पुन्य कार्कीढोँगका हाटहरू
मभित्र थुप्रै थुप्रै ढोँगका हाटहरू लागेका रहेछन् । मभित्र थुप्रै थुप्रै पाखण्डका खाटहरू बिच्छिएका रहेछन् । अरुका ढोँगहरूको निन्दा बखानिरहेको बेला मभित्रका ढोँगहरू चुपाचाप सुतेजस्तो गरेर मलाई नै खिस्स खिस्स जिस्क्यिाउँदा रहेछन् । अरुको पाखण्डी चरित्रलाई कुरीकुरी गरिरहेको बखत मभित्रको पाखण्ड पुलकित आनन्दमा रमाउँदो रहेछ । म आफूभित्रकै ढोँगका हाटहरूमा किनमेल गरेर आफ्नो दिनचर्या बाँच्तो रहेछु । म आफ्नै पाखण्डका खाटहरूमा मस्मिन्द सुतेर अरुको खिसिटिउरी गर्दो रहेछु । कति विरोधाभाषी व्यक्तित्वको मखुण्डो धारण गरी म जीवन बाँच्दो रहेछु , आफैँलाई छक्क लागेको छ।
अरुका ढोँगहरू औँल्याउन मैले आफ्नो चोर औँलो अरुतिर तेस्र्याइरहेको बेलामा अरु चारवटा औँलाले मेरो छाती ताकेको म देख्तो रहेनछु । मेरो समग्र व्यक्तित्व नै आवरणै आवरणले पुरिएको रहेछ । मभित्रको सक्कली मान्छे त ढोँगका सातपतरी मुनि छोपिएर रहँदो रहेछ । अहिले सबै मान्छेको मेरो जस्तै यही दशा हुँदो हो भन्ने अनुमान गर्छु ।
रोजालक्जेमवर्गले भनेकी हुन् क्यार, आफ्ना शत्रुहरूलाई । तिमीले मेरा दुर्गुण र खोटहरू देखाउन एउटा औँलो मतिर तेस्र्याइरहँदा तिम्रा अरु चारऔँलाहरू आफैँतिर फर्किरहेका हुन्छन् । आफूतिर स्वतः फर्किरहेका औँलाहरूको हामी हतपत हेक्का राख्ता रहेनछौँ । आफ्नो सक्कली चेहरा लुकाएर थरिथरिका आवरणहरू धारण गरी हामी बोल्दारहेछौँ । अरुसँग ब्यवहार गर्दा रहेछौँ । ज्ञानगुनका दर्शनहरू बाँड्दा रहेछौँ । निकै ठूलाठूला आदर्शका ढोँगहरू रच्तारहेछौँ ।
मभित्र आफूलाई मात्र हानी गर्ने झिनामसिना सूक्ष्म आकारका ढोँग भएपनि म वरिपरि निकै गाढा रङ्गका आँखै तिरमिर पार्ने पुरुषहरू देखिरहेछु । उनीहरूका ढोँगले समाजको मुटुलाई निस्सासिने गरी थिचिरहेको छ । तिनका एकादुई झलक यसरी हेर्नसक्नु हुन्छ । एकजना शिक्षक यस्ता छन्, जो हर्दम नैतिक आचरणको विषयमा ठूलाठूला कुरा गर्छन् । उनी यतिधेरै आदर्श छाट्छन् । त्यो आदर्श व्यवहारिक तहमा लागु नै हुनसक्तैन ।
