ताराबहादुर बुढाथोकीआमा बाबुको मन- सन्दर्भः पत्रु खाना
नत्र समाजवाद आउनु अघि नै एउटा सिंगो पुस्ता कोलेष्टोरल, युरिक एसिड, प्रेसर, सुगर अनि पक्षघातले डल्लो परिसक्छ । मोबाइलका टिकटके झिलिक मिलिकले दृष्टिविहीन पुस्ता तयार हुन गई स्वास्थ तर्फको जम्मै बजेट आँखा शिबिर र चस्मा खरिदमै सकिन के बेर !

भन्छन् “आमा बाबुको मन छोराछोरी माथि, छोरा छोरीको मन ढुङ्गामुडा माथि ।” धर्ती फुटाएर जन्माएका, तारा खसाएर हुर्काएका सन्तान अन्माएपछि छोरो बुहारीको मुठ्ठीमा, छोरी ज्वाइँको मुठ्ठीमा पुग्ने पीडा यो हरफमा छ । आजभोलि त ..छोराछोरीको मन पनि मोबाइल माथि” भएको छ।मोवाइलका पनि दुई क्षेत्र छन्- एउटा गुगलको क्षेत्र, अर्को टिकटक र फेसबुकको क्षेत्र ।
“हुने बेलामा सखरखण्ड नहुने बेलामा नानाखण्ड” भनेझैं मोबाइलभित्र पनि हुने बेलाका बालकले गुगल खोलेर ज्ञानको क्षेत्र पहिल्याउँछ, नहुने बेलाका बालकले टिकटक, फेसबुक, युटुब, गेम खोलेर नानाखण्ड हेर्छ र आफ्नो मस्तिष्क, मुटु र आँखालाई ध्वस्त बनाउँछ । बेलैमा ठुलो फ्रेमको पावरवाला चस्मा लगाएर युटुबमा हेर्दै बाबु आमासँग झर्केर बोल्छ । आमा बाबुको मन भने फेरिएको छैन । टिकटक हेरे पनि मन छोराछोरी माथि नै हुन्छ ।
अझै यतिमात्र कहाँ र “आमा बाबुको दाँत मकै भटमासतिर, छोरा छोरीको आँत मोमो चाउचाउतिर” । मकै, भटमास, कोदाको रोटी, सातु, चिउरा, सिस्नुको खोले, उसिनेको आलु, फलाहार, स्याउ, सुन्तला, केरा, फर्सी, तरुल, काँक्रा खाजाको रुपमा खाँदैनन् बालकहरू । प्लाष्टिकमा पोकिएका बिस्कुट, चाउचाउ, चकलेट, चिप्स, दालमोड, भुजिया, भुजा जस्ता केमिकलयुक्त खानेकुरा खान्छन् । पन्चतत्वले बनेको धरतीको मूलबाट उम्रेको चिसो पानी उमालेर तिर्खा मेटिदैन । डिउ, कोकोकोला, फ्यान्टा र मिनरल वाटर चाहिन्छ ।
पत्रु खानाले दिमागलाई मन्द गराउँछ, सिर्जनात्मकतालाई बन्द गराउँछ । रोग विरुद्ध लड्ने क्षमता त यति कमजोर पार्छ कि एक चोटी हाच्छिउँ गरेपछि सातओटा क्याप्सुल चाहिन्छ । जडीबुटीले भेट्दैन नै, रित्तै अलिकति उकालो हिन्दा खलाँतीजस्तो फोक्सोमा उतारचढाव आउँछ, मुख ढोक्सेजत्रो हुन्छ । खुट्टा गलेर लत्रक्कै । भारी बोक्ने कुरा पुरानो भइसक्यो । त्यो त ट्याक्टरले बोकिहाल्छ । छिटो रिसाउने, झर्को मान्ने, मन अस्थिर हुने, भनेको कुरा बिर्सिने कुरा त पत्रु खानाका मुख्य भरथेग नै भैगयो । दाल भात नरुचेर एपेट चाहिने, हरियो साग नपचेर हजमोला चाहिने बनाएको पनि पत्रु खानाले नै हो । यति त बाल्यकालमै देखाइदिन्छ पत्रुले ।
किशोर अवस्था र युवावस्थातिरै मोटोपन थोपरिदिन्छ । जोवान ढल्किँदा नढल्किँदै युरिक एसिड, प्रेसर, सुगर, अल्सर र दम जस्ता उपहार दिन्छ । “धान बोक्नु छ दसपाथी खानु छ नस्पाति” भनेजस्तो घरभरि मिठो मसिनो जुटायो । आफू मकैको भात खाए उज्यालो नभइ तीन किलोमिटर कुद्न पर्ने गजबको जिन्दगी पनि पत्रुले नै दिने हो ।
