ताराबहादुर बुढाथोकीम काठमान्डुको फोहोर हुँ
मैले पालेका बामतिघ्रेहरू, मैले पोषेका आमतिघ्रेहरू रातारात मान्छे उचालेर गाडी रोक्न पुग्छन्, ढुंगा, मुडा गरेर पुलिसलाई टोक्न पुग्छन् ।

मेरो नाम फोहोर हो,
जल्ने पनि छु,बल्ने पनि छु ।
गालेमोले गल्ने पनि छु ।
वरिपरिलाई दुर्गन्ध गर्छु,
क्यान्सर र हैजाको प्रवन्ध गर्छु ।
मलाई नहटाऊ,
सिसडोल र बन्चरे नपठाऊ ।
म राजधानी बस्न चाहन्छु,
सिंहदरबार र सितल निबास पस्न चाहन्छु
मान्छे चाहिँ राजधानी
घडेरी किनेर आउने,
मलाई चाहिँ नुवाकोट पठाउने ?
म राजधानीको चोकचोकमा रमाउन चाहन्छु,
मान्छेको जोर्नीजोर्नीमा समाउन चाहन्छु ।
हो म काठमान्डुको फोहोर हुँ,
मोफसलको कविभन्दा म
दशगुना राष्ट्रवादी छु,
काठमान्डौमा आधी मान्छे छन् म आधी छु ।
मलाई प्रजातन्त्रले हटाउन मानेन,
गणतन्त्रले उठाउन मानेन ।
किन भने म काठमान्डौको फोहोर हुँ,
मेरो नाममा राजनीति गर्नेहरूको,
चहलपहल र ओहोर दोहोर हुँ ।
ठेकादार, दलाल र वडाध्यक्षको लागि
सुनको मोहोर हुँ ।
मलाई हटाउन खोज्यो भने
सिंगै सिसडोल आन्दोलन गर्छ,
बन्चरे बिरोधमा झन्डोत्वलन गर्छ ।
कस्ताकस्ता झाँक्री, डाक्टर र वैद्यलाई
बिरामी पारेको छु मैले,
कस्ताकस्ता युवा, युवती र बालबालिका
मारेको छु मैले ।
मलाई बालेनहरूले हटाउन खोजे भने,
सुनिताहरूले डाँडा कटाउन खोजे भने,
मैले पालेका बामतिघ्रेहरू,
मैले पोषेका आमतिघ्रेहरू
रातारात मान्छे उचालेर गाडी रोक्न पुग्छन्,
ढुंगा, मुडा गरेर पुलिसलाई टोक्न पुग्छन् ।
प्रविधिले, मलाई पोलेर खरानी बनाए भने
मलाई पेलेर मल बनाए भने,
देश दुर्घटनामा जान सक्छ ।
कस्ताकस्ता इतिहास बोकेका मसिहाले,
मलाई कुवाएर मल बनाउन सकेनन्,
पन्छाएर ढल बनाउन सकेनन्,
मलाई हटाउन खोज्दा
भिम मल्ल मभित्रै पुरिए,
भिमसेन मेरो थुप्रोभित्रै खुर्मुरिए,
वीरेन्द्र मेरै रासमाथि टुकुरिए ।
तिमी स्वतन्त्र छौ, एक्लै छौ
झन्डा बोक्दैनौ, उचाल्छौ
मलाई हटाउने कोसीस नगर है
तिमी आफै हट्न पर्ला ।
हटाउन सक्यौ भने,
भ्रष्ट कम्पनीहरूको इतिहास
म भित्रै सड्न सक्छ ।
त्यसैले मलाई पशुपतिनाथको अगाडि बस्न देऊ,
म पशुपतिलाई बास्ना दिन्छु ।
खाँदबारी
Subscribe
Login
0 Comments
Oldest







