उनी असल चरित्र निर्माण गर्नुपर्छ भन्ने कुरालाई जाहीँताहीँ फुकिहिँड्छन् । तर दुख र दुर्भाग्यको कुरा उनी नै भित्रभित्र आफूसँग पढ्ने चेलीलाई यौनव्यभिचार गर्दारहेछन् । अझ एउटी चेलीलाई त गर्भवती नै तुल्याएछन् । बाहिर लगेर गर्भ तुहाइयो । यो कुरा विस्तारै एककान दुईकान हुँदै मैदानभरि छरियो । त्यसपछि उनको सदाचारी व्यक्तित्वभित्रको दुराचारी व्यक्तित्व बाहिर उजागर भयो । असाध्य ठूलो सदाचारी मानिएको मान्छेभित्र कति ठूलो दुराचारी पुरुष लुकेको हुँदो रहेछ । उनले समाजमा देखाएको सदाचार त बाहिरी मखुण्डोमात्र पो रहेछ । मैले ठानेको थिएँ, उनले ओढेको सदाचारी व्यक्तित्वको बर्को सक्कली जातको होला । तर त्यो नक्कली बर्को रहेछ ।
ढोँगीहरू ठूलठूला ढोँगका बर्काहरू ओड्दा रहेछन् । ती बर्काहरू आफूभित्रका ठूलाठूला ढोँगका भ्वाङहरू टाल्दारहेछन् । अनि सर्वसाधारणलाई निकै मीठो भ्रम बाँड्दा रहेछन् । ढोँगीहरूको जीवन विरोधाभासमा रूमलिएको हुँदोरहेछ । उनीहरू बोल्छन् एउटा, गर्छन् अर्को । लेख्छन् एउटा, बाँच्छन् अर्को । दुईतहको जीवन हुन्छ उनीहरूको । बाहिरी तह आफूलाई देखाउन, प्रदर्शन गर्न आदर्श छाँट्नको निम्ति प्रयोग हुँदोरहेछ । भित्री तह आफू बाँच्न र मस्ती गर्न प्रयोग गर्दा रहेछन् । अर्का एकजना मित्र छन् । उनी बन जोगाउन भनेपछि हुरुक्क भएको देखाँउछन् । वनसंरक्षणका सभा, गोष्ठि, बैठक, भेला सबैसबै भ्याउँछन् । वनसंरक्षणका संस्था र समितिहरूमा आजीवन जस्तो सदस्य बनेका छन् । तर उनको घरमा पुगेपछि म छाँगाबाट खसेसरह भएँ । उनको घरमा कोठैपिच्छे यति धेरै पटाहा, डायर, कोरा बटम लुकाएको पाँए । उनी सुत्ने बस्ने फर्निचरहरू देख्दा दुर्लभ जातका काठहरू प्रयोग भएको पाँए । सत्तिसालको कुर्सी दराजदेखि पलङसम्म बिच्छिएको पाएँ । त्यतिमात्र होइन उनको घरमा संरक्षणको सूचिमा रहेका जडिबुटिदेखि रक्तचन्दनको टुनसम्म लुकेको छ रे । उनका निकटस्थ अर्का मित्रले सुनाए –दिनभर त उनको काम सभागोष्ठिमा भाषण गर्नु हुन्छ । रातपरेपछि उनको गोप्य मिटिङ ठूलाठूला होटलको गोप्य कोठामा हुने गर्छ । वनका हाकिम, काठ तस्कर, माफिया र लकडी ठेकदारसँग आधारातसम्म खानपान चल्छ । त्यसैले उनको पाँचपाँच ठाँउ घर बनिन्छ । मलाई कुरा जायज लाग्यो । उनले वनसंरक्षणको लागि मरिमेटेको कुरा त देखावटी कुरा पो रहेछ । उनले वनप्रति गरेको प्रेम साँचो प्रेम होइन रहेछ ।
