फित्काैली डटकमहाँस्न बिर्सिएको समाजसँग
वि.सं. २०२४ सालमा पहिलोपटक प्रकाशित घटोत्कच शर्मा (बालुन्दा) को दमाहा उसैबेला टिपनटापनमा परिसकेको थियो । झण्डै चालीस वर्षपछि यसको दोस्रो संस्करणको आवश्यकता किन र कसलाई प¥यो ?
दमाहा निकाल्न ढिपी नै गर्ने लुइँचे बाजे (वासुदेव माड्साव) ले ९० को हैन (०९) नौ वर्षे जन्मदिन २०६३ साल भदौ २३ गते हँसी–खुशी मनाए । अब त ९१ हैन १९ को हँसिलो, रसिलो र भरिलो जीवनलाई अँगालेर फेरि एकपटक माड्सापको हास्यव्यङ्ग्यको फाँटमा होस्टे–हैँसेको पिङ मच्चाउने छन् भनेर टाउकामा बसको कौवा (प्रकाशन) सँगै सबै रमाएका थिए । तर हाँस्न बिर्सिएको यो कृतघ्न समाजमा हाम्रो के काम भनेर उहिल्यै पाखा लागेका भैरव अर्याल र बालुन्दाको ठहरमा माड्सापले पनि ल्याप्चे लगाइदिए । २०६३ साल भदौ २५ गतेको मिर्मिरेमा उनले पनि आफ्नो पखेटा फिँजाए ।
दमाहा परिवारका भैरव अर्याल, वालुन्दा र वासुदेव माड्सापले मात्र हैन दमाहा कम्पोज गर्ने र छाप्ने मेसिनम्यानले समेत कहिल्यै नफर्कने बाटो तताइसकेका छन् । म भने अझै अधकल्चोमा परेको छु । हाम्रा नाति पनातिहरूको दमाहाको तेस्रो संस्करण देख्न–सुन्न पाए भने दमाहा परिवारका सदस्यहरूले गरेको प्रयास खेर गएनछ भन्ने ठान्नुपर्ला ।
कार्तिक १, २०६३ मैतीदेवी
(दमाहाको दोस्रो संस्करणको लागि लेखिएको भएता पनि विशेष कारणवश प्रकाशित हुन नसकी र फित्कौलीतिर फुत्किएकोले यहाँ प्रकाशित गरिको छ । सम्पादक–)
‘फित्कौली’ अङ्क ११ बाट
Subscribe
Login
0 Comments
Oldest





































