मुकुन्द आचार्यडरलाग्दो खुशी
एउटा थोत्रो मित्रले भोजनको लागि निम्त्यायो । प्रजातन्त्रको पुनर्वहाली पछि उसले कहिल्यै यसरी निम्त्याएको थिएन । यस अवधिमा उसको मसित भेटघाटै थिएन । जेहोस्, कर्मले नभए पनि जन्मले बाहुन बाजे भा’हुनाले हो कि, भोजको निम्तो पाएर खुशी नै लाग्यो, सुखद आश्चर्य !
उसको पहिलेको रामझुपडी त अब राममहल भैसकेको रहेछ । उसको घरमा पुग्नासाथ लक्ष्मीजीको खुट्टा ठनक्कै भाँचिएछ क्यारे, उनी त्यहीँ बसिन् । सर्वत्र सम्पन्नताको साम्राज्य !
कुखुराको कवाफ क्वाप्प पार्दै कोट्याएँ– “यार ! तँ त जहिले पनि असफल व्यापारी थिइस् ! कसरी लक्ष्मीजीलाई फकाइस् ?” उसले मुसुमुसु हाँसेर भन्यो “यो विजनेस सिक्रेट” हो ! उसले जवाफ नदिउन्जेल मैले कवाफ खान छाडिन् ।
यसको मुखमा कवाफको बुजो लाउनुभन्दा त जवाफकै बुजो लाउनु सस्तो पर्ला भन्ठानेर वाध्य भई मित्रले भित्रको रहस्य खोल्यो, “के गर्नु यार तँलाई त थाहै छ आफू त जुनसुकै विजनेसमा पनि असफल ! सुन छोए माटो हुने ! हैरान हैरान भएर प्रजातन्त्रको पुनर्वहालीपछि थोत्रा टायर ट्यूवको पसल थापेँ । पार्टीहरूले महिनामा बीस दिन बन्द र मशाल जुलुस गर्न थाले । सडकमा अवरोध गर्न ठुल्ठूला टायर किनेर लान्छन् । मसाल जुलुसका लागि साइकल र रिक्साको टायर नभई नहुने । पहिले जुन चिज थियो बेकामी, त्यो अहिले भयो दामी ! लक्ष्मीजीको दया, राम्रै चलेको छ ! यति भनेर ऊ हें हें हें हें गर्न थाल्यो ।
मशाल जुलुसले अरुको स्वास्थ्य बिग्रिए पनि आफ्नो मित्रको आर्थिक स्वास्थ्य ठिक भएकोमा मलाई डरलाग्दो खुशी लाग्यो ।
हाल, थानकोट, काठमाडौ
Subscribe
Login
0 Comments
Oldest








