यो देशको वनलाई साँचो माया कसैले गर्यो भने सेबइलाल चौधरीले मात्र गर्यो । आफ्नो सिङ्गो जीवन रुख रोप्न र रुख हुर्काउनमा बितायो । हजारौँ विघा उजाड जमिनलाई हराभरा तुल्यायो । आफू नाङ्गो बसेर उजाडिएको धर्तीमा हरियाली वसन्तको सिर्जना गर्यो । उसले प्रतिज्ञा नै गरेको थियो, आफ्नो धर्तीलाई हरियाली बनको बश्त्रले नछोपेसम्म आफ्नो शरीरमा बश्त्र नभिर्ने , त्यस बनबाट झरेको तप्केनी शीतले स्नान नगरेसम्म नुहाउँदै ननुहाउँने । कति पवित्र कामना थियो उनको । जहाँ जाँदापनि नाङ्गो कालो जिउ देखाएर जान आँट गर्ने, त्यो पुरुषको जीवन ढोँगरहित, पाखण्डरहित र आडम्वररहित थियो । आफ्ना असी पचासी वर्षका स्वर्णिम आयुहिस्साहरू रुख रोप्नुमै खर्च गरेर मरे ।
उनीसँग मेरो समाजका बनसंरक्षकसँग तुलना गर्नु त हिरालाई गुहेकिरासँग तुलना गर्नुमात्र हो । एउटाले बनप्रतिको सत्यप्रेममा जीवन बितायो, अर्कोले बनप्रेमको नाटकमात्र खेलिरहेको छ । उसको बनप्रेममा झूटको सत्ता, पाखण्डको सत्ता, ढोँगको सत्ता विराजमान देखिरहेछु ।
अर्का एक राजनीतिक नेता छन् । उनी आफूलाई साम्यवादी सिद्धान्तको कट्टर तथा पुरानो अनुयायी ठान्छन् । बाहिर बाहिर प्रगतिशील भित्रभित्र घोर अगतिशील क्रियाकलापमा संलग्न भएको देख्छु । भित्रभित्र खुंखार राजावादी पंच दलाल प्र्रतिक्रियावादीसँग साँठगाँठ बढाउनु, उनीहरूको घरघर धाउनु, मीठोमसिनो खानमा लोभिनु, दुईचार पैशाको लोभमा आफ्नो स्वाभिमान बेच्नुमा उनको दिनचर्याको ठूलो हिस्सा बित्दो छ । यो कुराले यी मान्छेको सिद्धान्त र व्यवहारवीच यतिठूलो खाडल भेटेँ । जुन कुनै तर्कले पनि पुर्नसकिन्न । एकातिर आफूमुनिका कार्यकर्तालाई वर्गसङ्घर्षको पाठ पढाउनु, साम्यवाद ल्याउने सपना देखाउनु अर्कोतिर आफ्नो दर्शनले किटान गरेको वर्गदुश्मनसँग रिस्तेदारी कस्नु, उनीहरूले छरेको फाँकमुठी कनिका र जुठोपुरोमा लोभिनु कति ठूलो आडम्वर हो मैले बुझ्न सकेको छुइनँ । यसखालका दोहोरो चरित्र बोकेर जनताको राजनीति हाँकिरहेका थुप्रैथुप्रै नेताहरू देखिरहेछु । एउटा खुट्टो साम्यवादी राजनीतिमा अर्को खुट्टो ब्यापारमा, उद्योगधन्दामा, ठेकदारीमा, शेयरदलालीमा, तस्करीमा, माफियागिरीमा, एन्जियो संचालन र बैदेसिक रोजगार दलालीको जगमा टेकेर सर्बसाधारण अकिंचन, लाटासिधा, निमुखालाई भ्रम बाँडिरहेको देख्छु । अनि यिनले ओढेर आउने थरिथरिका ढोँगका बर्काहरू च्यातचुत पारिदिन मन लाग्छ ।
