साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्याप्प

Nepal Telecom ad

“के हालखबर छ कमरेड ?”
“राम्रो छ ।” उनी हात अघि बढाएर मुस्कुराउँछन् ।
“के सबै कुरा मिल्यो ?” म भन्छु ।
“के सबै कुरा ?”
“तपार्इंहरूका पार्टीमा चलिरहेको चर्काचर्की कमरेड ।” म पनि मुस्कुराउँछु ।
“ए त्यो….।” कमरेड मेरो हात बेस्सरी कर्याप्प पार्छन्, “त्यो कचिङ्गल यति चाँडो कहाँ मिल्छ र ?”
“किन, के भयो कमरेड ?” म उनको हातबाट आफ्नो हात अलग्याउँछु ।
कमरेड प्रत्युत्तरमा ओठ बङ्ग्याएर मुस्कुराउँछन् ।

“किन, भन्नै नहुने छ कमरेड ?”
“होइन–होइन, यस्तो होइन ।” उनी मुस्कुराएरै भन्छन्, “यस्तो भन्नै नहुने कुरा केही छैन ।”
“अनि के हो त कमरेड ?” म जोड दिन्छु ।
“केही वरिष्ठ कमरेडहरू राजधानी बाहिर हुनुहुन्छ । उहाँहरू फिरेपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ । अनि बल्ल पार्टीमा देखा परेको समस्या ठेगान लाग्नेछ ।” कमरेड गम्भीर हुन्छन्, “हेर्नाेस्, कुरा त्यति सजिलो छैन ।”
“अनि के राम्रो छ भनेर भन्नुभएको कमरेड ?” म भन्छु ।
“ए त्यो…।” उनी एकाएक प्रसन्न हुन्छन्, “पाइयो नि !”
“के पाइयो कमरेड ?”

“अमेरिकाको भिसा पाइयो ।” उनी थोरै हाँस्छन्, “आज बिहान अमेरिकी एम्बेसीले हामी श्रीमान–श्रीमती दुवैलाई भिसा दियो ।”
“एकैचोटी पाँच वर्षको भिसा ।” मलाई चुपचाप टोलाइरहेको पाएर कमरेड थप्छन् ।
“हो र कमरेड ?” म भन्छु ।
“एकदम हो नि !” उनी खुलेर हाँस्न थाल्छन् ।

दुवै छोरा र छोरी संयुक्त राज्य अमेरिकामा भएकाले लामो समयदेखि कमरेड त्यहाँ जाने प्रयासमा थिए । तर भिसा नै मिलिरहेको थिएन । यस निम्ति पटक–पटक अमेरिकी राजदूतावासमा भिसाको दर्खास्तसहित सम्पर्क नगरेका होइनन्, उनले । तर हरेकपटक असफलता नै हातलागी हुन्थ्यो । कहिले के मिल्दैनथ्यो भने कहिले के ! यसको स्वाभाविक परिणामस्वरुप भिसा अस्वीकृत भएर कमरेडले अमेरिका जान पाएका थिएनन् ।

यस्तै नौ–दस महिना अघिको कुरा हुनुपर्छ ।
(सम्झन्छु)
नयाँसडक, पीपलबोटमा उभिएका कमरेडसँग जम्काभेट भएको थियो ।
“के छ कमरेड ?” मैले हात बढाएर सोधें ।
“के हुनु ?” उनले सदाझैं मेरो हात कर्याप्प पार्ने कोसिस गरेनन् ।
“किन, के भयो कमरेड ?”
“हेर्नाेस् न, मेरो भिसा फेरि रिजेक्ट भयो ।”
“कहाँको भिसा ?” उनको लुलो हातले मलाई अचम्म लागिरहेको थियो ।
“अमेरिकाको, अरु कहाँको हुनु ?” उनी सहसा क्रुद्ध भए, “यसपटक पनि अमेरिकाको भिसा मिलेन ।”
“ए, अमेरिकाको ।” मैले हात अलग पारेर भनेँ, “अमेरिकाको भिसा मिलेन ?”
“मिलेन नि !”
“अमेरिकी भिसाका लागि आवश्यक कागजपत्र राम्ररी मिलाउनु भएको थिएन होला कमरेड ।” मैले भनेँ ।
“किन नमिलाउनु ?” कमरेड मसँग नै क्रुद्ध भए, “मैले जान्ने–बुझ्नेसँग नै कागजपत्र देखाएर राम्ररी मिलाउन लगाएको थिएँ । सबै कागजपत्र पुराकापूरा दुरुस्त थिए । केको कागजपत्र नमिल्नु ?”
एकछिनको मौनतापश्चात भने, “अब तपाईसँग के छिपाउनु, एम्बेसीहरूका लागि चाहिने निम्तो, सिफारिस, बैंक ब्यालेन्स आदि कागजपत्र मिलाउने व्यवसायी एजेन्सीसँग नै पूरा फिस तिरेर मिलाउन लगाएको थिएँ, यसपालि ।” अनि खुइय गर्दै भने, “तैपनि अमेरिकाको भिसा पाइएन ।”
“ए, हो र कमरेड ?”
“हो नि, भिसा एक्सपोर्टहरूले नै मिलाएको कागजपत्र नमिल्ने कुरै थिएन ।”
“अनि अमेरिकी एम्बेसीले कमरेडलाई किन भिसा नदिएको त ?” मैले भनेँ ।
“राजनीति हो ।” उनी क्रुद्ध भए, “सबै राजनीतिले गर्दा भएको हो ।”
“कस्तो राजनीति कमरेड ?”
“साले साम्राज्यवादीहरू मलाई एक कम्युनिष्ट नेता ठानेर त्यति मन पराउँदैनन् ।”
“तर तपाईकै पार्टीका ठूला नेता कमरेडहरू त मजैले अमेरिका पुगेर फर्किरहेका छन् नि ?”
“त्यही त मलाई मात्र किन भिसा नदिएको होला !” उनी दुःखी भए, “अमेरिकीहरू मसँग किन रिसाएका हुन् !”
“यो समेत गरेर पाँचपटक मेरो अमेरिकाको भिसा रिजेक्ट भइसकेको छ ।” एकछिनपछि उनको क्रोध फेरि सतहमा देखापर्यो ।

