साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडाको नवीकरण

Nepal Telecom ad

धनकुुमार न धनी रह्यो न कुमार रह्यो, कारण उसको जन्म र विवाह थियो । सुकुम्बासी परिवारमा बाबुले कतै छोरो धनी बनिहाल्छ कि भन्ने अभिलाषाले धनकुमारको नाम जुराई दिएका थिए । तर सुकुम्बासी कहिल्यै हुकुम्बासी बनेनन् । धन कमाउन मन लागे पनि हिरा काट्ने हिरैमा राखेर भन्या’झैं, धन कमाउन धनको नै आवश्यकता पर्छ नत्र मनले सबै कमाउने भएको भए धनकुमारले स्वर्ग नै किन्ने थियो । फगत मनको लड्डु घिउ सित खानु बाहेकको विकल्प केहि थिएन उसमा ।

दुःखजेलो गर्यो धन कुमारले अनि एम ए सम्मको अध्ययन गरेको थियो उसले कसैको दान दातव्यबाट । एम ए पास पछि उसले जागिरको लागि हजारौं ठाउँ धाएको थियो तर तालुकवालाको नाउँ चाहिएकोमा उसले पुर्याउन सकेन । अनि बेरोजगार रह्यो । खेती गरिखाउँ खेतको नाममा उसको लालपुर्जा पनि थिएन । ऊर्जा हुनेको लालपुर्जा नभए पछि झण्डिबुर्जा जस्तो जिन्दगी उसले चलाई रह्यो । यौटा गरिबको पनि घर परिवार त हुन्छ नै नत्र तिन्ले धनी मान्छेकोमा कसरी सेवा गर्नु ? धनीलाई धनी बनाउने गरिबले हो । उसले राज्य बोल्ने भएको भए यसरी सोध्थ्यो होला — ए राज्य म तेरो भूमिमा जन्मिएँ तर मलाई तैँले के ग्यारेन्टी गरिस्, न तैँले मेरो पढाइको ग्यारेन्टी गरिस्, न जागिर न त व्यवसायको ग्यारेन्टी नै गरिस् । मात्र यमराजले मलाई मृत्युको ग्यारेन्टी गरेको छ । हे, राज्य तँ बोल्ने भएको भए पनि मैले सोध्ने थिए, के गरिबको परिवार हुँदैन ?

गरिब मान्छेको धरातल नै कमजोर हुन्छ सब कुरामा । आर्थिक, सामाजिक र राजनीतिक कुरामा पनि । संस्कृतिले समानता सोचेको ठान्थ्यो धन कुमारले तर होइन रहेछ , गरिबहरू सांस्कृतिक रुपमा पछाडि नै परेको उसले उमेर बढ्दै गएपछि राज्य प्रतिको अगाध आस्था र विश्वासमा खिया लागेको पायो । निजी बोर्डिङमा उसले आजभोलि प्राथमिक तहमा रोइ कराई गरेर जागिर खाएको थियो तर तलब पनि बेलामा पाउन गाह्रै पथ्र्यो । गरिबलाई क्यालेण्डरमा चाडबाड नआए पनि हुन्थ्यो, यस्तै सोच्थ्यो ऊ । तर दशैं, तिहार जस्ता चाडबाडले उसलाई निकै चुनौति दिएर वार्षिक रुपमा पीडाको नवीकरण गराएर जान्थे । उसले सानो छँदा दशैँको बेलातिर हिसाब पढाउने सरले क्षेत्रफल पढाई रहेको सरलाई एक दिन यसरी सोधेको थियो— सर, भोकको क्षेत्रफल कसरी निकाल्ने हो ?

हो गरिबको घर परिवार नहुने हैन । घर हुन्छ, परिवार हुन्छ, जहान हुन्छन्, बच्चा बच्ची हुन्छन् । उसका आफ्नै समस्या हुन्छन् । समस्या हुँदाहुँदै पनि ऊ रमाई रहेको हुन्छ । गएको वर्षको दशैंको स्मृतिलाई आज उसले नवीकरण गरिरहेको छ । श्रीमतीको धोती च्यातिएर माकुराको झ्याल जस्तो भएको थियो । उसको ढाकाटोपी टुप्पी नजिकै च्यातिएर दरिद्रताको परिचय दिई रहेको थियो । त्यसैले त ऊ बजारमा दशैँको किनमेल गर्न गएको थियो गत वर्ष, आफूलाई टोपी, जहानलाई धोती र छोरालाई जुत्ता किन्नका लागि । तर बजारमा हजारको दशाले छपक्कै छोएको देखेपछि, उसले सोच्यो गरिबीले राष्ट्रियतालाई पनि निकै चुनौति दिँदो रहेछ । आजसम्म मैले ढाकाटोपी लगाएकै थिएँ तर मेरो कमाइले यो किन्न नसक्ने भएपछि आजदेखि म यो लाउँदै लाउन्न । उसले श्रीमती र छोरालाई सामान किनमेल भने ग¥यो नै ।

उसको छोरो दशैं आएको भन्दा पनि जुत्ता पाएकोमा हर्षले गदगद थियो । उसलाई टिकाको दिन कहिले आउला र जुत्ता लगाउँला भन्ने चिन्ताले पिरोल्न थाल्यो । नभन्दै टिकाको दिन पनि आयो । उसलाई टिका लाउन भन्दा पनि जुत्ता लाउन हतार भैसकेको थियो । जुत्ता लाएर ऊ गाउँ घर डुल्न थाल्यो । हिँडेको केही बेरमै उसको जुत्ताको तलुवा उप्किएछ । ऊ रुँदै घर फर्कियो । धनकुमारले छोरालाई सम्झायो— बाबु गरिबको दशैँ र जुत्ता उस्तै हुन्, काम चलाउ मात्र हुन् यी कुराहरू । क्षणिक हुन् बाबु । यस्तै हुन्थ्यो मेरो बालककालमा जहाँ मेरो बाबाले पनि बजारबाट सस्ता जुत्ता ल्याएर टिकाको दिन हामीलाई लगाउन दिनुहुन्थ्यो । यो हामी गरिबको पुख्र्यौली पीडा हो बाबु जो तिमीले आज भोग्दैछौ ।

उसको छोराले के बुझ्यो कुन्नि, उसले भन्न थाल्यो— बाबा, बाबा, अब म यो दशैंमा टिका लगाएर आएको पैसाले यो जुत्ता टाल्छु है । धनकुमार पनि आफ्नो बाल्यकालमा यस्तै नियति भोगेको कुरा सम्झिई रह्यो । अनि सोच्यो— गरिबलाई चाडबाड पीडाको नवीकरण गर्ने मेलो मात्र हुन् । जदौ ।

बेसीशहर, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x