मेरो परिवेशमा अर्का एकजना गीतामार्गी साधक छन् । उनी बिहान बिहान एक अध्याय गीता पाठ गर्छन् । दिनको दुईचोटि एकसय आठ रुद्राक्षमाला गन्छन्् । निधारमा सेतो चन्दनको टिको लाउछन् । गाउँमा उनी ठूलाठूला आदर्श छाँट्ता रहेछन् । सात्विक भोजनको महिमा सुनाउँदा रहेछन् । जाँडरक्सी, माछामासु लगायतका अन्य राजसी तामसी चिजहरू ग्रहण गर्नु महापाप हो भनेर उपदेश गर्दा रहेछन् । तर सदरमुकामतिर झर्दा सुटुक्क भट्टीमा छिरेर वियर, भोड्का, ह्वीस्की र कुखुराका साँप्रा चपाउँदा रहेछन् । माला लुकाएर अरुलाई खान हुँदैन भनेको चिज आफैँ भक्षण गर्दा रहेछन् । यो कुराले धर्मको नाममा कत्ति ठूलो विकृत ढोँग रचिँदोरहेछ थाहा भयो । यसरी एउटै अनुहारभित्र थरिथरिका अनुहार बोकेर मान्छे बाँच्दोरहेछ । सक्कली मान्छे कुनचाहिँ हो सर्वसाधारण जनलाई छुट्टयाउन मुस्किल हुने रहेछ । एउटै अनुहारमा अनेकौँ कलेवरहरू हेर्न सकिने रहेछ ।
अर्का एक ठूला अधिकारकर्मी छन् म नजिक । उनी बालअधिकारदेखि नारी अधिकारसम्मको वकालतमा बिहानदेखि बेलुकासम्मै कुदिहिँड्छन् । उनको घरको दुर्दशा भने चर्को छ । उनले घरमा भाँडा माझ्न गाँउबाट एउटा भुजेलकेटो ल्याएर राखेको पाँचवर्ष पुगिसक्यो । त्यसलाई एकअक्षर पढाएका होइनन् । सातवर्षको उमेरदेखि उसलाई भाँडा मझाएको मझाएै छन् । उसको उमेर अहिले बारवर्ष पुगिसक्यो । एकदिन मेरो ढाँगको बर्को यसैले उतार्छ भन्नेकुरा उनले अलिकति पनि हेक्का राखेका छैनन् । बालअधिकारका गोष्ठीमा कत्तिथान कार्यपत्र प्रस्तुत गरिसके, त्यसको कुनै लेखो छैन ।
महिला सशक्तिकरण र नारी अधिकारको विषयमा पनि उनी बाक्लै सेमिनार चलाउँछन् । तर उनी कहिल्यैपनि घरमा, आफू भात खाएको थाल टिेपेर धारासम्म पुर्याउदैनन् । अझ एकदुई पेग पिएर आएकोवेलामा स्वास्नीसँग तेरो बाउले बिहेमा मोटरसाइकल दिएनन् भनेर कल झिक्छन् अरे । बालअधिकार र नारीअधिकारको खवरदारी गर्ने यी पहरेदारका ब्यवहारले जो कोहीलाई विस्मयको पोखरीमा झम्लङ्ग डुबाइदिन्छ ।
पहिले म बसेको गाँउमा एउटी दिदी थिइन् । उनी नजिकको दिदी पर्ने नभएपनि सजिलोको लागि बोलचाल गर्न दिदीभाइको साइनो लगाएका थियौँ । यतिखेर म उनलाई सम्झिन्छु , उनको एउटा बानी के थियो भने गाँउघरका आफन्त अन्य नातेदारकोमा विहेबटुलो या अन्य कुनै शुभकार्य हुँदा, आफूसँग नभएपनि मागेर हुन्छ या कुनै उपायले झरिझुट्ट गहनापात र सारी लगाएर जानुपर्थ्यो । मैले सुनेको छु, उनी त्यहाँगएर गहनापातको विषयमा धाकधक्कु लगाउने, नचाहिँदो फूर्ति छाड्ने गर्छिन् अरे । कठै ! मागेर अर्काको गहना लाउनु छ, त्यसमा पनि भए नभएको घमण्ड गर्नुछ । कत्ति विचित्रका तरेलीहरू हुन्छन् चित्तका । म गम्छु–ती गहनापात र सारी उनका झन् आफ्नै भए झन् कसो गर्दी हुन् ?