अझ आजभोलि त धान, कोदो, मकै, गहुँमात्र होइन निगुराका डुकु, फर्सीका मुन्टा र मूलाले पनि गोवर मल, कम्पोष्ट मल, प्राङ्गारिक मल देख्न पाउन छाडेका छन् । केमिकल मल खाएर रक्सीले मातेको मान्छे जस्ता अन्न र तरकारी बजारमा आउँछन् । उसमाथि रोग किरा मार्ने विषादिका बाछिटाले निथ्रुक्क भिजेका हरिया सागपात बजारमा प्रशस्त हुन्छन् । सरकारले छिमेकीबाट आएको बिषादियुक्त सब्जी चेकजाँच नगरी पठाइदिएको कोसेली यी भन्दा पनि सस्ता हुने नै भए । ’सस्तो खाऊ ,महङ्गीबाट बचाउ’ भएपछि बजार आसपासका बाउ आमा पनि फसेका छन् ।
लगेर चट्ट बिजुली कुकरमा पकायो, खायो । ज्यान मरे मरोस् दाउरा र ग्यास चाहिँ बचाउनै पर्ने पनि भएको छ । आमाबाउको मन साँच्चै छोराछोरी माथि बनाउनु छ भने अब कम्तीमा जैविक खेती गर्नुपर्यो । ग्यास वा आगोमा पकाउनु पर्यो । बजारमा सब्जी किन्न जाँदा आयातीत भन्दा स्थानीय, केमिकल भन्दा अर्गानिक चिज किनेर ल्याउनुपर्यो । नानीहरूलाई चाउचाउ आदि किन्ने पैसा दिनुभन्दा मकैभटमास किनेर पोको पारिदिनु पर्यो । सानैमा मोबाइल किनेर दिनुभन्दा रसिला किताब किनेर दिनुपर्यो ।
स्कुलका सरहरू बाउआमा र विद्यार्थी छोराछोरी हुन् भने विद्यालय खाजा कार्यक्रममा भुजा र मुरइ पो खुवाउँदैछन् कि ! अनुगमन गर्नुपर्यो । पत्रु खाना शत्रु हो, मार्छ भनेर निषेध गर्न सक्नुपर्यो । सरकार बाउ हो जनता छोराछोरी हुन् भने अर्गानिक क्रान्ति ल्याउनुपर्यो । किसानका अर्गानिक तरकारी नबिके कोल्डस्टोर बनाएर लिइ दिनुपर्यो ।
नत्र समाजवाद आउनु अघि नै एउटा सिंगो पुस्ता कोलेष्टोरल, युरिक एसिड, प्रेसर, सुगर अनि पक्षघातले डल्लो परिसक्छ । मोबाइलका टिकटके झिलिक मिलिकले दृष्टिविहीन पुस्ता तयार हुन गई स्वास्थ तर्फको जम्मै बजेट आँखा शिबिर र चस्मा खरिदमै सकिन के बेर ! श्रमलाई सम्मान चाहि गर्ने तर कोदालो उचाल्न नसक्ने मान्छेहरू पाल्दै समाजवाद ल्याउन ठिक पारेको कमिसनको पोको सकिएला ।
छोराछोरीले पनि स्कुलमा गएपछि बाउआमा र घरको दुःख बिर्सिने, घरमा आएपछि पुस्तक र होमवर्क विर्सिने नयाँ बानी सिके हरेक परीक्षामा धेरैभन्दा धेरै ‘विषय लाउन’ सफल हुन्छन् । आमा बाउको बोली काट्न ‘थुतुनो चलाउने’ ज्ञान, शीप र कला हासिल गर्छन् । जीउजीउमा धमिरा र बिउ बिउमा किरा आउनु अघि नै एकपल्ट सोच्ने हो कि ! आमाबाउ पनि पहिले छोराछोरी थिए, छोराछोरी पनि पछि आमाबाउ बन्छन् । ज्ञान चाहिँ आमाबाउ भएपछिमात्र आउने हो भने समाजवाद भन्दा पक्षघात पहिला आउँछ ।
०००
हिमावि, खाँदबारी
Subscribe
Login
0 Comments
Oldest








































