वेदना पढ्न
इमानको खडेरी देखेर बेइमानको आँधी बेरी देखेर यो ’तारा’लाई झण्डा, झोला र नाराभन्दा पर बस्न मन लागेको छ, सेटिङ, बिचौलिया र दलालको दलबाट छुट्टिएर जे भेटे नि हसुर्ने ’सर्वहारा’भन्दा पर ... थोपाथोपा बनेर खस्न मन लागेको छ ।
ताराबहादुर बुढाथोकी :
हुन त
कुर्सीको खेल,
गाउँ शहरमा खेलिन्छ,
परिवर्तनको
वाध्यता र रहरमा खेलिन्छ ।
भत्केको बाटो,
बाँझिएको माटो,
टुकी निभेको अँधेरो र
पानी सुकेको
पँधेरोमा खेलिन्छ ।
कैले भूमिगत त
कहिले
शहीदहरूको लहरमा खेलिन्छ ।
जित पछि
जम्मै उस्तै हुन्छन्
अर्को पल्ट
सपनाको भग्नावशेष र
जवानीको
खण्डहरमा खेलिन्छ ।
—
जितेकाहरू
सरकारमा खेल्छन्,
सेटिङ अनि
भ्रष्टाचारमा खेल्छन् ।
पहिलेका भेडा पनि
आत्मामा
ब्वाँसो हुलेर
भुत्लामा रङ दलेर
सिंहदरबारमा खेल्छन् ।
बस्तीका सपनाहरू
ठूलो जहाज चढेर
हुइँकिन्छन्,
ठिक यतिबेला
कुर्सीहरू चुइँकिन्छन्
र
चाउरिएका
अनुहारमा खेल्छन्
रूग्ण उद्योग र
केबुलकार बेचेर
सस्तो प्रचारमा खेल्छन् ।
—
इमानको
खडेरी देखेर
बेइमानको आँधी बेरी देखेर
यो ’तारा’लाई
झण्डा, झोला र
नाराभन्दा
पर बस्न मन लागेको छ,
सेटिङ, बिचौलिया र
दलालको दलबाट
छुट्टिएर
जे भेटे नि हसुर्ने
’सर्वहारा’भन्दा
पर …
थोपाथोपा बनेर
खस्न मन लागेको छ ।
वेदका सुक्तिले
मुक्ति नदिएपछि
काफलको पातमा
चरीले लेखेको
वेदना पढ्न
देउराली माथि
बादल लगेको गाउँमा
पस्न मन लागेको छ ।
०००
खाँदबारी, संखुवासभा