अर्का एक स्वनामधन्य चर्चित नेता छन् । उनी जमानादेखि विध्यार्थी राजनीतिमा सामेल छन् । उनले पढाइ पूरा गरेपछि पनि कत्ति छिमल विध्यार्थीहरू त्यस क्याम्पसबाट निस्किसके त्यो थाहा छैन । तर उनी प्रत्येकसाल नयाँ विध्यार्थी बनेर क्याम्पस राजनीतिको बागडोर समाली आएका छन् । उमेरले चालीस कटिसकेका छन् तर सदावहार विध्यार्थी नेता बनिरहेका छन् । स्कुल क्याम्पसमा आउँदा विध्याथीहरूवीच सदावहार भाषण ठोक्छन् । विध्यार्थी हकहीतको निम्ति, क्रान्तिका निम्ति, आमूल रुपान्तरणको लागि विध्यार्थीको भूमिका के हुन्छ ? त्यसको बखान गरेर थाक्तैनन् । विध्यार्थीको लागि पढाइ गौणकुरा हो, आन्दोलनचाहिँ महत्वपूर्ण कुरा हो । त्यसैले विध्यार्थी वर्गले शीरमा कात्रो कसेर आन्दोलनको लागि जीवनमरणको लडाइ लड्नुपर्ने कुरा उद्घोष गर्छन् । आन्दोलन कालमा उनको भाषणले उकासेका कत्ति व्यक्ति अपाङ्ग, घाइते र सहिद भएका छन् । तर उनको निजी जीवनचाहिँ बडो विचित्रखालको छ । काठमाडौंमा महङ्गो फ्लाट लिएर बस्नु, आफ्ना छोराछोरीलाई सबभन्दा महङ्गो बोर्डिङ्ग स्कुलमा पढाउनु, भित्रभित्र दलाल कालाबजारी र तस्करसँग साँठगाँठ गरेर मोटो रकम लिनु, उनको दिनचर्या नभएपनि रात्रीचर्याको एकहिस्सा हो । कुनै वैधानिक श्रोत आयआर्जन विना प्रथमश्रेणीको रइस जिन्दगी बिताएका छन् । उनको कोठामा विच्छ्याएको गलैँचाको मूल्यमात्र पैँतालीस हजारको छ रे ।
आन्दोलनकालमा एकातिर उनी स्कुल, कलेज र सडकबन्द गर्न नेतृत्व लिइहिँड्छन् । उनका छोराछोरी भने गोप्यरुपमा महङ्गा बोर्डिङ्गका चारदिवारीवीच निर्वाध पढिरहेका हुन्छन् । उता भविष्य बनाउनलाई टाढाटाढाबाट पढ्न आएका सर्वसाधारणका छोराछोरीलाई भने आन्दोलनमा उतार्न हौस्याइरहेका हुन्छन् । उनको यस चरित्रले नेपाली राजनीतिको एउटा ठूलै पाखण्डलाई उद्घाटन गरिदिन्छ । यहाँ त यसखालका ढोँग र पाखण्डका दृश्यहरू यत्रतत्र सर्वत्र छाम्न सकिन्छ । जबसम्म नेतृत्व तहमै यसखालको दोहोरो जीवन चरित्रका कुरुप झाँकीहरू विद्यमान रहन्छन् तवसम्म वास्तविक परिवर्तनको गुन्जायस कतै सुन्नसकिन्न । म गम्छु– आफू वनमारा घारीमा दिसापिसाव गरेर हुर्केको त्यो मान्छे कुनै पेशा, व्यवसाय, इलम र उद्योग नगरी छोराछोरीलाई गलैँचामा मुताउने अवस्थामा पुग्यो । आयआर्जनको नाममा न त ऊसित पैतृक सम्पत्तिको कुनै श्रोतै छ । काठमाडौँभित्र एउटा जीवन छ उसको, यहाँबाट बाहिर निस्केपछि अर्कै जीवन हुन्छ उसको । बोली एउटा छ, व्यवहार अर्को छ । कथनी र करणीमा कत्ति ठूलो पार्थक्य पाउँछु भने यस्तो मान्छेको अन्तर्यमा अर्कै कुरुप तथा डरलाग्दो विम्व खडा छ भन्नेकुरा अनुमान गर्नपनि गारो पर्छ ।
