्नो घरखेत बाँभैm राखेर अरबको बगरमा हाड घोट्न सदा लर्को लागिरहेको यो जिन्दगी खै के जिन्दगी ?

कोशीले काटेको, कैलालीमा डुबेको, भाया इन्डियाले सकेसम्म लुटेको, काठमाडौँदेखि बाटाभरि भेटेसम्मकाले ठगेको, तैपनि अत्यासैअत्यास र झमेलैझमेलामा एकदिनको बाटो तीन वा पाँचदिनमा पुग्न बाध्य भएको यो जिन्दगी खै के जिन्दगी ?

त्यसमाथि वर्षायामका भ्यागुताझैँ रातदिन टर्टराइरहने पानी भने बिरलै पार्ने आपसमा शेखी र हिलो छ्यापाछ्याप र खुट्टा तानातानलाई नै महान्तम कार्य ठान्ने तथाकथित नेताहरूको अटुट भैरवीराग सुनिरहनु पर्ने यो जिन्दगी खै के जिन्दगी ? के उल्लेख गरी साध्ये छ यो जिन्दगीको, हिमालका सन्तानको नासूर बनेको यो जिन्दगीेको ?

यो एउटा जिन्दगी भयो नेपाली इतिहासको मोडमा, केही सपूतहरूको सपना र बलिदानमा उठेर, भूगोलद्वारा रचिएर, इतिहासद्वारा कथिएर, विभिन्न सामाजिक भावनाको हातेमालोमा बाँधिएर, धर्तीको स्याहार पाएर विश्वमानचित्रमा एउटा सानो थेग्लोजत्रै सही सगरमाथाका छायामा, बुद्धका मायामा जन्मिएर हुर्किएको यो जिन्दगी, आफ्नै विशेषतायुक्त यो बेग्लै जिन्दगी किन लाग्न खोज्छ आज खै के जिन्दगी ?

न माथि पुगेर फैलिन सकेको न तल झरेर वैलिनै मानेको, न दायाँबायाँ तन्किन सकेको यो दुई ढुङ्गाको तरूल बनेर सदा टाक्सिएको न फुटेरै पार लाग्ने न जुटेरै पनि जुटेको न्यानोमा मस्त निदाउन सक्ने त्रिशंकुजस्तै बनेको यो जिन्दगी खै के जिन्दगी ?

बलियाबलिया पाखुरा भएर पनि, ठूलाठूला टारबारी र घुमाउने खेत भएर पनि सधैँ बेसाहामा बाँच्न बाध्य, आफ्नै धर्तीमा फालाफाल साधन भएर पनि, सम्पूणर् उन्नतिको अजस्र स्रोत प्रशस्त नदीनाला लगायत सौन्दर्यले भरपुर उपत्यका र ब्याँसी, मैदान, पहाड र हिमाल, वन र अनेकौँ वनसम्पदाले भरिभराउ अनुपम धर्ती भएर पनि चिरसुकुम्बासीसरह संसारभरि हीनतम श्रमिक मजदुर, सिपाही हुँदै त्यही पनि नभेटेर भाग्दै र लुक्तै हजारौँ शारीरिक र मानसिक गोता खाँदै भाैतारिइरहनु पर्ने यो जिन्दगी खै के जिन्दगी ?

एकदिन होइन दुईदिन होइन इतिहासका अज्ञातकालदेखि नै निरन्तर जुधिरहने साँढेहरूद्वारा मिचिएका बाछाबाछी, पाखा पारिएका, धकेलिएका र किनार लगाइएका दुःखीदाखी भएर ‘दार्जेलिङ आसाम बर्माको गोठमा, भाग्सु र सिमला ल्हासा र भोटमा’ भौँतारिन र मौकामौकामा जन्मेको थातथलो र आर्जेको जायजेथा तेत्तिकै छोडेर शरणार्थी हुने चोटमा तिलमिलाउन बाध्य यो जिन्दगी खै के जिन्दगी ?

संसारकै शिर सगरमाथा भएर पनि, संसारकै प्रकाश गौतम बुद्ध भएर पनि, संसारकै ज्ञान जनक, व्यास भएर पनि, संसारकै बहादुर बलभद्र र गजेघले भएर पनि स्वाभिमान र स्वपहिचानका निमित्त निरन्तर झण्डा उठाउन, त्यसकै निमित्त निरन्तर खुनपसिना बगाउन बाध्य नेपालीको यो जिन्दगी खै के जिन्दगी ?

मन्दिरै मन्दिर भएर पनि देवताको चिनो नभेटिने, विद्वान्का भीडमा पनि सद्विवेक, सदाचार र सहिष्णुताको झिल्को नदेखिने, नेतैनेताको लश्कर भएर पनि जीवन कहिल्यै बाटो नलागेर सदा एकै ठाउँमा चक्कर काटिरहने हिलामा गाडिएको हात्तीजस्तै अथवा अँध्यारामा बाटो हराएका यात्रीजस्तै अथवा तुफानले घेरेको जहाजजस्तै यो जिन्दगी खै के जिन्दगी ?

