देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला- २५)
त्यस्तै सन्तति पाँच छन् सँग भने पाँचैजनाको भलो । ठान्दै नित्य थलो रुँगी सकसमा जोत्छन् बुबाले हलो ॥ देखिन्छन् दिल सोच शक्ति सकिँदा सन्तानका भिन्नता । उब्जिन्छन् मतभेद भाइबिचमा बिर्सेर सम्भाव्यता ॥

देवीप्रसाद मिश्र :
(परिवारिक कलहले बुबा आमामा चिन्ता)
पार्टी छन् अनमोल नाम थरका छन् वाद नानाथरी ॥
नेता छन् मतमा विभाजित सबै चौकी फलैँचा भरी ॥
मिल्छन् स्वार्थ हुँदा असभ्य धनको खोजेर सम्भाव्यता ।
के नै प्राप्त भयो र खै मुलुकमा गुम्दै छ स्वाधीनता ॥१२३॥
सङ्ला कार्य विशेष राष्ट्रहितमा खै ,के बने योजना ।
आफ्नो कन्तुर मात्र भर्न कसिँदा आस्था भए छेदन ॥
यस्तै छन् परिवारभित्र कतिका सङ्कल्पमा भिन्नता ।
हुन्छन् सन्ततिका सदा कलहमा बाबा मुमा खिन्नता ॥१२४॥
आफ्नै आश्रममा उदास मनमा छन् वृद्धका वेदना ।
विद्वान् छन् मुटुका अशेष दरिला छैनन् सफा चेतना ॥
पार्टी सिस्टम राजनीति थलमा जस्तो कला देखियो ।
त्यस्तै नै कति आज सभ्य घरमा सद्भावना मेटियो ॥१२५॥
फोस्रा तर्क पछार्दछन् कलहका आफ्ना सदा सन्तति ।
सेवामा तर छैन सोच सुषमा,गुम्दै गएझैँ मति ॥
होलान् कुन् विधिले प्रसन्न मनमा बाबा र आमा घर ।
भन्ने ज्ञान विवेक छैन कतिमा बढ्दो छ आडम्बर ॥१२६॥
एकै मात्र विशेष सभ्य कुलमा सन्तान होस् तैपनि ।
खोज्दै भाग्य दसी विदेश नपसी मिल्दैन सञ्जीवनी ॥
मात्रै एक थियो गयो अब उता भर्ला कलाले घडा ।
भन्दै नित्य बुबा मुमा दिन-पला गर्छन् यही आँकडा ॥१२७॥
त्यस्तै सन्तति पाँच छन् सँग भने पाँचैजनाको भलो ।
ठान्दै नित्य थलो रुँगी सकसमा जोत्छन् बुबाले हलो ॥
देखिन्छन् दिल सोच शक्ति सकिँदा सन्तानका भिन्नता ।
उब्जिन्छन् मतभेद भाइबिचमा बिर्सेर सम्भाव्यता ॥१२८॥
जस्तै अर्थ अनन्त आर्जन गरी सन्तान हुन् वर्धक ।
ढाक्दा त्यो परिवारमा कलहले के नै भयो ? सार्थक ॥
सोचून् सन्तति झट्ट, यो विषयमा फालेर मैला कस ।
पाऊन् देख्न बुबा मुमा सकलको सद्भाव एकापस ॥१२९॥
क्रमशः
०००
२०८०/२/३१
ताप्लेजुङ, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