म चुपचाप कमरेडको यावत् भङ्गिमालाई नियालिरहेको थिएँ ।
“यी अमेरिकीहरू मलाई अमेरिका छिर्न दिन चाहँदैनन् ।” उनको क्रोध चरममा पुगेको थियो ।
“यस्तो किन भएको होला कमरेड ?” मैले सहानुभूतिका साथ सोधेँ ।
“मलाई के थाहा ?” उनी फेरि मसँग क्रुद्ध भए, “यो त अमेरिकीहरूलाई थाहा हुने कुरा हो ।”
“ठीक भन्नु भयो कमरेड ।”
“त्यही त यी अमेरिकीहरू मसँग किन रिसाएका हुन् !”

“केही न केही कारण त होला नै कमरेड ।” मैले भनेँ ।
“केही बुझ्नै सकिएन बा !” कमरेडले भने ।

यो भेटको लगभग एक वर्षपछि म कमरेडअघि उभिएको छु ।
कमरेड मेरा पुराना मित्र हुन् । वर्षौं पहिले सँगसँगै महेन्द्र मोरङ कलेज, विराटनगरमा पढेको । त्यसकारण हामीबीच सुमधुर सम्बन्ध रहेको छ । कमरेड मलाई देख्दासाथ एकदमै कर्याप्प पारेर हात मिलाउँछन् । अनि विस्तारै सुख–दुःखका कुरा गर्न थाल्छन् । म पनि कमरेडसँग हात मिलाएर अन्तरङ्ग वार्ता गर्न मन पराउँछु । तर हाम्रो यदाकदा नै भेटघाट हुने गर्छ ।

“यस पटक अमेरिकी एम्बेसीले तुरुन्तै भिसा दियो ।” कमरेडको प्रसन्नताले टनाटन स्वर सुनेर म झसङ्ग हुन्छु ।
“हेर्नाेस् न एम्बेसीको भिसाका लागि इन्टरभ्यु लिने अफिसरले यसपाली मसँग त्यस्तो केही सोद्धा पनि सोधेनन् ।” उनी भन्छन्, “जानासाथ कङ्ग्राचुलेसन” भनी थपक्क भिसा दिए ।”
“तपाईंसँग त अमेरिकी साम्रराज्यवादीहरू असाध्यै रिसाएका छन् भन्नुहुन्थ्यो नि कमरेड !” म उनलाई भन्छु ।
“ए त्यो…।” उनी हाँस्छन्, “त्यो त पुरानो कुरा भइसक्यो ।”
“अब पुरानो कुरा किन कोट्याउनुप¥यो ?” उनी हो, हो, हो… गर्न थाल्छन् ।
“अनि नयाँ कुरा के हो त कमरेड ?”
“यही सेप्टेम्बरको लास्टतिर अमेरिकाको लासभेगास जाँदैछु । त्यहाँ जाने टिकट कन्र्फम भइसकेको छ ।” उनी गदगद भएर भन्छन्, “सबथोक मिलिसक्यो ।”
“बधाई छ, कमरेड ।” म भन्छु ।
“केको बधाई ?”
“आखिरीमा अमेरिका जाने भिसा पाउनुभएकोमा बधाई !”
“ए त्यो…।” कमरेड कर्याप्प पारेर मेरो हात समाउँछन्, “धन्यवाद !”

कान्तिपुर, २०७० चैत्र १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x