साथ भएर पनि प्रेम नभएको तर एक्लै बाँचेर पनि जीवन नहुने जान्दाजान्दै पनि एक्लैएक्लै कुद्न मरिहत्ते गर्ने बानी परेको इतिहासका पानाभरि नेपोलियने महत्वाकांक्षाको कथा, सोभियत संघको पतनको व्यथा, हिट्लरको दुःस्वप्न, महेन्द्रको रहरजस्ता धेरैधेरै रगतले लथपथ विगतका यथार्थलाई देखीदेखी फेरिफेरि आआफ्नो सनकका निमित्त उँधो बग्ने खोलालाई उँभो बगाउने र इतिहासलाई गिजोलेरै, मानवतालाई पिरोलेरै, सभ्यताको गतिलाई ढिल्याएरै बंग्याएरै छोड्ने ढिपीमा अन्धा बनेका एक वा एक मुट्ठी शकुनिहरूको चलखेलका बीच चीत्कार र क्रन्दन गर्दै मरीमरी बाँचेजस्तो अथवा बाँचीबाँची मरेजस्तो यो जिन्दगी खै के जिन्दगी ?

हरेक हिउँदभरि गाएर तथा हाँसेर अनि हरेक वर्षाभरिचाहिँ बाढीपैह्रोका कारण भागाभाग गर्दै रोएर बिताउने, हरेक सजिलोभरि पाँैठेजोरी खेलिरहने अप्ठ्यारो पर्ने बित्तिकै एकार्कालाई सत्तोसराप गरेर बिताउने, न हिजोबाट चेत्ने न आज व्यस्त रहने न भोलिका लागि सोच्ने अन्ततः खाल थापेर बसेका विश्वराजनीतिका ठेकेदारहरूकै पासोमा फँस्नफँसाउन पुग्ने, अभाव र अव्यवस्थाले आक्रान्त बन्धुबान्धवका सामुन्ने प्राडो र पजेराको लश्कर लगाउने, अनिकाल र प्रच्छन्न गरिबीकाबीच वैभवप्रदर्शन र चौरासी भोग रचाउने चरम अवसरवादी आकाशमुनि ठिँगुर्किएर बाँचेको यो जिन्दगी खै के जिन्दगी ?

धारा भएर पनि पानी नआउने, असीमित जलभण्डार भएर पनि विद्युत् नहुने, विद्यालय भएर पनि पढाइ नहुने, कानून भएर पनि थिति नहुने, न्यायालय भएर पनि न्याय नपाइने, अड्डा भएर पनि काम नहुने, पद भएर पनि दायित्व नहुने, देश भएर पनि रोजगार नहुने, लाखौँको सुरक्षा संयन्त्र भएर पनि सुरक्षा नहुने सधैँको अन्योल सधैँको गुनासो, सधैँको अभाव सधैँको धमिलो, सधैँको बेकार सधैँको हतार, सधैँको ढिलासुस्ती सधैँको भ्रष्टाचार, सधैँको प्रहार सधैँको हरगुहारबीच कता जुठे कता जुठेको बाबु हुन पुगेको यो जिन्दगी खै के जिन्दगी ?

के वसन्त के शरद सधैँ शिशिरै भोगिरहने, के समृद्धि के सहकाल सधैँ अनिकालै बोकिरहने, के सहकार्य के सहमती सधैँ दाउपेच र मारामारै घोकिरहने, दोषीलाई लुकाएर निर्दोषलाईचाहिँ टाउकामा निर्ममताको घनले सधैँ ठोकिरहने, के स्वदेशमा के विदेशमा मुटुमा आक्रोश र असन्तुष्टिले सधैँ टोकिरहने यो जिन्दगी खै के जिन्दगी ?

क्रान्ति हुने पटकपटक तर परिवर्तन कहिल्यै नहुने, नेता हुने बथानका बथान तर नेतृत्व कहिल्यै नहुने, तलबभत्ता खाने पखाला लागुन्जेल तर काम कहिल्यै नहुने, प्रजातन्त्र भन्ने तर अधिनायकतन्त्रमात्र चलाउने, लोकतन्त्र भन्ने तर ठोकतन्त्र कहिल्यै नछोड्ने, राष्ट्रियता भन्ने तर राष्ट्रिय धरोहरको बहिष्कार गर्ने, युगौँ बितेर जाने तर गन्तव्य कहिल्यै नपुगिने साँच्चै विचित्रको लाग्ने यो जिन्दगी खै के जिन्दगी ?