कत्ति ठूलो ढोँग रचेर मान्छे रमाउन सक्छ हँ ? भोकले लखतरान भोकोकुकुर बाटोमा अचानक सुख्खा हड्डी भेट्छ । त्यसलाई खुशीसाथ चपाउँन थाल्छ । हड्डीबाट त कुनैपनि प्रकारको रस आउँदैन । तर अति चपाएपछि उसको गिजामा घाउ भएर रगत निस्किन थाल्छ । जति चपाउँछ त्यति आफ्नै गिजाको रक्तरस झर्छ । ऊ स्वाद मानी मानी त्यस रसमा निमग्न डुब्छ । उसलाई आफ्नै खुन चुसिरहेको छु भन्ने हेक्का रहँदैन । आफ्नै रक्तस्वादमा रमाइरहेको छु भन्ने ज्ञात हुँदैन । वास्तवमा ढोँगका रङ्गिन कलेवरहरू निमार्ण गरेर ठूलोमान्छे हुनुमा आफ्नै गिजाबाट झरेको रक्तरस चस्नु हो कि जस्तो लागेको छ ।
ढोँगीहरू तासको महल खडा गरेर त्यसमा रमन गर्ने सपना देख्छन् । पाखण्डीहरू कागजको डुङ्गामा चढेर समुद्रको सयर गर्दारहेछन् । कागजको डुङ्गा कतिखेर च्यातिने हो या डुब्ने हो, त्यसको हिसावकितावमा लागेका हुँदैनन् । तासको महल सुस्तरी चल्ने पवनझोँक्काले कतिखेर लड्छ ? उनीहरूले त्यसको लेखाजोखा गरेका हुँदैनन् ।
ताल तालका ढोँगका दृश्यहरू फिँजारिएको समाजमा त्यसको प्रभावबाट मपनि अछुतो छुइन । बाक्ला बाक्ला नभएपनि पातला पातला ढोँगका बर्काहरूले मलाई पनि लपेटिरहेको छ । परिवेशका ढोँगहरूले मलाईपनि अज्ञातरुपमा ढोँगी बन्न उकास्तो रहेछ । त्यसैले त मान्छे अचेतनाश नै शनैः शनैः सूक्ष्मखालका, सूक्ष्मरङ्गका, सूक्ष्मढङ्गका ढोँगहरू पहिरिन थाल्दोरहेछ । संगत, देखासिकी र समाजको समूल संस्कृतिको प्रभावबाट मानिस रङ्गिन सुरु गर्दो रहेछ । त्यसैले थोरबहुत सबैमानिसभित्र ढोँगका चित्रहरू कोरिएका हुन्छन् । कुनै भित्र गाढारङ्गका होलान्, कुनै भित्र पातला रङ्गका होलान् । हामी ढोँगमुक्त भने अवश्य छैनौँ । पाखण्डका पर्खालहरू हरेकका अन्तर्गभमा ठडिएका हुन्छन् । कुनै भित्र अग्ला होलान् ,कुनै भित्र होचा होलान्, त्यतिको फरकमात्र हो । फेरि ढोँगले आफूतिर हेर्ने चेतनआँखाका परेला टालिँदिँदो रहेछ । त्यसैले त हामी हतपत आफ्ना ढोँगहरू हेर्न सक्तैनौँ । मभित्र त पाखण्डका पर्वहरू रहेछन् भनी स्वीकार्न सक्तैनौँ । आडम्वरका आस्कोटहरू फुकालेर आगोमा जलाउन सक्तैनौँ ।हामीलाई मजा केमा आउँछ भने जीवनपर्यन्त ढोँगका हाटहरूमा किनमेल गरेर बाँचिरहू । पाखण्डका खाटहरू खप्टेर त्यसमै अकण्टक नाँची रहूँ । मनको यो मजाले सबै मानिस मिहिन रङ्गमा, सुस्त ढङ्गमा ढोँगका हाटहरूतिर किनमेल गर्न अघि बढिरहेका छौँ । आउनुस् दरो लाठीचार्ज गरेर उठाउनुपर्छ ढोँगका हाटहरू/पाखण्डका खाटहरू ।
२०६४/९/३०
Subscribe
Login
0 Comments
Oldest







































