आऊ, मानवताको देउराली रोपौँ !
आमाबाबुले पैसाको लागि भोक रोग र शोक सहेको बेला अभाव छ हार्दिकताको आऊ ! रातो बाकसलाई देशको माटोले छोपौँ र डलरका बिटाले उकेरा लगाऊँ अनि त्यसमाथि मानवताको देउराली रोपौँ !!
ताराबहादुर बुढाथोकी :
विश्वमा
बारुदको
धुँवा उडेको बेला
निर्मम
हातहरूले
कोपिला चुँडेको बेला
खडेरी छ
नाइटिङ्गेलका लालटिनहरूको
अभाव छ
हेनरीका ती दिनहरूको
त्यसैले साथी !
आऊ,उकालीको टुप्पामा
ममताको मलिलो
धर्ती खोपौँ
र मानवताको देउराली रोपौँ !
वुद्ध
आफैँ ध्यान छोडी
धन कमाउन
परदेश जान बाध्य भएको बेला
पैसाको लागि
सीता
र भृकुटी पनि
घुम्तीमा भट्टीवाल्नी भएको बेला
छोरो
अमेरिकामा
र छोरी
अष्ट्रेलिया पठाएर
आमाबाबुले
पैसाको लागि
भोक
रोग
र शोक
सहेको बेला
अभाव छ हार्दिकताको
आऊ !
रातो बाकसलाई
देशको माटोले छोपौँ
र डलरका बिटाले
उकेरा लगाऊँ
अनि त्यसमाथि
मानवताको देउराली रोपौँ !!
०००
खाँदबारी ।