ऐले खाए भरे के खाने चिन्तामै दिन बित्ने, घरभाडा, बिजुली, स्कुलको फिस कसरी तिर्ने भन्ने चिन्तामै महिना बित्ने, गएको हप्ता फलानाले बन्दहडताल गर्‍यो यस हप्ता कसले गर्ने हो भन्ने चिन्तामै हप्ता बित्ने, दुईदिन पाहुना आए, सानोतिनो बिमारी परे वा एउटाएउटा कपडा वा सामान किन्नु परेर डेफिसिट भएको घरेलु बजेट आजीवन पुर्ति नहुने यो जिन्दगी खै के जिन्दगी ?

बयान गरेर के साध्ये यो जिन्दगीको, यो बिरल नेपाली जिन्दगीको ! भानुभक्तले जेल जानु पर्ने, देवकोटाले अभाव, ईष्र्या र अपमानमा अकालै बित्नु पर्ने, विश्वेश्वरले जेलमा र परदेशमा कुण्ठित भएरै उमेर बिताउनु पर्ने, मदन भण्डारीले त्रिशूलीमा हराउनु पर्ने, वीरेन्द्रले घरैमा मारिनु पर्ने, तेन्जिङ, उदित आदिले मुंग्लान भासिनु पर्ने, हेलिकोप्टर, विमान आदि आश्चर्यजनक आविष्कार गर्ने प्रतिभा प्रयोगसम्म गर्न नपाई अँध्यारैमा बिलिन हुनु पर्ने, रुइत, पुनजस्तालाई सातसमुद्रपारिबाट देख्नु घरभित्र थाहै नहुनु पर्ने सधैँ बादलले ढाकेको परिवेशमा छोपिएजस्तो यो जिन्दगी खै के जिन्दगी ?

वर्षामा बाढीले लान्छ कि, पैह्रोले तान्छ कि, हिउँदमा जाडाले कक्र्याँछ कि, राती चोरडाकाले आक्रमण गर्छ कि, टापटिपेले दिउँसै हातको मोबाइल घाँटीको सिक्री तान्छ कि, शंकाकै भरमा पुलिसले समात्छ कि, तथाकथित विद्रोहीले गोली हान्छ कि, ठूलाबडाले साँध मिच्छ कि, सडकमा गाडीले किच्छ कि ….भन्दै रात नीँद न दिन भोक भएर सधैँसधैँ आतंकमैमात्र बाँच्नु पर्ने यो जिन्दगी खै के जिन्दगी ?

एक प्र.श.भन्दा कम मान्छे अजीणर् भएर थाइल्यान्ड-बेलायतका अस्पताल धाउने सरकारी खर्चमा तर चौरासी भोग नछोड्ने, आफ्ना र आफ्नाका सन्तानलाई (भरसक कोटामै) विदेशमा पढाउने, आफू सदा पजेरोमा गुड्ने, विमानमा उड्ने, वातानुकुलित तारे होटेलमा मिटिङ गर्ने तर रिजोल्युटिङ कहिल्यै नगर्ने, उता उनान्सय प्र.श.भन्दा बढीचाहिँ सकीनसकी भएनभएको घरखेत बन्धक राखेर म्यान्पावरलाई पोस्ने र जाली भिसा र अनिश्चित कामको हौवामा विदेश पुगेर फेरिफेरि अलपत्र पर्ने, थुनिने र कुकुरले नपाएको दःख पाउने सपना देखिरहने यो जिन्दगी खै के जिन्दगी ?

आन्तरिक अव्यवस्था, निर्मम शोषण र अभावैअभावका बीच सिट्ठी हुन्जेल सुकेर पनि सन्तानलाई उच्चशिक्षा दिलाई अब त भारी बिसाउन पाइएला कि भनिरहेका मातापिताले शब्दकोशको अँध्यारो कुनामा प्रयोगहीन थन्किएका शब्द र पटकपटक सिकेका उनै रिडिङ-राइटिङ-लिसनिङ-स्पिकिङ तथा पटकपटक नयाँ रङरोगनमा प्रस्तुत गरिने उनै एफरमेटिभ र निगेटिभ, न्यारेसन र भोइस, प्रेज-फ्रेजल भर्ब र इडियमको कहिल्यै नसिद्धिने सिसिफसीय बोझ बोकेर जवानी गुमाउन बाध्य सन्तानको सुस्केरैमात्र प्राप्त गर्ने यो जिन्दगी खै के जिन्दगी ?

न टाल्दा टालिने, न स्युँदा स्युनी अडिने, न फालेर अर्को पाइने, न लाएर लाजै ढाकिने न जाडै छेलिने, मकाएर चरचर च्यातिने भएको, सिलाई उध्रिएको, साविकको रङरौनक सारा खुइलिएको थोत्रे लुगाजस्तै भैसकेको यो जिन्दगी, के हो साँच्चै हरिभक्त कटुवालले भनेजस्तै खै के जिन्दगी ?

जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x